मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १८ आइतबार
  • Sunday, 03 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १८ आइतबार o८:o६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

माओवादी बैठक : शर्मालाई आत्मालोचना गर्न नेताहरूको सुझाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १८ आइतबार o८:o६:oo

माओवादीका अधिकांश नेताले उपमहासचिव जनार्दन शर्मालाई आत्मालोचना गर्न सुझाव दिएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा धारणा राखेका २५ मध्ये अधिकांश नेताले शर्मालाई आत्मालोचना गरी पार्टीलाई बलियो बनाउने गरी लाग्न सुझाव दिएको एक नेताले बताए । वर्षमान पुन, राम कार्की, गंगानाराण श्रेष्ठ, मातृका यादव, देवेन्द्र पौडेल, खगराज भट्ट, गणेशमान पुन, पूर्ण सुवेदी, कालीबहादुर खाम, अञ्जना विशुंखेलगायतले धारणा राखेका थिए । बैठकमा धारणा राख्न नेताहरूलाई १० मिनेटको समय दिइएको छ ।

शर्माले आन्तरिक असमझदारीका विषयमा बाहिर बोल्दै हिँड्दा पार्टीलाई क्षति हुने भन्दै आत्मालोचना गर्न र असन्तुष्टिका विषय भए पार्टी कमिटीमै राख्न नेताहरूले सुझाव दिएका छन् । शनिबारको बैठकमा पदाधिकारी पाँच, अनुशासन आयोगका अध्यक्ष, स्थायी कमिटीमा १९ सदस्यले धारणा राखेका छन् । अधिकांश नेताले प्रचण्डको विकल्प खोज्ने वेला नभएको बताएका छन् । पार्टीप्रति जनलहर बढ्दै गएको वेला जिम्मेवारी नेताले नै नेतृत्वको आलोचना गर्दा हुने क्षतिप्रति सचेत बन्न उनीहरूको सुझाव छ । नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा गत ६ साउनमा आयोजित कार्यक्रममा शर्माले मनमोहन अधिकारीबाहेक नेपालका बाँकी कम्युनिस्ट नेताले असुली धन्दा चलाइरहेको आरोप लगाएका थिए । सुशासनको पक्षमा खरो उत्रिएको दाबी माओवादी नेतृत्वले गरिरहेका वेला शर्माको सार्वजनिक अभिव्यक्तिप्रति माओवादीका नेता तथा कार्यकर्ताले सार्वजनिक सञ्जालमै विरोध गरेका थिए ।

अघिल्ला बैठकमा प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका खगराज भट्टले समेत शर्माको आलोचना गरेको एक नेताले बताए । राम कार्की, अञ्जना विशुंखेलगायत केही नेताले भने शर्माको पक्षमा धारणा राखेको एक नेताले बताए । बैठकमा प्रस्तुत एजेन्डा र अध्यक्षले राखेको विचारमाथि नेताहरूले धारणा राख्ने क्रम जारी रहेको नेताहरूले बताएका छन् । बैठक आइतबार पनि चल्नेछ ।

शुक्रबार सुरु भएको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा दसबुँदे ब्रिफिङ गर्दै प्रचण्डले आन्तरिक एकता बलियो बनाउँदै पार्टीलाई जगैदेखि बलियो बनाउने काममा केन्द्रित गर्नुपर्ने प्रस्ताव गरेका थिए । ‘पार्टीको आन्तरिक कुरा पार्टीभित्रै गरौँ, बाहिर नलैजाउँ, अहिले सरकार बनाउने र भत्काउने खेलमा होइन, पार्टीलाई जगैदेखि बलियो बनाउने गरी संगठन निर्माणमा केन्द्रित गरौँ,’ प्रचण्डको प्रस्ताव थियो ।

दसैँपछि केन्द्रीय समिति बैठक आयोजना गरेर महाधिवेशनको मिति तोक्ने र त्यसअघि जगैदेखि बलियो बनाउनेगरी पार्टी निर्माण अभियान चलाउनुपर्ने प्रस्ताव प्रचण्डको छ । उनले समाजवादी मोर्चालाई बलियो बनाउने गरी पार्टी लागिपरेको जानकारी दिँदै मोर्चामा रहेका दलहरूभित्र पनि एकताको प्रयास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।