
काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४१ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका २२ स्कुटर र १९ वटा मोटरसाइकल आइतबार सम्बन्धितलाई बुझाइएको जनाएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सवारीधनीलाई फिर्ता गरे ।
चोरी भएको उजुरी निवेदनका आधारमा खोजतलास गर्दै जाँदा केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको पाइएको कार्यालयको भनाइ छ । अहिलेका ४१ गरी गत साउनयता मात्रै चोरी भएका ५२ वटा दुईपांग्रे सवारीसाधन सम्बन्धित धनीलाई बुझाइएको छ ।
चोरीमा संलग्न तीनजनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि प्रहरीमा बुझाइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष ०८०/८१ मा ४१७ वटा र ०८१/८२ मा ५०३ वटा दुईपांग्रे सवारीसाधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ ।