
युरोपियन महिला युरो २०२५ को उपाधिका लागि आइतबार स्पेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्दै छन् । स्विट्जरल्यान्डको बसेलस्थित सेन्ट जाकोप पार्कमा हुने फाइनलमा स्पेन ऐतिहासिक उपलब्धि हासिल गर्ने योजनामा छ । स्पेन पहिलोपटक फाइनलमा स्थान बनाएको हो । उसले सेमिफाइनलमा सर्वाधिक आठपटकको च्याम्पियन जर्मनीलाई हराएको थियो ।
सन् २०२३ मा विश्व च्याम्पियन भएको स्पेन लगातार दोस्रो ठुलो उपाधि उचाल्ने रणनीतिको साथ मैदान उत्रनेछ । स्पेनको लगातार उत्कृष्ट प्रदर्शनमा ऐटना बोनमती, एलेक्सिया पुटेलास, एस्थल गोन्जालेजजस्ता खेलाडीको साथ छ । गोन्जालेज चार गोल गर्दै उच्च गोलकर्ताको दौडमा अग्रभागमा छिन् ।
दुईपटक बालोन डी ओर जितेकी बोनमती युरोमा पनि दुईपटक प्लेयर अफ दी म्याच घोषित भएन । त्यसैले पनि स्पेनको मनोबल निकै उच्च छ । प्रतियोगितामा स्पेनको प्रदर्शन सुरुबाटै सानदार रह्यो । समूह ‘बी’मा रहेको स्पेनले तीनमध्ये तीनै खेल जितेको थियो । जम्मा १४ गोल गर्न सफल हुँदा तीन गोल मात्रै व्यहोरेको हो ।
यता, इंग्ल्यान्ड लगातार दोस्रोपटक उपाधि उचाल्ने दाउमा छ । पछिल्लोपटक उसले सर्वाधिक सफल टोली जर्मनीलाई हराउँदै पहिलोपटक उपाधि जितेको थियो । टोली चौथोपटक फाइनलमा स्थान बनाएको हो । सेरिना विगम्यानको प्रशिक्षणमा इंग्ल्यान्डले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिहेको छ ।
टोली क्वार्टरफाइनलमा स्विडेन र सेमिफाइनलमा इटालीविरुद्ध अविश्वसनीय जित निकाल्न सफल भएको थियो । टोलीका लागि मिचेल अग्येमाङ, क्लो केली, हान्ना ह्याम्पटनलगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । समूह ‘डी’मा रहेको इंग्ल्यान्ड भने उपविजेताको रूपमा नकआउट चरणमा स्थान बनाएको हो । टोलीले तीनमध्ये दुई खेल जितेको थियो ।
इंग्ल्यान्डकी प्रशिक्षक सेरिनाले विपक्षीलाई सम्मान गरेर खेल्ने बताइन् । उनले लगातार उपाधि जित्न तयार रहेको पनि सुनाइन् । ‘हाम्रो फाइनल प्रतिद्वन्द्वी पनि निकै बलियो छ । हामीले उसलाई सम्मान गर्नुपर्छ,’ सेरिनाले भनिन्, ‘स्पेनिस खेलाडी अत्याधिक बल नियन्त्रणमा राख्छन् । हामीले त्यसलाई बुझेका छौँ । हामी राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छौँ ।’
स्पेनका प्रशिक्षक मोन्टसे टोमले यात्रा निकै अविश्वसनीय रहेको बताउँदै इंग्ल्यान्डलाई नजिकबाट नियालेको बताएका छन् । ‘यो यात्रा निकै अविश्वसनीय रहेको छ । खेलाडीको प्रदर्शनबाट निकै खुसी छु,’ उनले भने, ‘हामीले इंग्ल्यान्डको खेलनजिकैबाट हेरेका छौँ । अध्ययन पनि गरेका छौँ । उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी छु ।’
गोन्जालेजलाई मौका
सर्वाधिक गोलकर्ताको दौडमा स्पेनकी एस्थर गोन्जालेज रहेकी छिन् । अमेरिकी लिग खेलिरहेकी ३२ वर्षीया गोन्जालेजले चार गोल गरेकी छिन् । तीन गोल गर्ने खेलाडीमा इटालीकी क्रिस्टिएना गिरेली र स्विडेनकी स्टिना ब्याकस्टेनिअस छन् । यता, दुई गोल गर्नेमा इंग्ल्यान्डका चार, फ्रान्स र जर्मनीका तीन–तीन, स्पेनका समान दुई खेलाडी रहेका छन् ।
प्लेयर्स टु वाच
ऐटना बोनमती (स्पेन)
बार्सिलोनाकी स्ट्राइकर ऐटना बोनमतीले युरो २०२५ मा दुईपटक प्लेयर अफ दी म्याच अवार्ड पाइसकेकी छिन् । उनी नै फाइनल खेलमा सबैको नजरमा पर्नेछिन् । स्पेन र बार्सिलोनाबाट उत्कृष्ट प्रदर्शन गरिरहेकी बोनमतीले दुईपटक बालोन डी ओर अवार्ड जितिसकेकी छिन् । टोलीलाई सन् २०२३ मा विश्व च्याम्पियन बनाएकी बोनमती युरोको उपाधि पनि जिताउने अभियानमा छिन् । जर्मनीविरुद्धको महत्वपूर्ण सेमिफाइनलमा निर्णायक गोल गरेकी बोनमतीबाट स्पेनले ठुलो आशा गरेको छ ।
क्लो केली (इंग्ल्यान्ड)
१५ वर्षदेखि इंग्ल्यान्डको विभिन्न उमेर समूहबाट खैल्दै आएकी क्लो केलीले सिनियर टिमबाट मात्रै ५८ खेल खेलिसकेकी छिन् । लन्डनकी २७ वर्षीय फरवार्डका लागि यो सुनौलो अवसर रहेको छ । इंग्ल्यान्डलाई लगातार दोस्रोपटक युरोको फाइनलमा पुर्याउन सफल भइन् । अब, उनको एउटै सपना दोस्रोपटक उपाधि जित्ने हो । त्यसैले पनि केलीमाथि प्रशिक्षक सेरिनासहित पूरा इंग्ल्यान्डले आशा र भरोसा गरेको छ । क्लो केलीकै उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले सेमिफाइनलमा इटालीसँग अविश्वसनीय कमब्याक गरेको थियो ।