मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १० शनिबार
  • Saturday, 26 July, 2025
नयाँ पत्रिका तुलसीपुर
२o८२ श्रावण १० शनिबार १६:oo:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकलमा डोको जोडेर तरकारी बेच्ने ‘धनराज’ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, तुलसीपुर
नयाँ पत्रिका
२o८२ श्रावण १० शनिबार १६:oo:oo

मोटरसाइकलको पछाडि जोडिएका दुई वटा डोको । त्यही मोटरसाइकल र डोकोबाट चलेको छ, दाङ तुलसीपुर उपमहानगरपालिका–४ माथिल्लो हलवारी निवासी धनराज बुढाथोकीको दैनिकी । उनले मोटरसाइकलमा जोडिएका डोकोमा तरकारी बोक्छन् । गाउँ–गाउँ अनि बजारमा लिएर बेच्छन् । 

आफैँले उत्पादन गरेको तरकारी विगत १० वर्षदेखि यसरी नै बजारमा बिक्री गर्दै आएको उनले बताए । ‘मैले १० वर्ष भयो तरकारी खेती गरेको’, उनले भने, ‘यही तरकारी मोटरसाइकलको पछाडि जोडिएको डोकोमा लगेर बजार बिक्री गर्दै आएको छु, यसले नै घर खर्च धानेको छ ।’

हरेक दिन बिहान ५ बजे उठेर उनले काँक्रा र बोडी गाउँ गाउँमा लिएर बेच्छन् । उनी तरकारी बिक्री गर्न खाद्रे, बनहरी, तल्लो ग्वारखोला, मथिल्लो ग्वारखोला, कपडादेवी, मोतिपुर, राजापुरसम्म पुग्छन् । अहिले उनको दैनिकी यसरी नै बितिरहेको छ । 

अहिले दैनिक पाँच क्वीन्टल तरकारी र काँक्रा बिक्री गर्ने गरेको उनको भनाइ छ । ‘विगतका वर्षमा दैनिक सात/आठ क्वीन्टलसम्म बिक्री गर्थे’, उनले भने, ‘यसवर्ष त्यति बजार पाएको छैन, त्यही पाँच क्वीन्टलसम्म बिक्री गर्ने गरेको छु ।’

उनले बोडीलाई ५० किलो रुपैयाँमा बिक्री गर्दै आएका छन्, भने काँक्रा एक सय रुपैयाँमा साढे दुई केजी बिक्री गर्दै आएका छन् । बोडी र काँक्राको सिजन असारदेखि साउनको अन्तिमसम्म रहन्छ ।

जसमा बोडी एक सिजनमा दुई लाख रुपैयाँसम्मको कारोबार हुन्छ भने काँक्रा पाँच लाख रुपैयाँ सम्म कारोबार हुन्छ । यसमा खर्च कटाएर चारदेखि पाँच लाख रुपैयाँसम्म एक सिजनमा आम्दानी हुने गरेको उनले बताए ।  

अब बोडी र काँक्राको सिजन सकिनै थालेको भन्दै टमाटरखेती गर्ने तयारी गरेको उनले बताए । वैशाखमा रोपिएका काँक्राले असार र साउनमा आम्दानी दिने र साउनमा रोपिएको टमाटरले कात्तिकदेखि चैतसम्म आम्दानी दिने बताए । यसरी वर्षमा दुई सिजनमा तरकारी खेती गरेर आम्दानी लिने गरेको उनले बताए ।