
कांग्रेस सांसद सीता मिजारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तत्काल काठमाडौं अड्डासार गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्।
प्रतिनिधिसभाको विशेष समयमा सांसद मिजारले लामिछानेलाई भैरहवा कारागारमा प्रदान गरिएको सेवा-सुविधाका सम्बन्धमा थुप्रै प्रश्न उठेको तथा भावना र आँसुको व्यापार भइरहेको भन्दै तत्काल अड्डासार गर्न माग गरेकी हुन्।
जिल्ला अदालत रुपन्देहीले १६ जेठमा कारागार स्थानान्तरणका लागि अनुमति दिए पनि गृहमन्त्री रमेश लेखकको दबाबमा कारागार विभागले अड्डासार गर्न मानेको छैन। कांग्रेस सांसद मिजारले भने लामिछानेको नाममा आँसु र भावनाको व्यवहार भएको भन्दै तत्कालै अड्डासार गर्न माग गरेकी हुन्।
‘रवि लामिछानेको नाममा केही पार्टीले संवेदनाको व्यापार गरिरहेका छन्। त्यसैले सरकारलाई अनुरोध गर्दछु, आँसु र भावनाको व्यापार गर्ने दोकान बन्द गरिदिनुस्। उहाँलाई कारागार कार्यालय रुपन्देहीबाट काठमाडौं सारिदिनुस्। सरकारले आजै यो व्यवस्था गरोस्। सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन्।