
मकवानपुरको हेटौँडा स्वास्थ्य र शिक्षाको हब बन्ने दिशामा महत्त्वपूर्ण कदम चालिएको छ। चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबिबिएस पढाउनका लागि ५० सिट स्वीकृति प्रदान गरेको हो ।
यसअघि प्रतिष्ठानमा सञ्चालन भइरहेका स्नातक तहका कार्यक्रममध्ये बिएस्सी नर्सिङका सिट संख्या २० बाट बढाएर ३० पुर्याइएको छ भने मेडिकल ल्याब टेक्नोलोजी र पब्लिक हेल्थका २०–२० सिट यथावत् छन् । ब्याचलर अफ फार्मेसी कार्यक्रम पनि ३० सिटमै निरन्तर सञ्चालन हुनेछ ।
स्नातक तहसँगै यस वर्षदेखि स्नातकोत्तर तहमा (एमडी) अध्ययन पनि सुरु हुने भएको छ । स्त्री तथा प्रसूति विभागमा दुई सिट, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा एक–एक गरी कुल आठ सिट स्वीकृत भएको छ ।
पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानको सुरुवात स्मरण गर्दै यसबाट उत्पादित जनशक्तिले छिट्टै स्वास्थ्य सेवा प्रभावकारी हुने बताएका छन् । स्वास्थ्यमन्त्री किरण थापाले यो कदमले बागमती प्रदेशलाई स्वास्थ्य, शिक्षा र अनुसन्धानको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीका अनुसार हेटौँडा अस्पतालमा हाल दैनिक एक हजनर पाँच सयभन्दा बढी बिरामीले सेवा लिइरहेका छन् र छिमेकी प्रदेशका बिरामी पनि यहाँ उपचारका लागि आउने गरेका छन् ।
०७६ सालमा प्रदेश सभाबाट ऐन जारी गरी सुरु गरिएको यो प्रतिष्ठान ०७७ सालमा औपचारिक रूपमा सञ्चालनमा आएको हो । यसले प्रदेश मात्र नभई देशभरका नागरिकलाई स्वास्थ्य, शिक्षा र उपचार सेवामा दीर्घकालीन लाभ पुर्याउने अपेक्षा गरिएको छ ।