मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 03 August, 2025
Invalid date format १९:२५:oo
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

डिंगरनगर दूरगामी सहकारी प्रकरण : श्रीमानलाई उपस्थित गराउने सर्तमा छुटिन् कार्यालयमै थुनिएकी श्रीमती

प्रहरी प्रतिवेदन अध्ययनमै, जाहेरी दिने तयारीमा शेयर सदस्यहरू

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२५:oo

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३, शान्तिचोकस्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा भएको बचतकर्ताको करोडौँ रकम अपचलन सम्बन्धमा रुपन्देही प्रहरीले अध्ययन गरिरहेको छ। प्रहरी सहकारीको रकम अपचलनका विषयमा गठित स्वतन्त्र लेखा परीक्षकले तयार पारेको लेखा परीक्षक प्रतिवेदनको अध्ययनमा छ। 

उक्त प्रतिवेदन आवश्यक अध्ययनपछि सहकारी दर्ता अधिकारीको कार्यालयले पत्रसहितको प्रतिवेदन शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलमा पठाएकोे थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटालले प्रतिवेदनमा विभिन्न त्रुटिहरू देखिएको पाइएको भन्दै थप अध्ययनकै क्रममा रहेको बताए।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक धर्मराज खत्रीले सहकारीका बचतकर्ताहरूबाट जाहेरी माग गरिएको भन्दै जाहेरी आएपछि थप प्रक्रिया अगाडि बढ्ने बताए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले सहकारीको अध्यक्ष र सचिवका श्रीमतीले पाँच दिनसम्मको समय मागेको भन्दै उक्त समयपछि एउटा टुंगो लाग्ने बताए। हिनामिना देखिएको रकम तिर्ने र कर्जा असुल गर्दै मिलाएर सहकारी चलाउनेसम्मको कुराहरू आएको प्रहरीले जनाएको छ।

गत असार १७ गते सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री बचतकर्ताको करोडौँ अपचलन गरी फरार भएपछि बचतकर्ताले उनीहरूलाई कारबाही र आफ्नो बचत फिर्ताको मागलाई सशक्त रूपमा उठाउँदै आएका छन्। प्रहरी तथा सहकारी दर्ता अधिकारीको कार्यालयसम्म पुगेर दबाब दिएका उनीहरूले ५ दिनदेखि सहकारीका अध्यक्ष र सचिवका श्रीमतीहरूलाई सहकारीको कार्यालयभित्रै राखेकोमा आइतबार सर्तसहित छाडेका छन्। मंगलबारसम्म श्रीमानहरूलाई सम्पर्क गराउने र ५ दिनभित्र सहकारीको कार्यालयमा उपस्थित गराएर बुझाउने सर्तमा उनीहरू घेराबाट उम्किएका हुन्। सहकारीका सल्लाहकारसमेत रहेका छानबिन व्यवस्थापन तथा समन्वय समितिका संयोजक बेलप्रसाद शर्माले मंगलबारसम्म अध्यक्ष र सचिवलाई सम्पर्क गराउने र जतिसक्दो चाँडो रकम फिर्ताका लागि अल्टिमेटमसहितको दबाब सेयर सदस्यहरूले दिएको बताए।

बचतकर्ता र अन्य सञ्चालकहरूले अध्यक्ष र सचिव फरार भएकाले उनीहरूका श्रीमतीहरूले अध्यक्ष र सचिवलाई सम्पर्कमा ल्याउनुपर्ने कि हिनामिना भएबराबरको रकम जायजेथाबाट तिर्नुपर्ने बताउँदै आएका छन्।

जाहेरी दिने सेयर सदस्यहरूको तयारी
सेयर सदस्यहरूले अध्यक्ष, सचिव र व्यवस्थापकविरुद्ध जाहेरी दिने तयारी पनि सँगसँगै अगाडि बढाएका छन्। श्रीमानहरूलाई उपस्थित गराउन ढिलासुस्ती हुन सक्ने आशंका गरेका सेयर सदस्यहरूले प्रहरीमा जाहेरी दिन आवश्यक तयारी गरेका हुन्।

संगठित अपराध, ठगीदेखि सम्पत्ति शुद्धीकरणसम्मको मुद्दा चलाउन माग गर्दै जाहेरी दिने तयारीमा सेयर सदस्यहरू छन्। जतिसक्दो चाँडो अध्यक्ष र सचिव उपस्थित भएर सहमतिबाट रकम फिर्ता प्रक्रिया अगाडि बढाए सहज रूपमा निकास निस्किने सहकारीका सल्लाहकारसमेत रहेका छानबिन व्यवस्थापन तथा समन्वय समितिका संयोजक शर्माको भनाइ छ।

उनीहरूले तत्काल ७ करोड जति रकम व्यवस्था गरे कार्यालय खोल्ने, सेयर सदस्यहरूको बचत फिर्ता गर्ने तथा ऋण असुलीको प्रक्रिया अगाडि बढाउन सहज हुने उनले बताए। यसतर्फ अगाडि नबढे सफ्टवेयरको दुरुपयोगदेखि कागजात च्यात्नेसम्मका काम तथा करोडौं रकम ठगी भएकाले विभिन्न मुद्दा आर्कषण गर्ने गरी छलफलमा सदस्यहरू जुटेका छन्।

प्रतिवेदनमा के छ ?
सहकारीमा बेथिति भएको आशंकासँगै झन्डै एक महिनाअगाडि उच्च तहको स्वतन्त्र लेखा परीक्षक ल्याएर आन्तरिक रूपमा अध्ययन गराइएको थियो। लेखा परीक्षकको टिमले २८ दिन लगाएर प्रतिवेदन तयार पारेको हो। छानबिन व्यवस्थापन तथा समन्वय समितिका संयोजक बेलप्रसाद शर्मासहितले बिहीबार प्रतिवेदन ग्रहण गरेका थिए। बिहीबार नै सो प्रतिवेदन दर्ता अधिकारीको कार्यालयमा बुझाइएको छ। लेखा परीक्षक योगचन्द्र बाँस्तोलाको नेतृत्वमा स्वतन्त्र लेखा परीक्षण गर्न समिति गठन गरिएको थियो।

यस सहकारीमा बचतकर्ताको बचत अपचलन भएको पाइएपछि गत असार १८ गते कार्यालयमा तालाबन्दी गरिएको थियो। बचत अपचलन भएका विषयमा अध्ययन भइरहेको अवस्थामा सहकारीका अध्यक्ष, सचिव र व्यवस्थापक सम्पर्कविहीन भएका थिए। केही दिनपछि व्यवस्थापक सम्पर्कमा आए पनि अध्यक्ष र सचिव सम्पर्कविहीन छन्। अनियमितता तथा बचत फिर्ताका विषयमा भएको छलफल र निर्णयको माइन्युट नै च्यातिएको अवस्थामा पाइएपछि असार १८ गते कार्यालयका कागजात सुरक्षित गर्न वडा कार्यालय तथा प्रहरीको सहयोगमा सहकारीको कार्यालयमा ताला लगाइएको थियो।

सहकारीका सल्लाहकारसमेत रहेका छानबिन व्यवस्थापन तथा समन्वय समितिका संयोजक शर्माले बचत अपचलनको चर्चापछि केही दिनयता आन्तरिक छानबिन गर्दा अपचलन भएको पाइएको र त्यसको अनुसन्धान जारी रहेकै अवस्थामा माइन्यूट च्यात्ने काम भएको बताएका थिए। सिसिटिभी फुटेज हेर्दा सचिवले माइन्यूट च्यातेको देखिएको थियो। सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक वसन्त पराजुली सम्पर्कविहीन रहेकोमा व्यवस्थापक पराजुली सम्पर्कमा आएका थिए।

सहकारीको अनियमितता विषयमा सल्लाहकार शर्मासहितको टोलिले असार १८ गते नै लुम्बिनी प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालय दाङ पुगी कार्यालयका प्रमुख सुरेशचन्द्र आचार्यलाई भेटेर रकम अपचलनबारे अनुसन्धान गर्न आग्रह गरेको थियो।

१३ करोड ८ लाख २८ हजार १३१ रुपैयाँ अपचलन भएको प्रतिवेदनमा उल्लेख गरिएको लुम्बिनी प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालयलका बरिष्ठ शाखा अधिकृत बाबुराम पन्थीले जानकारी दिए। त्यस्तै ऋण लगानी सम्बन्धमा धितोको मूल्यांकनभन्दा बढी २१ करोड ७४ लाख ६६ हजार ५४९ र वचत नियमित मुद्दती खातालगायतका विषयमा २ करोड ९१ लाख ९२ हजार २ सय ६७ गरी २४ करोड ६६ लाख ५८ हजार ८ सय १६ रुपैयाँ जोखिमपूर्ण क्षेत्रमा लगानी गरिएको प्रतिवेदनमा उल्लेख छ।

कार्यालयका सुचना अधिकारीसमेत रहेका पन्थीका अनुसार धितो मूल्याकंन समितिले मूल्याकंन गरेभन्दा बढी लगानी गरेको पाइएको पनि प्रतिवेदनले स्पष्ट पारेको छ। धितो मूल्यांकन समितिको संयोजक कोषाध्यक्ष रहेका छन्। उनको समितिले सिफारिस गरेभन्दा बढी ऋण लगानी गरिएको छ। यस सहकारीमा ऋण लगानी समिति सचिवको नेतृत्वमा छ।

उक्त सहकारीका व्यवस्थापक बसन्त पराजुली २१ दिन प्रहरी हिरासतमा बसेर छुटेका थिए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीपवहादुर क्षेत्रीले ठगी मुद्दा अगाडी बढाउन ठगीसम्वन्धी रिपोर्ट नआइसकेकाले सरकारी वकिलको आदेशअनुसार छुटेको बताए। हिरासतबाट हाजिरी जमानीमा छाडे पनि बाहिरको माहोलले गर्दा उनी भित्रै बस्न खोजे पनि पछि निस्किएको प्रहरीको भनाइ छ।

असार १७ देखि फरार दुवैजनाविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले फरार अध्यक्ष र सचिवको खोजी जारी रहेको जनाएको छ।