
सरकारले धानको समर्थन मूल्य आंशिक रूपमा बढाएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टलमा ४७ रुपैयाँ ७१ पैसा र मोटा धानको समर्थन मूल्य ५३ रुपैयाँ ३० पैसाले बढाएको हो । अब मध्यम धानको समर्थन मूल्य तीन हजार ६ सय २८ रुपैयाँ ३३ पैसा र मोटा धानको समर्थन मूल्य तीन हजार चार सय ६३ रुपैयाँ ८१ पैसा प्रतिक्विन्टल कायम भएको छ ।
कृषिमा बढेको लागत, किसानका सुझाव र बजार मूल्यवृद्धिलाई आधार मानेर धानको समर्थन मूल्य बढाएर तोकिएको हो । पछिल्ला वर्षहरूमा सरकराले समयमै समर्थन मूल्य तोक्न थालेको छ । गत वर्ष असारको अन्तिम साता धानको समर्थन मूल्य तोकिएको थियो । आव ०८१/८२ का लागि मोटा धानको २१२.६२ रुपैयाँ र मध्यम धानको २१८.५१ रुपैयाँ प्रतिक्विन्टलका दरले बढाइएको थियो । त्यसअघि आव ०८०/८१ का लागि सरकारले मोटा धानमा दुई सय ३१ र मध्यम धानमा दुई सय ३४ रुपैयाँ प्रतिक्विन्टल बढाएको थियो ।
दुई वर्षअघिदेखि सरकारले रोपाइँकै समयमा धानको समर्थन मूल्य तोक्न सुरु गरेको हो । यस वर्ष भने रोपाइँ लगभग सकिन लागेपछि समर्थन मूल्य तोकिएको हो । विगत वर्षहरूमा किसानले व्यवसायी तथा बिचौलियालाई धान बिक्री गरेपछि मात्रै मूल्य तोकिने गरिएको किसानकै गुनासो थियो । समयमै समर्थन मूल्य तोकिएपछि आफूहरूले उचित मूल्य प्राप्त गर्ने किसानले बताएका छन् ।
समर्थन मूल्य तोकिए पनि त्यसको कार्यान्वयन नहुने गरेको किसानको गुनासो छ । सहकारी र सरकारी संस्थानले थोरै मात्र धान खरिद गर्ने भएकाले समर्थन मूल्यअनुसार किसानले पर्याप्त धान बिक्री गर्न सक्ने अवस्था नरहेको उनीहरूको भनाइ छ ।
धान रोपाइँ ९८.१९ प्रतिशत सकियो
यस वर्षको धान रोपाइँ लगभग सकिएको छ । साउन अन्तिम सातासम्ममा ९८.१९ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार २७ साउनसम्ममा १२ लाख ५४ हजार आठ सय ८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको हो । मन्त्रालयका अनुसार सदूरपश्चिममा शतप्रतिशत रोपाइँ सकिएको छ । बागमती र कर्णालीमा ९९ प्रतिशत, कोशी र लुम्बिनीमा ९८ प्रतिशत रोपाइँ सकिएको छ । मधेश र गण्डकीमा भने हालसम्म ९७ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । मधेशमा ढिला गरी वर्षाको पानी पर्दा रोपाइँ प्रभावित भएको हो । मधेश सबैभन्दा बढी धान रोपाइँ हुने क्षेत्रफल भएको प्रदेश हो । कर्णाली सबैभन्दा कम धान रोपाइँ हुने क्षेत्रफल भएको प्रदेश हो ।