
एनआइसी एसिया क्यापिटल लिमिटेडले सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । क्यापिटलको आज सम्पन्न सञ्चालक समितिको १६०औँ बैठकको निर्णयअनुसार क्यापिटलको नवाैँ वार्षिक साधारणसभा हुने भएको हो ।
साधारण सभा आगामी भदाै १८ गते (सेप्टेम्बर ३) बुधबारका दिन रजिस्टर्ड कार्यालय, थापाथली, काठमाडौँमा बिहान ९ बजे गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।
उक्त वार्षिक साधारणसभाबाट आर्थिक वर्ष ०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्न तथा प्रस्तावहरू छलफल गरी पारित गर्नेछ ।
क्यापिटलले सातौँ वार्षिक साधारणसभासम्म आउँदा २४० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भइसकेको छ भने नवाैँ वार्षिक साधारणसभामा पारितको लागि प्रस्ताव गरेको ५० प्रतिशत नगद लाभांशसहित २९० प्रतिशत नगद लाभांश वितरण गर्न सफल हुनेछ ।
साथै क्यापिटलले सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोगमार्फत ग्राहकहरु माझ पुर्याउन ‘अब लाइनमा होइन, क्यापिटलको सेवा अनलाइनमा’ भन्ने मूल नाराका साथ अगाडि बढेको यस क्यापिटलले आर्थिक वर्ष ०८१/८२ को अन्त्यसम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरू अनलाइनमार्फत उपलब्ध गराउने व्यवस्था मिलाउनसमेत सफल भएको छ ।