मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Wednesday, 30 July, 2025
२o८२ श्रावण १४ बुधबार o५:५९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साढे ११ महिनापछि सेयर बजार तीन हजार विन्दुमाथि

५० खर्ब नौ अर्ब नाघेर बजार पुँजीकरण हालसम्मकै उच्च, बजार परिसूचकले अझै नयाँ रेकर्ड राख्ने विश्लेषण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार o५:५९:oo

११ महिना १५ दिनपछि सेयर बजार परिसूचक पुन: तीन हजार विन्दु नाघेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.७६ अंक (१.०३ प्रतिशत)ले बढेर तीन हजार २.०७ विन्दु कायम भएको हो । गत वर्ष ३१ साउनमा बजार परिसूचक ती हजार ०.८१ विन्दुमा थियो । तर, सेयर कारोबारीले नाफा बुक गर्न खोज्दा बजार ओरालो लागेको थियो ।

बजार परिसूचक फेरि तीन हजार विन्दुमाथि आएको छ । पछिल्लो समय लगातार बढिरहेको परिसूचकले तीन वर्ष ११ महिना १२ दिनअघि (२ भदौ ०७८) ३१९८.१९ को ‘अल टाइम हाई’ विन्दु पार गर्ने सेयर बजारसम्बन्धी जानकारको दाबी छ । 

बजार उकालो लाग्ने संरचना पहिले नै बने पनि लगानीकर्ताको मनोबल बढ्न नसकेकाले गति नलिएको स्टक ब्रोकर व्यवसायी धर्मराज सापकोटाले जानकारी दिए । उनले बजार अब विगतको उच्चतम विन्दु नाघेरै अघि बढ्नेमा आफू आशावादी रहेको बताए ।

उनले भने, ‘बजार थप बढ्दै जान्छ भन्ने अपेक्षा छ । बजार प्याटर्न पहिलेदेखि बनेको हो । तर, कन्फिडेन्स नभएर बढ्न सकेको थिएन ।’ पछिल्लो समय बजारमा नवप्रवेशी सेयर कारोबारी र विगतमा ‘पर्ख र हेर’मा बसेका लगानीकर्ता पनि अहिले सलबलाउन थालेको उनको भनाइ छ । बजारलाई थप परिपक्व बनाउन भने संस्थागत लगानीकर्ताकै उपस्थिति बढाउनुपर्ने उनको बुझाइ छ । ‘अहिले पनि संस्थागत लगानीकर्तालाई एक वर्षसम्म सेयर बिक्री गर्न दिइँदैन । संस्थागत लगानीकर्ताको उपस्थिति बढाएर बजारलाई परिपक्व बनाउन नीतिगत रूपमै सम्बोधन गर्नुपर्छ,’ उनले भने ।

इन्भेस्टमेन्ट कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बैंक तथा बिमा कम्पनीहरूको उपस्थिति बढाउन सके मात्रै बजारले परिपक्वता हासिल गर्न पाउने उनको भनाइ छ । उनले भने, ‘यस्ता संस्थाहरू सूचीकृत कम्पनीहरूको वास्तविक मूल्यांकन गरेर मात्रै सेयर कारोबार गर्छन् । जसले गर्दा अलिकति बढ्ने र घट्नेबित्तिकै आत्तिएर किनबेच गरिहाल्ने प्रवृत्ति उनीहरूमा हुँदैन । यसले बजारलाई दिगोपना दिन्छ ।’