
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को हाताभित्र रहेको बहुउद्देश्यीय कभर्ड हलको पुनर्निर्माण सकिएको छ । चार दशकसम्म नेपाली खेलकुदका राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरका खेल आयोजना भएको यस कभर्ड हलको पुनर्निर्माण गत १५ वैशाखदेखि भएको हो । राखेपले १५ असासभित्र अन्तर्राष्ट्रियस्तरको कभर्ड हलले पूर्णता पाउने जनाए पनि एक महिनापछि पूरा भएको छ । कमजोर पूर्वाधारका कारण भलिबल, ब्याडमिन्टन र बास्केटबलआदि अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नै समस्या आएपछि यसको पुनर्निर्माण भएको हो । अहिले यो अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनेको छ ।
०३५ सालमा राखेका तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहको समयमा कभर्ड हल बनेको थियो । ०७२ सालको विनाशकारी भूकम्पले यहाँ ठुलो क्षति पुर्याएको थियो । भूकम्पपछि राखेपले कभर्ड हलको अगाडिको संरचना परिवर्तन गरे पनि भित्री संरचना भने यथावतै राख्यो । ‘हामीले भित्रको संरचना पुनर्निर्माणसँगै कभर्ड हललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन जोड गरेका थियौँ । अहिले यो अन्तर्राष्ट्रियस्तरको बनेको छ,’ घिसिङले भने ।
कभर्ड हलमा पुनर्निर्माण भइरहेको समयमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता पोखरामा भएको थियो । साथै, अन्य इन्डोर खेल पनि विभिन्न स्थानमा भएको थियो । राखेपका सदस्यसचिव टंकलाल घिसिङले कभर्ड हलमा बढीभन्दा बढी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुने बताएका छन् । घिसिङले विशेष गरी नेपाली महिला भलिबल विकास र खेलाडी क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रियस्तरको मैत्रीपूर्ण भलिबलको खेल आयोजनाको प्रस्ताव राखेका छन् ।
‘नेपाली टोलीलाई अन्तर्राष्ट्रियस्तरको अनुभव प्रदान गर्न र दर्शकलाई नयाँ उत्साह दिन पनि यस्ता म्याच आयोजना गर्नुपर्छ,’ उनले भने, ‘नेपाल भलिबल संघ र प्रशिक्षकलाई यसका लागि तत्काल योजना बनाउनु छ ।’
चार करोड ३५ लाखको ठेक्का
राखेपले अन्तर्राष्ट्रिय मापदण्डअनुसार कर्भड हलको पुनर्निर्माणका लागि चार करोड ३५ लाख रुपैयाँमा सुनकोशी कन्स्ट्रक्सन प्रालिलाई ठेक्का दिएको थियो । द्विपक्षीय सम्झौताअनुसार १५ वैशाखबाट सुरु भएर १५ असारमा पुन: कार्य सम्पन्न हुनुपर्ने थियो । तर, सुनकोशी कन्स्ट्रक्सनले सम्झौताको एक महिनापछि सम्पन्न गरेको हो । सुरुमा कभर्ड हल पुनर्निर्माण गर्न राखेपले सरकारसँग ९ करोड रुपैयाँ माग गरेको थियो । तर, गत आर्थिक वर्षको बजेटमा पाँच करोड मात्र निकासा भएकाले सोही बजेटबाट काम थालियो । यसअघि राखेपले खुलाएको टेन्डर प्रक्रियाबाट चारवटा कम्पनीको नाम सर्टलिस्टमा परेको थियो । त्यसमध्ये ठेक्काको प्रतिस्पर्धामा सबैभन्दा कम रकमबाट सुनकोशीले ठेक्का पायो ।
कभर्ड हल साउन्ड प्रुफ
पहिलो कभर्ड हल साउन्डप्रुफ थिएन । अहिले करौडो लगानी गरी पुनर्निर्माण भएको कभर्ड हल पूरै साउन्ड प्रुफ बनको छ । हलभित्र दर्शक तथा खेलाडीलाई गर्मीबाट बच्न एयरकन्डिसन जडान गरिएको छ । हलको चारै दिशामा पाँच हजार सिएफएम क्षमताको एसी राखिएको छ । अहिले १५ सयको हाराहारीमा रहेको सिट क्षमता बढाइएको छ ।
भिआइपी कक्ष, खेलाडीहरूको रेस्ट रुम र चेन्जिङ रुमको स्वरूप पनि परिवर्तन गरिएको छ । यसैगरी, दर्शकका निमित्त शौचालयको राम्रो व्यवस्था भएको छ । हलभित्र बिजुलीलगायतको व्यवस्था गुणस्तरीय बनाइएको छ । कभर्ड हलमा काठको रेलिङको सट्टा स्टिल छ ।
तीनवटा दक्षिण एसियाली खेलकुद आयोजना
राखेपको कभर्ड हलको इतिहास चार दशक लामो छ । यसै कभर्ड हलमा नेपालले दक्षिण एसियाली तथा एसियनस्तरका प्रतियोगिता आयोजना गरेको थियो । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पहिलो, आठौँ र तेह्रौँ संस्करणमा यसै कभर्ड हलमा विभिन्न खेल आयोजना भएका थिए । सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पहिलो संस्करण र काभा महिला नेसन्स लिगलगायतका प्रतियोगिता आयोजना भएका थिए । पछिल्लो समयमा यहाँ कबड्डीको राष्ट्रिय लिग भएको थियो ।
सन् २०१९ मा १३औँ सागअन्तर्गत भलिबल र बास्केटबलका फाइनल यसै हलमा भयो । १३औँ साग खेलका लागि यसको मर्मत भयो । तर, एसियन लेभलको भलिबल प्रतियोगिता आयोजना गर्न कभर्ड हल काफी नरहेको गुनासो नआएका होइनन् । राखेपका सदस्यसचिव घिसिङले खेलकुद संरचनालाई थप प्रभावकारी बनाउन र पुराना समस्या समाधान गर्न योजनाबद्ध रूपमा काम गर्ने बताए । उनले नेपालमा खेलकुदको विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा थप अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् ।