मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
रोङ गाउँपालिका– ४ मानाबुङमा वीरबहादुरको ज्यान लगेको पहिरो पन्छाउँदै डोजर ।  
२o८२ श्रावण २९ बिहीबार o९:o७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जब पहिरो पन्छाउँदा–पन्छाउँदै वीरबहादुरले ज्यान गुमाए...

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार o९:o७:oo

मंगलबार रातिदेखि वर्षाका कारण इलामको रोङ गाउँपालिका– ४, मानाबुङका ६० वर्षीय वीरबहादुर राईको घरछेउको कच्ची सडकमा क्षति पुग्यो । सडकमा भल पस्दा हिँड्नै मुस्किल भयो । कान नसुन्ने, तर बोल्न सक्ने वृद्ध वीरबहादुर सडकको अवस्था बेहाल देखेपछि अविरल वर्षामा रुझ्दै बुधबार सिक्कल र कोदालो बोकेर निस्किए । उनले ठाउँठाउँमा बिग्रिएको सडक बनाए । कतै भल कटाए, कतै बालुवा र पातपतिंगर हालेर सडकका खाल्डो पुरे । उनी खाल्डो पुर्दै घरदेखि तीन सय मिटर पश्चिम आइपुगेपछि सँगै रहेका भतिज अमिरलाई घर पठाए । तर, काम गर्दै गर्दा उनीमाथि पहिरो खस्यो । पहिरोले पुरेर उनले त्यहीँ ज्यान गुमाए । ‘भतिज घर पुगेपछि पहिरो गएको ठुलो आवाज सुनिएछ । त्यहाँ गएर हेर्दा वीरबहादुरलाई लेदोसहितको पहिरोले पुरिसकेको रहेछ । उनको आधा शरीर पुरिएको अवस्थामा देखेछन्,’ रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले भने, ‘सुरक्षाकर्मीको सहयोगमा शव निकालेर पोस्टमार्टमका लागि पठाएका छौँ ।’ 

वीरबहादुर सडकमा खाल्डाखुल्डी देख्नेबितिकै सधैँ सडक मर्मत गर्न पुग्ने गरेको अध्यक्ष बताउँछन् । तर, बुधबार भने उनले सडकमै ज्यान गुमाए । ‘यो घटनाले हामीलाई निकै भावुक बनाएको छ । एउटा अपांगता भएका व्यक्ति यसरी सडक मर्मतमा सधैँ खट्दै आउनुभएको थियो,’ उनले भने, ‘अपसोच ! उहाँले श्रमदानकै क्रममा ज्यान गुमाउनुभयो । यो भवितव्य भए पनि सामान्य घटना होइन । हामीलाई वीरबहादुरले श्रमदानको ठुलो पाठ सिकाएर जानुभएको छ ।’ वीरबहादुर अविवाहित थिए । उनी भाइबुहारीसँग बस्दै आएका थिए । उक्त ठाउँमा पहिरो पन्छाइसकिएको अध्यक्ष स्याङ्बोले बताए ।

त्यस्तै, खोलाले बगाएर झापाको दमक नगरपालिका– १० का ११ वर्षीय बालक भूपेन्द्र ढकालको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमकमा रहेको भालु खोलामा पौडी खेल्ने क्रममा ढकालको मृत्यु भएको हो । घरदेखि दुई सय मिटर उत्तरमा रहेको भालु खोलामा ढकालसहित दुईजना पौडी खेल्न गएका थिए ।

सोलुखुम्बुमा खेतमा पहिरो 
अविरल वर्षाका कारण सोलुखुम्बुमा पहिरोले बालीमा क्षति पुर्‍याएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका– ५ पस्कुका नृपध्वज बनको खेतदेखि तल करिब १५ सय मिटर मन्देपु खोलासम्म झरेको पहिरोले स्थानीयको खेत बगाउनुका साथै वडा कार्यालयदेखि बर्खुघाटसम्म जाने भित्री कच्ची सडक अवरुद्ध भएको छ । पहिरोले नृपध्वज बनको खेतमा लगाएको धानबाली, सोही ठाउँका अंकबहादुर बनको १६ रोपनी खेतमा लगाएको धानबाली पहिरोले पुरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै, सोही ठाउँका यदुकुमार बन, सुनकुमार राई, धर्मराज बनको दुई–दुई रोपनी जग्गामा लगाएको केराखेतीमा पनि पहिरोले क्षति पुर्‍याएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कोशी प्रदेशका दर्जनभन्दा बढी सडक अवरुद्ध
अविरल वर्षाका कारण कोशी प्रदेशका दर्जनभन्दा बढी साना तथा ठुला सडक अवरुद्ध भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मेची राजमार्गअन्तर्गत हेवाखोलामा बाढी आउँदा पाँचथर फिदिम नगरपालिका– ४ र हिलिहाङ गाउँपालिका– ७ को डाइभर्सन बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको छ । यहाँ बेलिब्रिज निर्माणको अन्तिम चरणमा पुगे पनि बेलिब्रिजबाट यातायात सञ्चालन हुन सकेको छैन । बाढी र पहिरोका कारण पाँचथरसँगै इलाम, धनकुटा, खोटाङ, उदयपुर, संखुवासभालगायतका जिल्लाका दर्जनभन्दा बढी भित्री तथा कच्ची सडकहरू अवरुद्ध भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।