
डिसेम्बर २०२४ मा बसर अल–असदको शासनको पतनपछि टर्कीले सिरियामा ‘सुन्नीकरण’को उद्देश्य पछ्याइरहेको देखिन्छ । सिरियालाई लिएर टर्कीका राष्ट्रपति रिसेप तयिप एर्दोगानले व्यक्त गरेका बयानबाजीमाथि ध्यान दिने हो भने उनले कतै पनि सबै समुदायको हकको रक्षा हुने समावेशी सिरियालाई प्रोत्साहन गरेका छैनन् । पूर्वजिहादी अहमद अल–सारा नेतृत्वको वर्तमान सरकारको नीतिमा पनि एर्दोगानकै दृष्टिकोणको झल्को देखिन्छ । सिरियाली अन्तरिम सरकारले सिरियाका लागि सुन्नी इस्लामको संकीर्ण, बहिष्करणपूर्ण व्याख्यामा आधारित भविष्य देखेको छ । यो दृष्टिकोण व्यावहारिक रूपमा पछिल्लोपटक सिरियाको सुवेदा क्षेत्रमा सिरियाली ड्रुज अल्पसंख्यकविरुद्ध सुन्नीहरूले मच्चाएको अत्याचारमा देखियो ।
सुवेदा क्षेत्रमा सुरुमा सुन्नी घुमन्ते मिलिसिया समूहले ड्रुज मिलिसिया र नागरिकविरुद्ध आक्रमण गरे । सामाजिक सञ्जालमा फैलिएका तस्बिरमा बिच सडकमा पुरुष कुटिएका, घरलाई निसाना बनाइएको र सुन्नी मान्यताप्रति सहमति जनाउने गरी जबर्जस्ती खौरिएका व्यक्तिहरू देखिन्छन् । सुन्नी मिलिसियाको कारबाहीपछि ड्रुज मिलिसियाले अलग हिंसात्मक प्रतिशोध चलाए ।
यस साम्प्रदायिक हिंसापछाडिको तर्क सरल छ: आक्रमणकारी सुन्नीहरूले आफ्नो कदमलाई जिहादको एक रूपमा हेरेको देखिन्छन् । त्यसैले तिनले फरक विचार राख्नेहरूको सम्पत्ति, घरजग्गा, र सम्भव भएमा तिनको विश्वासमाथि नै धावा बोल्ने अधिकार भएको ठानेका छन । यस हिंसात्मक विचारधाराले केवल ड्रुजहरूलाई मात्र लक्षित गर्दैन । सिरियाको नयाँ शासन–व्यवस्थाका नयाँ नेतृत्व, कर्मचारी तथा सुरक्षा निकायभित्र घुसाइएका जिहादी तŒवले देशका अल्पसंख्यक समुदाय कुर्द, अलाविट र इसाईहरूप्रति पनि उस्तै विचार राखेको देखिन्छ ।
सुवेदा क्षेत्रमा दुई धार्मिक समूहबिच हिंसा भड्किएपछि अल–सारा नेतृत्व सरकारले ‘शान्ति व्यवस्था पुनस्र्थापित गर्न’ भन्दै नवगठित सुरक्षा बल पठाएको थियो । तर, ती सुरक्षा बलले शान्ति कायम गर्न निष्पक्ष भूमिका खेलेको तथ्यले देखाउँदैन । पछिल्लो समय सिरियाली सेनामा कैयौँ जिहादीलाई समाहित गरिएको छ । तिनको बफादारी सिरियाली समाजमा सुव्यवस्था कायम गर्नेभन्दा पनि आफ्नो साम्प्रदायिक उद्देश्य हासिल गर्ने देखिन्छ ।
अल–साराको सरकारले अल्पसंख्यक समुदायको सुरक्षा गर्न असफल भएको यो पहिलोपटक होइन । यसै वर्षको फेब्रुअरी र अप्रिलमा, राष्ट्रिय सेनाले अलाविट समुदायका नागरिकको सामूहिक हत्या गरे । त्यस क्रममा सयौँको मृत्यु भयो । विश्लेषकहरूले बारम्बार अल–सारालाई विश्वास नगर्न चेतावनी दिएका छन् । विशेषत: उनको सरकारले राष्ट्रिय सेनाभित्र विभिन्न मिलिसिया समूहलाई समायोजन गर्ने क्रममा जिहादी गुटलाई संयमित बनाउन असफल भएको देखिन्छ । त्यसैले ती समूह समाजमा समावेशी रूपमा शासन गर्नेभन्दा अल्पसंख्यकको दमन गर्ने वैचारिक प्रतिबद्धताबाट प्रेरित देखिन्छन् ।
सुवेदाको साम्प्रदायिक हिंसाले सिरियाली कुर्दहरूले साराको ‘राज्यनिर्माण’ परियोजनामा एकीकरण हुन किन अस्वीकार गरे भन्ने स्पष्ट पार्छ । अल–सारासँग विविधताको सम्मान हुने सिरिया निर्माण क्षमता वा इच्छाशक्ति नभएको उनीहरू मान्छन् । मार्च २०२५ मा, सिरियन डेमोक्रेटिक फोर्सेस (एसडिएफ)का कमान्डर मजलौम अदीले आफ्नो समूहलाई नयाँ सिरियाली सेनामा विलय गर्ने विवादास्पद सम्झौतामा हस्ताक्षर गरे । तर, जुलाईसम्म आइपुग्दा सो सम्झौता कार्यान्वयनमा गरेको छैन । टर्कीका लागि अमेरिकी राजदूत र सिरियाका लागि विशेष दूत टम बाराकले यस ढिलाइप्रति असन्तुष्टि जनाउँदै एकीकरणमा एसडिएफले देखाएको हिचकिचाहटको सार्वजनिक आलोचना गरे ।
कुनै समय आइएसविरुद्धको युद्धमा संयुक्त राज्य अमेरिकासँग साझेदारी गरेको एसडिएफबारे टिप्पणी गर्दै बाराकले भने, ‘आइएसविरुद्ध उनीहरू हाम्रो साझेदार भएकाले हामी उनीहरूप्रति ऋणी छौँ भन्ने एउटा बलियो भावना छ । प्रश्न, हामीहरू तिनलाई के दिन ऋणी छौँ भन्ने हो । हामी तिनीहरूलाई आफ्नै सरकारबाट अलग अर्को स्वतन्त्र सरकार बनाउने क्षमता दिने गरी स्वतन्त्र छैनौँ,’ बाराकले भने । बाराकका कुटिल कथनले अल–साराको शासनप्रति वासिङटनको बलियो समर्थनलाई संकेत गर्छ ।
एसडिएफको सिरियाली राष्ट्रिय सेनाको विलयले सिरियाली कुर्दहरूमाथि नै अस्तित्वगत खतरा निम्त्याउन सक्छ । हतियारहरू आत्मसमर्पण, उत्तरपूर्वी सिरियामा कुर्दिस स्वशासन त्याग्दा कुर्दहरूले पनि सुवेदाका ड्रुजहरूले जस्तै जिहादी हिंसाको जोखिम भोग्न सक्छन् । तिनकै शंकालाई प्रमाणित गरेसँगै मार्चमा अब्दीसँग सम्झौता भएको केही समयपछि नै अल–साराले सिरियालाई ‘अरब’ गणतन्त्रको रूपमा घोषणा गर्ने संविधानको मस्यौदा अनावरण गरे । यस घोषणाले कुर्दिस पहिचान वा स्वायत्ततालाई मान्यता दिन अस्वीकार गर्ने संकेत गर्यो ।
इजरायलले दमास्कसस्थित सिरियाली रक्षा मन्त्रालयमा हवाई आक्रमण गरेपछि ड्रुजविरुद्धको साम्प्रदायिक आक्रमण केही रोकिएको थियो । लगतै अल–सारा र एर्दोगानले इजरायललाई ‘कानुनहीन, अनियन्त्रित, सिद्धान्तहीन, बिग्रेको, लोभी आतंकवादी राज्य’ भएको आरोप लगाए । टर्कीको रक्षा मन्त्रालयले त्यस समय करिब धम्कीको भाषामा घोषणा गर्यो, ‘यदि सिरियाली अधिकारीहरूले हामीसँग सहयोगको अनुरोध गरे भने, हामी उनीहरूलाई आवश्यक सबै सहयोग प्रदान गर्नेछौँ ।’
अंकाराले यसअघि नै एफडिएफलाई ‘सिरियाको अशान्तिको फाइदा नउठाउन’ चेतावनी दिइसकेको छ । पछिल्ला घटनाक्रमले अल–साराले दाबी गरेको एकता कति कमजोर रहेको देखाउँछ । तर, यसबारेमा कतिपयले सुरुदेखि नै अनुमान गरेका थिए । पूर्वजिहादीहरूले दमन र धर्म परिवर्तनको आफ्नो विचारधारा त्याग्लान् भनेर अपेक्षा गर्नु नै मूर्खतापूर्ण थियो । अमेरिकाले हतारमा यस पूर्वजिहादीहरू नेतृत्वको शासनमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेर गलत गर्यो । अहिले अमेरिकाले सिरियालाई सफलताको कथाको रूपमा प्रस्तुत गर्ने अर्को गल्ती गर्दै छ ।
अल कायदा र आइएससँग सम्बन्धित जिहादी मिलिसियाको हातबाट असदको पतनले युद्धग्रस्त सिरियाली जनतालाई कहिल्यै उज्ज्वल भविष्य ल्याउनेछैन । सिरियालाई खासमा बहुलवादी र स्थिर राज्यनिर्माण गर्न प्रतिबद्ध अन्तर्राष्ट्रिय रूपमा समर्थित संक्रमणकालीन सरकारको आवश्यकता छ । संयुक्तराज्य अमेरिका र युरोपले अन्तर्राष्ट्रिय संस्था र क्षेत्रीय साझेदारसँग सहकार्य गरेर दमास्कसको भावी शासकीय रूपरेखा निर्माण गर्न दबाब दिनुपर्छ, जुन सिरियाली अल्पसंख्यक समुदायको सुरक्षाप्रति प्रतिबद्ध हुनुपर्छ ।
सिनान सिद्दी वासिंटन डिसीस्थित ‘फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसिज (एफडिडी)’का वरिष्ठ फेलो हुन् ।
– नेसनल इन्ट्रेस्टबाट