
विगतका वर्षहरूमा मध्यसाउनसम्म लगभग रोपाइँ सकिएको हुन्थ्यो । तर, यसपालि चरम खडेरीले यो अवधिसम्म मधेशका अधिकांश क्षेत्र बाँझै रहँदा किसान पिरमा थिए । शनिबारदेखि परिरहेको वर्षाले ढिलै भए पनि मधेशका घर–घरमा हर्ष भित्रिएको छ । शनिबार र आइतबार मधेशका किसानले रोपाइँ गरेका छन् ।
सिराहाको गोलबजार नगरपालिका– ८ का किसान रामचन्द्र यादवले दुई बिघामध्ये खडेरीका कारण रोप्न बाँकी २२ कट्ठामा रोपाइँ गर्न खेत हिल्याएको बताए । ‘पानी नपर्दा रोपाइँ गर्न सकिएको थिएन । शनिबारदेखि पानी पर्न थालेको छ । अब तीन–चार दिनभित्र रोपाइँ भ्याउँछु,’ उनले भने ।
हुलाकी सडकखण्डमा पर्ने औरही गाउँपालिका– ५ का उद्गार यादव आइतबार अपराह्न श्रीमतीसँग छिप्पिँंदै गरेको धानको बिउ उखेल्न व्यस्त थिए । ‘ढिलै भए पनि पानी परेको छ, छिप्पिएकै भए पनि रोप्न पाइयो भने कम्तीमा लगानी त उठ्ला कि,’ उनले भने । सिराहाको दक्षिणी भेगमा हुलाकी सडकखण्डमा पर्ने भगवानपुर, नवराजपुर, औरही गाउँपालिका र सिराहा नगरपालिका क्षेत्रमा बर्खा हुनुअगावै किसानले बोरिङबाट पानी सिँचाइ गरेर रोपेको धानका लागि वर्षाले त्राण भरेको औरही– १, दरहियाका रामकुमार यादवले बताए ।
अधियाँमा धान खेती गरेर जीविका चलाउँदै आएका नरहा गाउँपालिका– ३ का नागेन्द्र मण्डलले पनि खडेरीका कारण सुकेको डेढ बिघा धानलाई वर्षाले राहत भएको बताए । ‘खडेरीले धान नफले के खाने भन्ने चिन्ता थियो, नफले पनि खेतधनीलाई दिनैपथ्र्यो,’ उनले भने, ‘पानीले थोरबहुत भए पनि फल्ने आशा जागेको छ ।’
०००
यो बर्खामा अहिलेसम्म मधेशले चर्को खडेरी भोगे पनि समग्र देशमै वर्षा कम भयो । शनिबारदेखि मात्रै देशभर एकैसाथ मनसुन सक्रिय हुन थालेको हो । सरदरभन्दा दुई साताअघि १६ जेठमै मनसुन भित्रिए पनि सक्रिय नहुँदा खण्डवृष्टि मात्रै थियो । शनिबारबाट देशभर भइरहेको वर्षा मंगलबार रातिसम्मै रहने आकलन छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपटक मनसुनी रेखा पूर्वदेखि पश्चिमसम्म एकैसाथ नेपालनजिक आएको पहिलोपटक हो । ‘मनुसनी रेखा यसअघि कहिले पूर्व, कहिले पश्चिममा नेपालनजिक आइरहेको थियो । त्यही भएर पनि देशभर वर्षा भएको थिएन,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनले भनिन्, ‘अहिले पूर्वदेखि पश्चिमसम्म एकसाथ नेपालनजिक आउँदा मनसुन सक्रिय भएको हो ।’ मनसुनको न्यूनचापीय रेखा दिल्ली–कोलकाता लाइनमा बस्दा नेपालमा खासै वर्षा हुन सकेको थिएन । यो रेखा आइतबार बिहार–उत्तरप्रदेश लाइनमा छ, कुनै–कुनै ठाउँमा नेपालको सीमामा छ ।
बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीले देशभर एकसाथ पानी पर्न थालेपछि ठुला नदीमा पनि बहाव बढ्न थालेको बताए । ‘यसपटक कोशी, नारायणी, कर्णाली र महाकालीमा बहाव सतर्कता तहसम्म पुगेकै थिएन । बल्ल बर्खा लागेझैँ भएर पानी परिरहेको छ,’ उनले भने, ‘साना र मझौला नदीमा बाढीको जोखिम छ भने ठुला नदीमा पनि सतर्कता तह नाघ्न सक्ने देखिन्छ ।’
यसपटकको वर्षा खासगरी चुरे र महाभारत शृंखलामा अझ बढी पर्ने देखिन्छ । ‘आइतबार देशभर नै वर्षा भएकाले लगभग सबै स्टेसनमा वर्षा रेकर्ड हुने देखिन्छ,’ मौसमविद् महर्जनले भनिन्, ‘यसअघि खण्डवृष्टि भइरहेको थियो । अहिले देशभर एकसाथ पानी पर्न थालेको छ, किसानलाई पनि राहत भएको छ । तर, बाढीपहिरोको जोखिम पनि छ ।’
आइतबारबाट बागमती, गण्डकी र लुम्बिनीकेन्द्रित वर्षा भइरहेको छ । सोमबार पनि यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनले बताइन् । ‘देशभर वर्षा भइरहेको छ । तर, धेरै वर्षा भने मध्य र पश्चिम नेपालमा भइरहेको छ,’ उनले भनिन् ।
आइतबार रातिसम्म (अप्रशोधित तथ्यांक)मा सबैभन्दा धेरै वर्षा झापाको अनारमनी बिर्ताबजारमा १५१.६ मिलिमिटर भएको छ । त्यस्तै, झापाकै चन्द्रगढीमा १२६.२ र दमकमा १२१.२, उदयपुरको गाईघाटमा १३४, सप्तरीमा ९२, सिराहामा ८५.५, रौतहटको गौरमा ६५.६ मिलिमिटर वर्षा मापन भएको छ । बाँकेको भगवानपुरमा १०८.२, बर्दियाको बुढीआममा ९५.६, लमजुङको खुदी बजारमा ९४.२, डडेल्धुरामा ९३.८ बागलुङमा ९३ मिलिमिटर वर्षा भएको छ । अन्य क्षेत्रभन्दा पूर्वी नेपालको पहाडी जिल्ला तथा कर्णाली र सुदूरपश्चिममा भने कम वर्षा रेकर्ड भएको छ । सोमबार देशका धेरै ठाउँमा वर्षा हुने आकलन महाशाखाले गरेको छ ।
अहिलेसम्म मधेशमा ५७.२८% मात्रै रोपाइँ
समयमै पर्याप्त वर्षा नहुँदा मधेशमा धान रोपाइँ बढ्न सकेको छैन । पछिल्लो एक सातामा मधेशमा रोपाइँ ६ प्रतिशतले बढेर ५७.२८ प्रतिशत पुगेको छ । ११ साउनसम्म ५१.८२ प्रतिशत रोपाइँ सकिएको थियो । कृषि मन्त्रालयका अनुसार १८ साउनसम्ममा देशभर ८३.८८ प्रतिशत मात्रै रोपाइँ भएको छ । मधेशमा खडेरीका कारण रोपाइँ प्रभावित हुँदा देशकै समग्र रोपाइँ प्रगति न्यून देखिएको छ । एक सातामा मधेशका किसानले नहर र डिप बोरिङबाट थोरै सिँचाइ गरेर रोपाइँ गरेका कारण उल्लेख्य प्रगति हुन नसकेको कृषि मन्त्रालयको भनाइ छ । यद्यपि, शनिबारदेखि भने मधेशमा समेत वर्षा हुन थालेका कारण रोपाइँ बढ्ने अपेक्षा गरिएको छ ।
मधेशबाहेक आइतबारसम्म कोशीमा ८९.०३ प्रतिशत, सुदूरपश्चिममा ९९.७२ प्रतिशत, कर्णालीमा ९६.४७ प्रतिशत, लुम्बिनीमा ९५.९६ प्रतिशत, गण्डकीमा ८८.९७ प्रतिशत र बागमतीमा ९२.९२ प्रतिशत रोपाइँ सकिएको कृषि मन्त्रालयले जनाएको छ । यो वर्ष १३ लाख ७८ हजार हेक्टरमा रोपाइँ हुने अनुमान छ । त्यसमध्ये ११ लाख ५६ हजार हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।