
नेपाल चेम्बर अफ कमर्स र श्रीलंकन चेम्बर अफ स्मल एन्ड मिडियम इन्टरप्राइजेजबिच साझेदारीको सम्झौता भएको छ । दुई संस्थाबिच साना तथा मझौला उद्यम प्रवद्र्धन र व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारी गर्ने सम्झौता भएको हो ।
श्रीलंकास्थित नेपाली राजदूतावासको समन्वयमा भएको सम्झौतामा नेपाल चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र श्रीलंका चेम्बरका अध्यक्ष रोहन डी सिल्भाले हस्ताक्षर गरेका छन् । कार्यक्रममा श्रीलंकाका लागि नेपाली राजदूत डा. पूर्णबहादुर नेपालीको समेत उपस्थिति थियो ।
सम्झौताअनुसार दुई संस्थाले साना तथा मझौला उद्यमहरूको प्रवद्र्धन, दुईदेशीय व्यापार एवं लगानीको अवसर तथा नेपाल–श्रीलंकाको निजी क्षेत्रबिच व्यापार सहजीकरण गर्र्ने विषयमा रणनीतिक साझेदारी गर्नेछन् ।
जसअनुसार साना तथा मझौला उद्यममा एक–अर्काको देशमा भएका अभ्यास, नीतिगत व्यवस्था, क्षमता अभिवृद्धि कार्यक्रम, प्रशिक्षण, कार्यशाला गोष्ठीजस्ता विषयमा सहकार्य गरिने चेम्बरले जनाएको छ । साना तथा मझौला उद्यमीहरूद्वारा उत्पादित वस्तुहरूको एक–अर्काका देशमा प्रदर्शनी एवं व्यापार अभिवृद्धि गर्नका लागि समन्वय गरिने विषय सम्झौतामा उल्लेख छ ।