
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष ०८१/८२ मा सम्पन्न गरेका कार्यक्रम एवं आगामी आर्थिक वर्ष ०८२/८३ का प्रमुख कार्यक्रमहरू सार्वजनिक गरेको छ । पदबहाली गरेको एक बर्ष पुगेको अवसरमा स्वास्थ्य मन्त्री किरण थापाले २१ प्रकारका आयुर्वेदिक औषधि उत्पादनदेखि प्रदेश स्तरीय अस्पतालहरुको स्तरोन्नतिसम्मको काम गरेको जानकारी गराए । उनले गुणस्तरीय, अत्याधुनिक र दिगो स्वास्थ्य सेवा विस्तारमा आफुले प्रयास गरेको दावी गरे ।
‘प्रदेशको स्वास्थ्य प्रणालीमा भएको सीमितता र पहुँचको अभावलाई हटाउँदै नीतिगत सुधार सेवा सुदृढीकरण, पूर्वाधार विस्तारलगायतको कामलाइ निरन्तरता दिँदे आएका छौं, उनले भने, ‘आम जनताले महसुस गर्नेगरी सेवा दिन कुनै कसर बाँकी राखेका छैनौं ।’
स्वास्थ्य मन्त्रालयका काम चुस्त बनाउन प्रदेश स्वास्थ्य सेवा ऐन, मदन भन्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ऐन संसोधन गरी प्रकृया अगाडि बढाएको उनले जानकारी दिए । स्वास्थ्य संस्था सञ्चालन, सेवा स्तरोन्नति, नवीकरण तथा अनुमति प्रणालीलाई व्यवस्थापन गर्न नियमावली तथा मापदण्डहरू बनाइएर अनलाइन प्रणालीबाट काम सुरु भएको उनको भनाई छ ।
मन्त्री थापाले बागमती प्रदेश सरकारले रसुवा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोकजस्ता दुर्गम जिल्लाहरूमा विशेषज्ञ चिकित्सक प्रोत्साहनसहित परिचालन गरेको बताए । ‘अब जनताले विशेषज्ञ सेवाका लागि काठमाडौं धाउनु पर्दैन, बिषेशज्ञ डाक्टरसहित सेवा प्रदेश अस्पातलमा पुग्नेछ ।’ उनले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी–एक घण्टा मेरो लागि’ अभियान, ‘एक जिल्ला, एक स्वस्थ सहर’ र ‘एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था’ कार्यक्रम प्रदेशभर सुरु गर्ने तयारी भइरहेको जानकारी दिए ।
११ प्रकारका औषधि उत्पादन गर्दै आएको प्रदेश सरकारले २१ प्रकारका आयुर्वेद औषधिहरू उत्पादन र वितरण गर्दै वैकल्पिक चिकित्सा प्रवद्र्धन थालेको मन्त्री थापाले बताए । उनका अनुसार नुवाकोट र चितवनमा विशेषज्ञ आयुर्वेद सेवा विस्तार गरी अन्तरङ्ग सेवा समेत सुरु भइसकेको र अन्य स्थानमा सुरु गर्ने तयारी भइरहेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस, बिएमएलटी, बिएएसी नर्सिङ, बिफर्मा, एमडी लगायतका बिषय पढाइको तयारी पुरा भएको मन्त्री थापाको दावी छ ।
यस्तै हाल मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल र भक्तपुर अस्पतालमा ३०० शैया, सिन्धुली, धादिङ, नुवाकोटमा १०० शैया, रामेछाप, दोलखा, सिन्धुपाल्चोकमा ५० शैया, रसुवा, टोखा, बज्रबाराहीमा २५ शैयामा अस्पताल सञ्चालन भइरहेको र सबै अस्पतालहरुमा इएमआर इएचआर एमएसएस सेवा मापदण्ड, क्लिनिकल अडिट र डिजिटल सेवा प्रणाली लागू गर्ने काम अन्तिम चरणमा पुगेको बताए ।
प्रदेशका विभन्न स्थानमा रहेका बर्थिङ सेन्टरहरूको सशक्तीकरणसँगै गर्भवती र सुत्केरीको हवाइ उद्धार कार्यक्रमलाई निरन्तरता दिनुका साथै अटिजम, थालसेमिया, सेरेब्रल पाल्सी, हेमोफिलिया लगायतका अनुवांशिक रोगहरूको निःशुल्क उपचारका लागि पनि प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए । त्यस्तै, विपन्न, अपाङ्ग, लोपोन्मुख जाति र महिला स्वास्थ्य स्वयंसेविकाका लागि बीमा र सम्मान कार्यक्रम निरन्तर जारी राखेको मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले जानकारी दिइन् । उनले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गत हेटौँडा अस्पतालमा मुटु रोग उपचार सेवा सुरु हुनुका साथै भक्तपुरमा मस्तिष्क रोगसम्बन्धी सेवा विस्तार सुरु गर्न लागिएको जानकारी गराइन् ।