
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल मन्त्रालय तानिएका छन् । कारागारमा भएको झडप घटनामा कमजोरी देखिएको भन्दै उनलाई गृह मन्त्रालयले जिम्मेवारीबाट हटाएको हो । कैलालीमा दाङको सिडिओका रूपमा कार्यरत कृष्णप्रसाद लम्साललाई खटाइएको छ ।
धनगढीमा रहेको कैलाली कारागारमा शुक्रबार राति भएको हिंसात्मक घटनामा स्थानीय प्रशासनको गम्भीर लापरबाही देखिएको थियो । घटनामा एकजना कैदीबन्दीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए । त्यसको अघिल्लो दिन बिहीबार बेलुकी पनि कैलाली कारागारमा कैदबन्दीबिच झडप भएको थियो । झडपमा पाँचजना घाइते भएका थिए । तर, प्रशासनले त्यसलाई सामान्य रूपमा लिँदा दोस्रो दिन हिंसात्मक घटना भएको सुरक्षा अधिकारीहरू स्विकार्छन् ।
गत असारयता कारागारमा कैदबन्दीबिच पटक–पटक झडपका घटना भएका थिए । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय धनगढीले सम्भावित घटनाबारे १९ साउनमा प्रशासनको ध्यानाकर्षण गराएको थियो । घटनापछि कारागारको निरीक्षण तथा घाइते र अन्य कैदबन्दीसँग कुरा गरेको आयोगको टोलीले घटना हुनुमा सुरक्षा कमजोरी पनि कारण रहेको जनाएको थियो ।
घाइते भएका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी
कैलाली कारागारमा शुक्रबार राति भएको हिंसात्मक घटनामा घाइते भएका २७ जना कैदीबन्दी डिस्चार्ज भएका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले उनीहरूलाई मंगलबार डिस्चार्ज गरेको छ । तर, पुन: झडप हुने आकलनसहित डिस्चार्ज भएका कैदीबन्दीलाई जिल्ला कारागार कैलालीमा लगिएको छैन ।
कारागारभित्र लैजाँदा स्थिति पुन: बिग्रन सक्ने भन्दै झडपमा परी घाइते भएका कैदीबन्दीलाई उपचारपछि अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको छ । कैलाली कारागार प्रमुख जलान्धर भुसालले कारागाभित्र पुन: अशान्ति हुन सक्ने भएकाले डिस्चार्ज भएका कैदीबन्दीलाई अहिले अस्पतालमै राखिएको बताए । उनले कारागारभित्रको अवस्था फेरि अशान्त नहोस् भनेर डिस्चार्ज भएकालाई अन्यत्र सार्नेबारे कुराकानी भइरहेको जानकारी दिए । ‘२७ जना मंगलबार नै डिस्चार्ज हुनुभएको हो । कारागारभित्र ल्याउँदा उहाँहरूमाथि फेरि केही हुन सक्छ, कारागार अशान्त बन्न सक्छ भनेर केही दिन अस्पतालमै राख्ने कि भन्ने छ,’ उनले भने, ‘उहाँहरूको अन्यत्र सरुवा गर्ने विकल्पमा कुरा भइरहेको छ ।’ कारागार प्रशासनका अनुसार घाइते कैदीबन्दीका आफन्तलाई स्थानान्तरणका लागि निवेदन दिन भनिएको छ ।
डिस्चार्ज भएकामध्ये तीनजनालाई बुधबार जिल्ला कारागार कञ्चनपुर स्थानान्तरण गरिएको कैलाली कारागारले जनाएको छ । घाइतेमध्ये २७ जना डिस्चार्ज भएका, तीनजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको र बाँकीको सेतीमै उपचार भइरहेको कारागार प्रमुख भुसालले बताए । कैदीबन्दीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालअन्तर्गत कोरोना अस्पतालमा राखिएको थियो ।
डिस्चार्ज भएका कैदीबन्दीहरू पनि अहिले त्यहीँ रहेका कारागार प्रशासनले जनाएको छ । कोरोना अस्पतालबाहिर सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको छ । कारागार प्रमुख भुसालले कारागारभित्रको अवस्था अहिले सामान्य रहेको बताए ।
कारागारमा थिए लागुऔषध मुद्दाकै तीन सय कैदी
हिंसात्मक घटना भएको दिन शुक्रबार कैलाली कारागारमा सात सयजना कैदीबन्दी थिए । कारागार प्रशासनका अनुसार विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएकाको संख्या ३६८ र पुर्पक्षका लागि थुना रहेकाको संख्या ३३२ थियो । यीमध्ये सबैभन्दा बढी लागुऔषध मुद्दाका २९४ जना कैदीबन्दी थिए । तीमध्ये १६८ जना पुर्पक्षका लागि थुनामा रहेकाहरू हुन् । त्यस्तै, जबर्जस्ती करणीका १६०, कर्तव्य ज्यान मुद्दाका १०६ जना थिए । कारागार प्रशासनका अनुसार चोरी मुद्दाका ३०, ज्यान मार्ने उद्योगका २६, सवारी ज्यानका २३, मानव बेचबिखनका १०, सार्वजनिक अपराधका नौ, डकैतीका सात, हातहतियार खरखजानाका पाँचजना थिए ।