
वरिष्ठ स्रष्टा गोपी मैनालीको ‘अक्षरको मन’ निबन्धसंग्रह सार्वजनिक भएको छ । मुक्तिनाथ साहित्य समाज नेपाल काठमाडौंद्वारा सोमबार आयोजित कार्यक्रममा प्राज्ञ दिनेशराज पन्तले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा समीक्षकद्वय डा. हरि लम्साल र डा.परसुराम पौडेलले समालोचनात्मक टिप्पणी राखेका थिए । डा. लम्सालले संग्रहमा समेटिएका २२ निबन्धको शैली, संरचना, विषय परिवेश, सन्दर्भ र अन्य निबन्धकारसँग तुलना गरेर मैनालीको निबन्धीय विशेषताको उल्लेख गरेका थिए । उनले संग्रहको राँैचिरा विश्लेषण गर्दै सबै निबन्ध पोइटिक प्रोज भएको उल्लेख गरे ।
डा. लम्सालले विषयको व्यापकता र विचारको गहनतासाथ भावनाको स्वच्छन्द उडानमा निबन्ध लेख्ने मैनाली लक्ष्मीप्रसाद देवाकोटा र शंकर लामिछानेपछि विशिष्ट स्थान राख्न सफल प्रतिभा भएको दावी गरे ।
अर्का समालोचक डा. परशुराम पौडेलले रुपविन्यास र कलाशिल्पका आधारमा निबन्धहरूको विश्लेषण गर्दै निबन्धहरू कला विन्यास, शिल्प र कला विधान निकै उत्कृष्ठ रहेको र विचार, दर्शन र कलाको संयोजन उच्चस्तरको रहेको उल्लेख गरे ।
वरिष्ठ सामलोचक प्राडा खगेन्द्रप्रसाद लुइटेलले मैनालीको निबन्धको यो पाँचौ कृति विगतका भन्दा निकै खारिएको, निबन्धमा कल्पना, अनुभूति, विज्ञान र मानवीय संवेगको भावात्मक प्रस्तुति रहेको बताए ।
वरिष्ठ कवि महेश प्रसाईले मैनालीका निबन्ध कवितामय प्रस्तुति, वैश्विक परिवेश र गहिरो बौद्धिकतामा रहेकाले निकै विशिष्ट रहेको, उनको वेगल पहिचान र बैशिष्ठ्यका कारण अब निबन्धमा मैनाली एरा आएको बताए ।
वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीले मैनालीका निबन्ध लेखन शैली कलात्मक, वैचारिक रुपमा गहन र भावनाको उन्मुक्त उडान रहेको उल्लेख गरे । शर्माका शब्दमा मैनालीका निबन्ध उनको व्यक्तित्व जस्तै सरल, गहन र उच्चस्तरका रहेको उल्लेख गरे ।
समस्त साहित्यिक संस्थाका तर्फबाट साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेखालीले मैनालीको विशिष्ठ साधनाले कथा, निबन्ध, समालोचना र नियात्रामा मौलिक पहिचान भएको बताए ।
वरिष्ठ समालोचक युवाराज मैनालीले निबन्धकार मैनालीको ०३८ देखिको निबन्धीय यात्राको सिलसिला उल्लेख गर्दै मैनालीका निबन्ध गहन विचार, बेजोड प्रवाहशीलता, आत्मिक चेतना, युगवोध र तकसंगतिमा रहेकाले उनीबाट नेपाली निबन्धले धेरै कुरा प्राप्त हुने उल्लेख गरे ।
निबन्धकार मैनालीले आफूले निबन्ध लेखेको सन्दर्भ, रचना गर्भमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा स्रष्टाहरू रामप्रसाद पन्त, विमल भौकाजी, विजय थापा, डा. लवदेव अवस्थी, डा. दामोदर रेग्मी, अनेसासका राष्टिय अध्यक्ष राजेन्द्र केसी, इदिरा ढकाल, कल्पना दाहाल, महेन्द्र चालिसे, बाजुराम पौडेल, आलोक चालिसे, अच्युतराज उप्रेती, डा. राम मैनाली, नारयाण मैनाली, सिंहबहादुर श्रेष्ठलगायत कवि, समालोचक, पत्रकार, प्रशासक र विचारकहरुको उपस्थिति थियो ।