मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १८ आइतबार
  • Sunday, 03 August, 2025
२o८२ श्रावण १८ आइतबार १३:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुख्यमन्त्री लामा नेतृत्वको अन्तिम क्याबिनेट बैठक आज २ बजे बस्दै, राजीनामा दिने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १८ आइतबार १३:o३:oo

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज (आइतबार) दिउँसो २ बजे अन्तिम मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । मुख्यमन्त्री पदबाट राजीनामा दिनुअघि बस्ने यस बैठकबाट राजीनामाको औपचारिक निर्णय हुने उनको सचिवालयले जनाएको छ ।

एक वर्षअघि ८ साउन ०८१ मा मुख्यमन्त्री बनेका लामाले ९ साउनमा पद तथा गोपनीयताको शपथ लिएका थिए । उनी एक वर्षपछि राजीनामा दिने तयारीमा छन् ।

१४ मन्त्रालय रहेको बागमती प्रदेशमा आजको क्याबिनेट बैठकमा नाै मन्त्री सहभागी मात्रै हुनेछन् । यसअघि लामा नेतृत्वको मन्त्रिपरिषदमा एमालेका ६ र मुख्यमन्त्रीसहित कांग्रेसका आठजना मन्त्री रहेका थिए ।

सरकारकको अन्तिम बैठकमा एमालेका कृषिमन्त्री प्रकाश श्रेष्ठ, श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के, उद्योगमन्त्री सुकमाया तामाङ र स्वास्थ्यमन्त्री किरण थापा छन् । यस्तै, कांग्रेसतर्फबाट मुख्यमन्त्री लामा स्वयं, आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले र सामाजिक विकासमन्त्री हरिप्रभा खड्की छन् ।

यसअघि राजीनामा दिएका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेलाई लामाले बर्खास्त गरेका थिए । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम खड्काले भने गत बुधबार राजीनामा दिएका थिए ।

मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलन गरी आगामी कदमबारे जानकारी दिइने तयारी छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा आज हेटौँडा फर्किएमा लामाले प्रत्यक्ष राजीनामा बुझाउनेछन्, अन्यथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत राजीनामा दर्ता गर्ने मुख्यमन्त्री लामाले बताए ।