मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ३० शुक्रबार १o:१६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

उपत्यकाको यातायात व्यवस्थापनमा निर्णायक कदम चाल्छौँ : भौतिकमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ३० शुक्रबार १o:१६:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनका लागि निर्णायक कदम चाल्ने वेला आएको बताएका छन् । आइतबार ललितपुरमा आयोजित काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना परियोजनाको रणनीतिक वातावरणीय मूल्यांकनसम्बन्धी सरोकारवालाको बैठकमा मन्त्री दाहालले यस्तो बताएका हुन् ।

‘काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समेटिएको काठमाडौं उपत्यका नेपालको आर्थिक, सांस्कृतिक र प्रशासनिक गतिविधिको केन्द्र हो,’ उनले भने, ‘तर, यहाँको यातायात प्रणाली निकै दबाबमा छ । संघीय राजधानी एवं सांस्कृतिक विविधता र सम्पन्नतायुक्त क्षेत्र भएकाले पनि यहाँको यातायात व्यवस्थापन सहज र सुविधायुक्त बनाउनुपर्नेछ ।’

सन् २०१२ मा बनेको र सन् २०१७ मा अद्यावधिक गरिएको पछिल्लो गुरुयोजनायता यातायातको अवस्था निकै बिग्रिएको र बढ्दो सवारीसाधन, अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण अनावश्यक ट्राफिक जाम, ढिलाइ र वायु प्रदूषण बढेको मन्त्री दाहालको ठम्याइ छ । जसले गर्दा दैनिक यातायातका साथै आर्थिक उत्पादकत्व र जनस्वास्थ्यलाई पनि प्रभावित पारेको उनले बताए ।

उनले भने, ‘यदि हामीले अहिले पनि निर्णायक कदम नचालेमा अवस्था थप बिग्रनेछ, जसले उपत्यकामा बस्न योग्य र दिगोपनलाई खतरामा पार्नेछ । यो परियोजना छोटो र दीर्घकालीन समाधान खोज्ने हाम्रो अन्तिम अवसर हुन सक्छ ।’