
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र पुष्पलता सहोदर दाजु–बहिनी हुन् । १९८१ असार १५ गते जन्मिएका पुष्पलालको आजभन्दा ४७ वर्षअघि निधन भएको थियो । पुष्पलालको योगदानको नेपाली कम्युनिस्टले आज पनि चर्चा गर्छन् । उनै पुष्पलालको बाल्यकाल र पारिवारिक सम्बन्ध कस्तो थियो ? रामेछाप भँगेरी, जहाँ पुष्पलालको जन्म भएको थियो, त्यहीँका (हाल काठमाडौं) रमेशबाबु श्रेष्ठले पुष्पलालकी सहोदर बहिनी पुष्पलतासँग कुराकानीको प्रबन्ध मिलाइदिए । माइला दाइ (पुष्पलाल)को स्मृति दिमागमा ताजै छ नि भनेर सोध्दा ९५ वर्षीया पुष्पलताले ‘उमेरसँगै धेरै कुरा बिर्सन थालेको छु, सम्झेजति स्मरण गर्ने प्रयास गर्छु’ भनिन् । पुष्पलतासँग प्रेम गौतमले गरेको कुराकानीको सम्पादित अंश ।
बुबा भक्तलाल श्रेष्ठ सरकारी जागिरे (सुब्बा) हुनुहुन्थ्यो । दुइटी आमाको गरेर हामी १६ जना (आठ–आठ) सन्तान थियौँ । माइला दाइ (पुष्पलाल)को जन्म रामेछापको भँगेरीमा भएको हो । बुबा सरकारी सेवामा भएकाले हामीले पढ्ने मौका पायौँ । पछि गाउँबाट हाम्रो परिवार काठमाडौं आयो । हामी गणेशस्थानछेउको प्याफल टोलमा बस्थ्यौँ ।
हाम्रो लामो घर थियो । घरको बरन्डामा खेल्थ्यौँ । विजयलाल र म सानामा काँचको चुरा फुटाउने, गुच्चा खेल्ने आदि गथ्र्यौं । माइला दाइले चुराले काट्ला है नानीचा भन्नुहुन्थ्यो । उहाँले मलाई मायाले नानीचा भनेर बोलाउनुहुन्थ्यो । चुरा फुटाएर कसले धेरै जम्मा गर्ने भन्दै हामी खेल्थ्यौँ । खेल्न बाहिर धेरै जाँदैनथ्यौँ । बढीचाहिँ हामी गुच्चा खेल्थ्यौँ । मेरो गुच्चालाई उसले ठोक्ने, उसको गुच्चालाई मैले ठोक्ने । जसले धेरै ठोक्काउन सक्यो, उसले जित्ने भन्ने हुन्थ्यो । हामीले गुच्चा धेरै खेल्यौँ । विजयलालले कहिलेकाहीँ झेली गथ्र्यो । माइला दाइले चाहिँ ‘झेली गर्नुहुन्न है’ भन्नुहुन्थ्यो । माइला दाइले काखमा राख्नुहुन्थ्यो, धेरै माया गर्नुहुन्थ्यो । हामीभन्दा धेरै ठुलो भएकाले माइला दाइले हामीसँग त्यति धेरै खेल्नुभएन । उहाँले हाम्रो हेरचाह र मायाचाहिँ औधि गर्नुभयो । शिष्ट, सभ्य हुनुहुन्थ्यो ।
दाइबाट आमाको माया
हामी सानै हुँदा आम बित्नुभयो । आमाको त्यति स्मरण पनि छैन मलाई । त्यसैले मेरा दाइदिदीले धेरै माया गरेर हुर्काउनुभयो । हामीलाई अति नै माया गर्नुहुन्थ्यो । विजयलाल र म सबैभन्दा साना थियौँ । त्यसैले सबै दिदी र दाजुले हामीलाई अति माया गर्नुहुन्थ्यो । आमाको समेत माया दिनुभयो । माइला दाइले अझ धेरै माया गर्नुहुन्थ्यो । उहाँले मलाई ‘नानीचा राम्रो पढ है’ भन्नुहुन्थ्यो । आमाले दु:ख नदिनू, सुखसाथ राख्नू भन्नुहुन्थ्यो रे !
माइला दाइले पाटन हाइस्कुलमा पढ्नुभयो । आमा बितेपछि घरबाट स्कुलमा दाइहरूलाई लिन पठाएको सम्झना छ । त्यतिवेला आमालाई तल छिँडीमा राखिएको थियो । मलाई चाहिँ भर्याङमा राखेर कचौरामा दिदीले भात खुवाउनुभएको थियो । पाटन हाइस्कुलपछि माइला दाइ त्रिचन्द्र कलेजमा भर्ना हुनुभयो । त्यतिवेला पुस्तकका साथै पत्रिका पनि ल्याएर पढ्नुहुन्थ्यो । हामीलाई पनि राम्रो पढ्नू भन्नुहुन्थ्यो । उहाँले हामीलाई जहिले सम्झाउनुहुन्थ्यो । धेरै पढ्नुपर्छ भन्नुहुन्थ्यो ।
निकै अनुशासित, परिश्रमी र स्वाभिमानी हुनुहुन्थ्यो । पहिला फोटो खिच्ने चलन थिएन । फोटो भएको भए अहिले ती पल झनै ताजा हुन्थ्यो ।
आमा बितेपछि मेरो हेरचाह दिदी र दाइहरूले नै गर्नुभयो । दाइदिदीले नै पढाइमा सहयोग गर्नुभयो । पाटनमै स्कुल पढेँ, त्यसपछि त्रिचन्द्र कलेजमा कमर्श पढेँ । त्यतिवेला त्रिचन्द्र कलेजमा कमर्स पढ्ने म एक्ली छात्रा थिएँ । मलाई केहीकेहीले कस्तो व्यापार गर्न पढेको पनि भन्थे ।
दाइ अचानक हराउनुभो
बिचमा माइला दाइ एक्कासि हराउनुभयो, पढ्न जानुभयो कि काम गर्न थाहा भएन । हामी त एक हिसाबले आत्तिएका थियौँ । सुरुमा त केही पनि भन्नुहुन्थेन, पछि चाहिँ ‘ठुलो दाइ (गंगालाल श्रेष्ठ) को सपना पूरा गर्नु छ’ भन्नुहुन्थ्यो । राजनीतिक कारणले भूमिगत भएको कुरा पछि मात्रै हामीले थाहा पायौँ । उहाँले नबिराउनू, नडराउनू भन्नुहुन्थ्यो । राम्रो गर्नू, राम्रोसँग बस्नू भन्नुहुन्थ्यो । छोराहरूलाई राम्रो पढाउनू भनिरहनुहुन्थ्यो ।
माइला दाइ बिचमा एक दिन राति ढोका ढकढकाएर अचानक आउनुभयो । मैले छोरालाई काखमा बोकेर राखेको थिएँ । ‘तिम्रो छोरा कस्तो राम्रो, कति गोह्रो’ भन्दै माइला दाइले ‘डाक्टर, इन्जिनियर बनाउनू’ भन्नुभयो । केही समय बसेर गइहाल्नुभयो । बल्लबल्ल भेट भएको दाइलाई मिठोमसिनो खुवाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो, फलफूल, मासु मन पर्ने उहाँलाई । दाइलाई खुवाउन पनि पाइएन, कहिलेकाहीँ आउने गर्नुहुन्थ्यो, फेरि एकै छिनमा हिँडिहाल्नुहुन्थ्यो । लुकिछिपी हिँड्नुहुन्थ्यो । सामान्य लुगा लगाउनुहुन्थ्यो । कहिलेकाहीँ मात्रै हाम्रो भेट हुन्थ्यो । अहिलेको जस्तो फोन पनि थिएन । दाइले भनेअनुसार नै मैले एउटा छोरालाई डाक्टर र अर्को छोरालाई इन्जिनियर बनाएँ । तर, छोराहरू डाक्टर र इन्जिनियर बनेको दाइलाई देखाउन पाइनँ । मलाई जहिले भेटे पनि ‘हेर तिम्रो छोराहरू कस्तो राम्रो छ । राम्रो पढाऊ है’ भन्नुहुन्थ्यो ।
वनारसमा भाइपूजा
माइला दाइ इन्डिया जानुभयो । मैले वनारस गएर एकपटक दाइलाई भेटेँ । त्यही भाइपूजा पनि गरेँ । दाइहरूले एउटा ठुलो घर लिनुभएको रहेछ । त्यहाँ विद्यार्थीहरू मात्रै बस्नुहुन्थ्यो । बुढीआमा एकजना हुनुहुन्थ्यो, सायद घरधनी हुनुहुन्थ्यो होला ।
अहिले नेपालमा गाह्रो छ, यहीबाट काम गर्नुपर्नेछ भन्नुहुन्थ्यो । उहाँले पार्टी खोल्नुभएछ, हामीलाई थाहा थिएन । पछि नेपाल फर्किनुभयो । परिवारभन्दा माथि उठेर देशको बारेमा सोच्नुपर्छ भन्नुहुन्थ्यो । उहाँले सबैलाई मानसम्मान गर्नुहुन्थ्यो, उहाँलाई पनि सबैले माया गर्नुहुन्थ्यो ।
उहाँबारे कुरा गर्दा श्रद्धा लाग्छ । उहाँले सोचेका धेरै कुरा हुन पाएनन् । कतिपय कुरा भए पनि उहाँले देख्न पाउनुभएन ।
दाइले साहना प्रधानसँग बिहे गर्नुभयो । बाजा बजाएर बिहे गरेको होइन, सिम्पल बिहे थियो । माइला दाइले भाउजूलाई बिहेअघि नै राम्रोसँग चिन्नुहुन्थ्यो । बिहेको कुराचाहिँ घरपरिवारले चलाएको थियो । घरपरिवार, समाज सबैलाई बराबरी ठान्नुहुन्थ्यो ।
माइला दाइ इन्डियामा बिरामी पर्नुभयो भन्ने खबर एक्कासि पायौँ । त्यसपछि हामी उहाँलाई भेट्न गयौँ । उहाँ उतै बित्नुभयो । अस्तुचाहिँ नेपाल ल्याइएको थियो ।
निष्ठावान्–मिलनसार
माइला दाइ एकदमै निष्ठावान् हुनुहुन्थ्यो । उहाँले कहिल्यै व्यक्तिगत कुरा गर्नुभएन । दाजुभाइ, दिदीबहिनीका साथै छरछिमेकको बारेमा पनि चिन्ता गर्नुहुन्थ्यो । हामी खेल्ने क्रममा कहिलेकाहीँ झगडा परे पनि माइला दाइलाई भन्थ्यौँ । उहाँले हाम्रो झगडा मिलाइदिनुहुन्थ्यो । उहाँ साह्रै मिलनसार पनि हुनुहुन्थ्यो । घरपरिवार, समाज सबैलाई प्रभावित गर्न सक्ने क्षमता उहाँमा सानैदेखि थियो । उहाँ संवेदनशील पनि हुनुहुन्थ्यो । ‘कसैले पनि अन्याय, अत्याचार गर्नुहुँदैन र सहनु पनि हुँदैन’ भन्नुहुन्थ्यो । हामीलाई उहाँप्रति आशा र भरोसा लाग्थ्यो । नराम्रो गर्नु हुन्न है भन्नुहुन्थ्यो । राम्रो गरेपछि डराउनुपर्दैन पनि भन्नुहुन्थ्यो । उहाँको त्यो कुराले हामीमा आत्मविश्वास बढायो, जिन्दगीमा कोहीसँग पनि डराइएन । अहिले पनि डर लाग्दैन ।