मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 12 August, 2025
नवराज मैनाली काठमाडाैं
Invalid date format o९:१३:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विमानस्थलमा ‘बडी स्क्यानर’ नहुँदा सजिलै तस्करी हुन्छ लागुऔषध र सुन 

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:१३:oo

गत २१ साउनको बिहान ब्राजिलियन युवती इमिली फेरिरा करिब दुई केजी कोकिन बोकेर दोहा हुँदै काठमाडौं आइपुगिन् । आगमनतर्फको जाँचमा उनी सहजै पास भइन् । आगमन कक्षको ‘वाक थ्रु गेट’ले उनको शरीरमा लुकाएको कोकिन पत्ता लगाउन सकेन । इमिलीले कोकिनलाई तरल बनाएर ब्राभित्र लुकाएकी थिइन् ।

विमानस्थलबाटै बाहिर नआई सोही दिन दिउँसो भुटान जान खोज्ने क्रममा प्रहरीलाई शंका लागेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ब्राजिलबाट आएकाले लागुऔषध ल्याएको हुन सक्ने प्रहरीको आशंका थियो । तर, उनको झोलामा केही नभेटिएपछि लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कार्यालयमै लगेर खानतलासी गर्दा शरीरमा लगाएको ब्राभित्र एक किलो ९५० ग्राम कोकिन बरामद गरेको हो ।

‘ब्राजिलबाट आएका आधारमा उनलाई निगरानीमा राखेका थियौँ,’ ब्युरोका एसएसपी कृष्णप्रसाद कोइरालाले भने, ‘पछि केही घण्टामै भुटान जान लागेपछि किन भुटान जान नेपाल हुँदै आइन् भनेर शंका लागेर खानतालासी गर्दा कोकिन बरामद भएको हो, एयरपोर्टको एक्सरे मेसिनले त्यो कोकिन पत्ता लगाउन सकेको थिएन ।’

पछिल्लो समय नेपाल लागुऔषध कारोबारमा अन्तर्राष्ट्रिय ट्रान्जिटका रूपमा प्रयोग हुँदै आएको छ । ब्युरोको तथ्यांकअनुसार पछिल्लो एक महिनामा मात्र यस्ता ६ समूहका सदस्य पक्राउ परिसकेका छन् । दक्षिण अमेरिकी देशबाट कोकिन तथा लाओसबाट थाइल्यान्ड हुँदै हेरोइनको तस्करी नेपाल हुँदै भारतमा हुन लागेको अवस्थामा बरामद भएको थियो । त्यस्तै, एक वर्षमा थाइल्यान्डबाट गाँजा लिएर आएका ४२ विदेशी पक्राउ परेका थिए । त्यसमध्ये धेरैजसो चेकजाँचका क्रममा नभई उनीहरूको प्रोफाइलिङका कारण प्रहरीले शंका लागेर पक्राउ गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचको अत्याधुनिक प्रविधि नहुँदा पनि अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई लागुऔषध तस्करीको ट्रान्जिट देश बनाइरहेको हुन सक्ने ब्युरोका प्रमुख कोइराला बताउँछन् । ‘हाम्रो विमानस्थलमा बडी स्क्यानरलगायत प्रविधि प्रयोगमा छैन,’ उनले भने, ‘अर्काेतर्फ अराइभलमा प्रहरीलाई चेकजाँचको अधिकार पनि छैन, यसले पनि लागुऔषधको कारोबार रोक्न कठिन भइरहेको छ ।’

विमानस्थलको आगमनमा भन्सार र सशस्त्र प्रहरी बलले चेकजाँच गर्दै आएका छन् । आगमनमा प्रहरीलाई पनि चेकजाँचको अधिकार दिनुपर्ने भन्दै गृह मन्त्रालयमा प्रहरीले बारम्बार कुरा उठाउने गरेको छ । तर, अर्थ मन्त्रालय प्रहरीलाई यस्तो अधिकार दिन नहुने पक्षमा छ । सशस्त्र प्रहरी बल पनि भन्सारको सहयोगीका रूपमा खटिएको एक वर्ष मात्र भएको छ ।

विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख दिलीपकुमार गौतम भन्सारको आगमन कक्षका लागि बडी स्क्यानर मेसिन खरिद भइसकेको, तर प्रयोगमा ल्याउन नसकिएको बताउँछन् । ‘प्राविधिक कारणले बडी स्क्यानर मेसिन प्रयोगमा ल्याउन सकिएको छैन,’ उनले भने, ‘यो स्वास्थ्यसँग पनि जोडिएको विषय भएकाले कार्यविधि बनाएर मात्र प्रयोगमा ल्याउने योजनामा छौँ ।’ मेसिन खरिद गरेर राखेको पनि वर्षाैँ भइसकेको छ । त्यो प्रयोग गर्ने भन्सारको कुनै चासो देखिन्न ।

विमानस्थलका एक्सरे मेसिन पनि पुरानो प्रविधिका छन् । त्यस्ता मेसिनले लागुऔषधदेखि सुनसम्म पत्ता लगाउन नसकेको प्रहरी अधिकारी बताउँछन् । थ्रिडी प्रविधिको स्क्यानर खरिद गर्न सुरक्षा निकायले सुझाव दिँदै आए पनि नागरिक उड्डयन तथा भन्सारले त्यसमा चासो दिएका छैनन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौर विमानस्थलको चेकजाँचमा प्रविधिको कमजोरी रहेको बताउँछन् । ‘पुराना खालका एक्सरे मेसिन छन्,’ उनले भने, ‘अराइभलमा प्रहरीलाई चेकजाँच गर्ने अधिकार छैन ।’

विमानस्थलका निकायहरूबिच पनि राम्रो समन्वय छैन । एक प्रहरी अधिकारीका अनुसार विमानबाट निस्कने फोहोर जाँच गर्ने कुनै सिस्टम छैन । प्रहरीले आँखाले हेरेर जाँच गर्नुपर्ने हुन्छ । जबकि विगतमा गोरेको समूहले यसरी फोहोरमार्फत नै पाँच वर्षसम्म सुन तस्करी गर्दै आएको थियो ।

त्यस्तै, प्रस्थानतर्फको एक्सरे मेसिनबाट पनि बारम्बार प्रतिबन्धित सामान पास हुने गरेका गरेका छन् । ‘कतारले नेपालबाट चुरोट र गुट्खा नपठाउन आग्रह गर्दै आएको छ,’ एक प्रहरी भन्छन्, ‘तर, लुकाएर चुरोट कतार लैजाने गरेको देखिन्छ, एक्सरेमा नदेखिएकै कारण यस्तो समस्या आएको हो ।’

कमजोर प्रविधि र भौतिक संरचनाको कारण विमानस्थलमा बारम्बार सुरक्षा चुक हुँदै आएको छ । दुई वर्षअघि एक युवक विनापासपोर्ट र भिसा विमानसम्म पुगेपछि विमानस्थलभित्रको सुरक्षा लापरबाही बाहिरिएको थियो । त्यस्तै, भन्सारबाट भेपलगायत सामानमा लुकाएर बारम्बार सुन तस्करी भएको खुल्यो । त्यसपछि सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा विमानस्थलको सुरक्षा सुधारका लागि सुझाव दिन एक समिति गठन गरेको थियो । समितिले आधुनिक प्रविधिको प्रयोग बढाउनदेखि विमानस्थलका निकायहरूबिच समन्वय सुदृढ बनाउन भनेको थियो । तर, प्रतिवेदन पनि कार्यान्वयन हुन सकेको छैन । नेपालको विमानस्थलको सुरक्षा कमजोर रहेको विषयमा अन्तर्राष्ट्रिय रूपमा पनि प्रश्न उठ्दै आएको छ । भारतीय विमानहरूले विमान चढ्ने क्रममा छुट्टै जाँच गर्दछन् । अमेरिकाले पनि आफ्नो प्रतिवेदनमा नेपालको विमानस्थलको सुरक्षामा बारम्बार प्रश्न उठाउँदै आएको छ । 

दुई महिनादेखि सुन बरामद शून्य 
नेपालको विमानस्थल सुन तस्करीका लागि पनि बदनाम छ । विगतमा विमानस्थलकै कर्मचारीको मिलेमतोमा ठुलो मात्रामा सुन तस्करी भएको बाहिर आइसकेको छ । मिलेमतो नहुँदा पनि विभिन्न सामानभित्र लुकाएर ल्याइएका सुन हरेक हप्ताजसो बरामद हुन्थे । तर, पछिल्लो दुई महिनायता विमानस्थलमा तस्करीको सुन बरामद हुन सकेको छैन । यसलाई सुरक्षा अधिकारीले अनौठो मानेका छन् । ‘सुन तस्करी नै भएको छैन,’ एक प्रहरी अधिकारीले भने, ‘कि हामीलाई झुक्याउने गरी नयाँ शैलीमा भइरहेको हुन सक्छ, हामी बुझिरहेका छौँ ।’