मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १८ आइतबार
  • Sunday, 03 August, 2025
२o८२ श्रावण १८ आइतबार ११:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वर्षासँगै आएको पहिराेले राप्ती राजमार्ग अवरुद्ध

सुख्खा पहिराले लुहाम-सुर्खेत सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १८ आइतबार ११:३७:oo

वर्षासँगै आएको पहिराेले राप्ती राजमार्ग अवरुद्ध भएको छ । राप्ती राजमार्गअन्तर्गत कपुरकोट-सल्यान सडकखण्डको कपुरकोट गाउँपालिका- ३ चोरखोलामा पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । 

आइतबार बिहान करिब ९:४५ बजे सडकमाथिबाट आएको पहिरोले सडक पुरिँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा यातायातका साधन बिचबाटोमा अलपत्र परेका छन् । साना सवारीसाधन वैकल्पिक बाटोमार्फत गन्तव्यमा लागे पनि ठुला सवारीसाधन भने बिचबाटोमा नै अलपत्र रहेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

सुक्खा पहिराेले लुहाम–सुर्खेत सडक अवरुद्ध
यस्तै, सल्यानबाट प्रदेश राजधानी सुर्खेत तथा दाङ जोड्ने लुहाम काभ्रा कालीमाटी सुर्खेत सडक पहिरोका कारण अवरुद्ध बनेको छ । कालीमाटी गाउँपालिका– १ को दलपुरे भन्ने स्थानमा ठुलो पहिरो झरिरहेको र आइतबार बिहानैदेखि सडक पूर्ण रूपमा बन्द रहेको कालीमाटी- १ का वडाध्यक्ष रविलाल बस्नेतले जानकारी दिए ।

काभ्रा–कालीमाटी सडकमा आवतजावत गर्न निकै जोखिमपूर्ण भएकाले यसबारे सम्बन्धित प्रहरी युनिटमा जानकारी गराइसकिएको वडाध्यक्ष बस्नेतको भनाइ रहेको छ ।  त्रिवेणी गाउँपालिकास्थित लुहामबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत तथा पश्चिम दाङ आउजाउ गर्नका लागि यो छोटो दूरीकाे सडक हो ।