मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
२o८२ श्रावण २९ बिहीबार o६:१o:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

इजरायलमा रहेका एक चौथाइ नेपालीको कागजातबारे नेपाली राजदूतकै ‘अलर्ट’ : २५ सय नेपालीसँग भारतीय पासपोर्ट, स्वदेश फर्कन कठिन

सरकारले समयमै समाधान नखोजे भविष्यमा हुन सक्छ समस्या

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार o६:१o:oo

केयरगिभर र कृषिलगायत श्रमका लागि इजरायल पुगेका १० हजार नेपालीमध्ये एक चौथाइ अर्थात् २५ सयको कागजातलाई लिएर नेपाली राजदूतले नै आश्चर्यजनक र गम्भीर प्रश्न उठाएका छन् । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार ती नेपाली भारत वा नेपाल जान सक्ने अवस्थामा छैनन् ।

यसले उनीहरूको सुरक्षा र स्वदेश फर्काइमा समस्या ल्याउन सक्ने जोखिम देखाएको छ । जस्तो कि भारतीय राहदानीमा पुगेका एकजना नेपालीको गत वर्ष मृत्यु भएको र शव नेपाल ल्याउन समस्या भएको थियो । नेपाली र भारतीय दूतावासको समन्वयमा उनको शव ल्याइएको एक नेपाली कूटनीतिक अधिकारीले बताए ।

आठ महिनाअघि कार्यभार सम्हाल्न इजरायल पुगेका राजदूत पण्डितका अनुसार इजरायलका विभिन्न सहरमा अवैध रूपमा भारतीय राहदानीमा २५ सय नेपाली कामदार पुगेका छन् । ‘इजरायलका लागि नेपाली राजदूत पण्डितले भने, ‘भारतीय राहदानीधारी करिब २५ सयजना छन् भन्ने अपुष्ट जानकारी छ,’ उनले भने, ‘गत महिना मात्रै २५ जना नेपाली नागरिक भारतीय राहदानीमा इजरायल पुगेको अपुष्ट जानकारी दूतावाससम्म पुगेको छ ।’

इजरायलमा रहेकामध्ये भिसा सकिएको अवस्थाका नेपाली एक हजार छन् । ‘हाम्रो बुझाइमा वैधानिक रूपमा आएका करिब ५१ सय नेपाली नागरिक छन् । पासपोर्ट वा भिसा नभएका, तर काम गरिरहेका नेपालीको संख्या पाँच सयदेखि सात सयसम्म होला,’ उनले भने । 

भारतीय राहदानीमा रहेका नेपालीले नेपालमा रेमिट्यान्स पठाइरहेका छन्, तर उनीहरूले अवैधानिक रूपमा पासपोर्ट बनाएको जानकारी भएको अवस्थामा भारत वा नेपाल जाने सम्भावना हुँदैन । ‘नेपालले म्यानपावरमार्फत इजरायलमा कामदार पठाउने वातावरण बनेमा नेपालीले लाखौँ खर्च गरेर भारतीय राहदानी बोकेर अवैध रूपमा इजरायल पुग्ने अवस्था हुँदैन,’ राजदूत पण्डितले भने ।

भारतीय पासपोर्टमा नेपालीहरू इजरायल गएको विषयमा भारत र इजरायल सरकार पनि जानकार छ । ‘नेपाली नागरिक महँगो पैसामा अवैध रूपमा भारतीय पासपोर्ट बनाएर भारतीय म्यानपावरमार्फत इजरायल पुग्छन् । सबै गरेर ५० लाखभन्दा बढी खर्च हुँदो रहेछ । नेपाली म्यानपावरबाटै कामदार पठाउँदा केको आपत्ति हुन्छ ?’ एक उच्च सरकारी अधिकारीले भने, ‘यदि भारतबाट ५० लाख तिरेर जोखिम मोलेर नेपालीहरू इजरायल गइरहेका छन् भने नेपालकै म्यानपावरबाट त्योभन्दा निकै कम पैसामा इजरायलमा कामदार पठाउन सहजीकरण गर्नु उपयुक्त हुन्छ ।’ 

नेपालबाट सन् २००९ देखि म्यानपावर (बी टू बी)मार्फत कामदार इजरायल लैजाने भएपछि नेपालीले लाखौँ तिरेर भारतीय राहदानी बनाएको र भारतीय म्यानपावर कम्पनी तथा दलालमार्फत इजरायल जाने गरेको पाइएको छ । २००३ देखि २००९ सम्म म्यानवारमार्फत इजरायल गएकामध्ये करिब हजारजना फर्केका छैनन् । २०१६/१७ मा गएकामध्ये करिब ६ सयजना इजरायलमै छन् । सन् २०२० पछि इजरायल गएका २५ सय उतै छन् । जानकार अधिकारीका अनुसार यीमध्ये पाँच सयदेखि एक हजार नेपाली इजरायली नागरिकसँग वैवाहिक वा लिभिङ टुगेदरका रूपमा बसेका छन् ।

जी टू जीअन्तर्गत गएका करिब १३ सय नेपाली पनि इजरायलमा छन् । कृषिमा काम गर्न २०२३ अक्टोबरपछि श्रीलंका, थाइल्यान्ड, रोमानिया, माल्दोभा र साइप्रसबाट करिब एक हजार नेपाली इजरायल पुगेका छन् । इजरायलको कृषि क्षेत्रमा मात्रै कार्यरत नेपालीको संख्या सात सय छ ।

त्यसैबिच केयर सेन्टरमा कामका लागि थप एक हजार नेपाली इजरायल जाने क्रममा रहेको राजदूत पण्डितले बताए । ‘उनीहरूको छनोट प्रक्रिया सम्पन्न भइसकेको छ । अब मेडिकल परीक्षण गरेपछि उनीहरू इजरायलमा आवश्यकताका आधारमा आउने अवस्थामा छन्,’ उनले भने ।

इजरायलमा नेपालीबाहेक भारत, चीन, फिलिपिन्स, श्रीलंका र थाइल्यान्डका नागरिक छन् । यी देशमा करिब २५ हजारको संख्यामा नेपाली कार्यरत छन् । सन् २०१५ सम्म इजरायलमा कार्यरत नेपालमध्ये दुई हजारजना युरोप, एक हजारजना अमेरिकादेखि अस्ट्रेलिया गएका छन् ।

इजरायलमा रोजगारको अवसर
राजदूत पण्डितका अनुसार कृषि क्षेत्रमा थप १० हजार कामदार लिन इजरायल तयार छ । इजरायलका कृषिमन्त्री एभी डिच्चरले यो जानकारी राजदूत पण्डितलाई दिएका थिए । ‘विकास निर्माणमा पनि उनीहरूलाई तत्कालै ८० हजार कामदार चाहिएको छ । मिस्त्री, हेल्पर, टायलमा काम गर्न थप १० हजार मानिस पठाउन सक्ने भए इजरायल सरकार लिन तयार छ,’ उनले भने ।

सन् २००९ देखि इजरायलमा होम बेस केयरगिभरमा जान नेपाली रोकिएका थिए । गत असोजदेखि इजरायल सरकारले घरमा वृद्धवृद्धाको हेरचाह (केयरगिभर)का लागि नेपालबाट लैजान आग्रह गरेको छ । ‘यस विषयमा नेपाल सरकार पनि सकारात्मक छ, केही निर्णय होला,’ पण्डितले भने ।

इजरायलमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष नेपाली छन् । २३ असोज ०८० को घटनापूर्व प्यालेस्टाइन र गाजा क्षेत्रबाट तेलअभिभसम्म केयरगिभर कामका लागि मानिस आउँथे, हमासको हमलापछि अहिले बन्द छ । उनीहरू नआएपछि इजरायलमा अहिले केयरगिभरका लागि माग बढेको छ । राजदूत पण्डितका अनुसार इजरायल कृषि र पर्यटन क्षेत्रमा पनि नेपाली कामदार लैजान इच्छुक छ ।

२००९ मा इजरायली दूतावासले नौ म्यानपावरलाई कारबाही गर्न माग गर्दै नेपाल सरकारलाई नोट भर्बल पठाएको थियो । त्यसवेला म्यानपावरहरूले प्रतिनेपाली कामदार १० लाख रुपैयाँसम्म रकम लिएको आरोप थियो । त्यसपछि म्यानपावरमार्फत इजरायलमा नेपाली कामदार लैजान बन्द भयो ।

इजरायलमा न्यूनतम ज्याला ६ हजार दुई सय सेकल (करिब अढाई लाख रुपैयाँ) छ । नेपालीलाई इजरायल लैजान नेपाली दूतावासमा इजरायलका म्यानपावर कम्पनीहरूले डिमान्ड लेटर पठाएका छन् । तर, नेपाल सरकारले अनलाइन पोर्टल बन्द गरेको छ । 

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित भन्छन्–भारतीय राहदानीधारी करिब २५ सयजना छन् भन्ने अपुष्ट जानकारी छ 

भारतीय राहदानीधारी करिब २५ सयजना छन् भन्ने अपुष्ट जानकारी छ । गत महिना मात्रै २५ जना नेपाली नागरिक भारतीय राहदानीमा इजरायल पुगेको अपुष्ट जानकारी दूतावाससम्म पुगेको छ । हाम्रो बुझाइमा वैधानिक रूपमा आएका करिब ५१ सय नेपाली नागरिक छन् । पासपोर्ट वा भिसा नभएका, तर काम गरिरहेका नेपालीको संख्या पाँच सयदेखि सात सयसम्म होला ।