मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
गणेश लम्साल विराटनगर
२o८२ श्रावण २९ बिहीबार o९:१३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बाल सुधारगृहमा बिज्याइँकर्ताको ढुंगा लागेर दुई प्रहरी घाइते

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार o९:१३:oo

मोरङको विराटनगर महानगरपालिका– ३ कञ्चनबारीस्थित बाल सुधारगृहमा बुधबार बाल बिज्याइँकर्ताको ढुंगा लागेर दुई प्रहरी घाइते भएका छन् । आन्तरिक झगडा छुट्याउन गएको प्रहरीमाथि सुधारगृहमा रहेका बिज्याइँकर्ताले इँटा, गमला प्रहार गर्दा असइ र वरिष्ठ हवल्दार घाइते भएका हुन् ।

बुधबार दिउँसो साढे १२ बजेतिर सुधारगृहभित्र बिज्याइँकर्ताबिच झगडा भएको थियो । झगडा छुट्याउन गएका सुधारगृहको ड्युटीमा बसेकाले प्रहरीमाथि ढुंगा, इँटा, गमला प्रहार गरेका थिए । त्यसपछि उनीहरू गेट भत्काएर सुधारगृहबाहिर निस्किएका थिए । तुरुन्तै जिल्लाबाट थप प्रहरी परिचालन भएर उनीहरूलाई घेरा हालेकाले कोही पनि बिज्याइँकर्ता भाग्न पाएनन् । बाल बिज्याइँकर्ताले सुधारगृहभित्रको भान्साघर, सुरक्षा ब्यारेक, कार्यालयको कोठा, झ्यालको सिसा, कुर्सीहरूमा क्षति पुर्‍याएका छन् ।

मोरङका एसपी नारायणप्रसाद चिमोरियाले एक्कासि सुधारगृहभित्र रहेका बिज्याइँकर्ताले भाग्ने प्रयास गर्न झगडाको बहाना गरेर प्रहरीमाथि ढुंगामुढा गरेको र गेट भत्काएर बाहिर निस्किए पनि प्रहरीको सक्रियताले कोही पनि भाग्न नभएको बताए । ‘घटनामा अरू कारण पनि छन् कि भनेर अनुसन्धान गदै छांँ र क्षतिको विवरण पनि संकलन गरिरहेका छौँ,’ उनले भने ।

विराटनगर बाल सुधारगृहमा प्राय: बिज्याइँकर्ता फरार भइरहन्छन् । बाल सुधारगृहको क्षमता ५० जनाको भए पनि हाल २५० जना बस्दै आएका छन् । बाल सुधारगृहमा १८ वर्षभन्दा मुनिका बिज्याँइकर्ता मात्र राख्नुपर्ने भए पनि विराटनगर बाल सुधारगृहमा २१ वर्षसम्मका युवासमेत धेरै छन् ।

गृह मन्त्रालयले नेपालगन्जको बाल सुधारगृहमा भएको झडपपछि १८ वर्षमाथिका बिज्याइँकर्तालाई कारागार पठाउन निर्देशन गरे पनि त्यो व्यवहारमा लागू भएको छैन । बाक्लो मानव बस्ती र व्यस्त कोशी राजमार्गनजिकै रहेको बाल सुधारगृहको सुरक्षा अवस्था पनि कमजोर छ । सामान्य तारबार मात्र लगाएकाले बिज्याइँकर्ता फालहालेर, तार नाघेर फरार हुँदै आएका छन् ।