
स्विट्जरल्यान्डमा अहिले महिलातर्फको युरोपियन च्याम्पियनसिप (युरो) २०२५ चलिरहेको छ । युरो २०२५ मा अब एक खेल फाइनल मात्र बाँकी छ । इंग्ल्यान्ड लगातार दोस्रो र स्पेन पहिलोपटक उपाधि भिडन्तमा पुगेका हुन् । इंग्ल्यान्ड प्रतियोगिताकै साबिक विजेता हो । युरोको सर्वाधिक आठपटकको च्याम्पियन जर्मनीलाई हराउँदै स्पेनले पहिलोपटक अन्तिम दुई स्थान रक्षा गरेको हो । सन् २०२३ मा फिफा विश्वकपपछि स्पेन लगातार दोस्रो ठुलो उपाधि उचाल्ने योजनामा छ । लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको इंग्ल्यान्ड उपाधि रक्षा गर्ने योजनाका साथ अगाडि बढिरहेको छ । स्विट्जरल्यान्डमा आइतबार स्पेन र इंग्ल्यान्डबिच फाइनल खेल हुनेछ । प्रतियोगितामा युरोपका १६ टोलीबिच प्रतिस्पर्धा भएको हो । अहिलेसम्म प्रतियोगितामा १०४ गोल भएका छन् । रंगशालामा ६२ लाख २३ हजारले प्रत्यक्ष रूपमा खेल हेरेका छन् । इंग्ल्यान्ड र स्पेनलाई उपाधि भिडन्तमा पुर्याएका ६ मुख्य खेलाडी यस्ता छन् :
ऐटना बोनमती (स्पेन)
स्पेनिस क्लब बार्सिलोनाकी स्ट्राइकर बोनमती चालू संस्करणमा उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् । दुई वर्षअघि स्पेनलाई विश्वकप दिलाएकी उनले युरो उपाधि दिलाउने योजनासहित मैदानमा छिन् । यसपटक उनी दुई खेलमा म्यान अफ दी म्याच भइसकेकी छिन् । प्रतियोगिताको सेमिफाइनलमा स्पेनले कडा प्रतिद्वन्द्वी जर्मनीविरुद्ध प्रतिस्पर्धा गरेको थियो । जर्मनीविरुद्ध बोनमतीको निर्णायक गोलसँगै स्पेन फाइनलमा पुग्यो । बराबरीतर्फ अग्रसर भइरहेको प्रतिस्पर्धामा उनले अतिरिक्त समयमा विजयी गोल गरेकी थिइन् । बोनमतीको यो गोल विशेष रह्यो । उनकै गोलमा स्पेनले इतिहासमै पहिलोपटक जर्मनीलाई स्तब्ध मात्र बनाए, फाइनल स्थानसमेत पक्का गर्यो । २७ वर्षीया बोनमतीले क्वार्टरफाइनलमा आयोजक स्विट्जरल्यान्डविरुद्ध २–० को जित निकाल्दा म्यान अफ दी म्याच अवार्ड जितेकी थिइन् । उनले स्पेनबाट दुई सयभन्दा बढी खेल खेलेकी छिन् ।
मिचेल अग्येमाङ (इंग्ल्यान्ड)
तीन महिनाअघिसम्म पनि मिचेलले युरो २०२५ खेल्ने अनिश्चितजस्तै थियो । इंग्ल्यान्डले मिचेललाई कुन पोसेसनबाट खेलाउने भन्ने द्विविधामा थियो । तर, डी–बक्सभित्र छिटो र छरितो रूपमा प्रवेश गरी गोल गर्न सक्ने क्षमता भएकी मिचेललाई प्रशिक्षक सेरिना विगम्यानले वाइल्ड कार्डका रूपमा अवसर दिइन् । १९ वर्षीया मिचेल प्राप्त अवसरलाई खेर नफाल्ने स्वभावकी हुन् । यसको उदाहरण उनले इटालीविरुद्धको सेमिफाइनलमा देखाइन् । निर्धारित ९० मिनेटसम्म इंग्ल्यान्ड इटालीसँग ०–१ ले पछि परेको थियो । खेलमा ६ मिनेटको अतिरिक्त समय थप भयो । यसै समयमा मिचेलले आफ्नो जादुमयी खेल देखाउँदै इंग्ल्यान्डलाई १–१ को बराबरीमा ल्याइन् । उनले खेलको ७०औँ मिनेटमा मात्र मैदानभित्र प्रवेश गर्न पाएकी थिइन् । इटालीविरुद्ध इन्जुरी समयमा २–१ को जित निकाल्दा इंग्ल्यान्डका लागि मिचेल गोलनायक भइन् । इन्जुरी समयमै असम्भव गोल गरी उनले इंग्ल्यान्डलाई लगातार दोस्रोपटक युरो २०२५ को फाइनलमा पुर्याइन् । यसै खेलबाट इंग्ल्यान्डले युवा खेलाडीका रूपमा स्टार पायो । चार वर्षअघिसम्म इंग्ल्यान्ड टोलीमा उनी ‘बल गर्स’ थिइन् । इटालीविरुद्धको सेमिफाइनलको प्रदर्शनपछि उनी अहिले विश्वकै चर्चित खेलाडीका रूपमा अगाडि बढेकी छिन् ।
एलेक्सिया पुटेलास (स्पेन)
स्पेनको फाइनल यात्रामा अट्याकिङ मिड फिल्डर एलेक्सियाले सर्वाधिक तीन गोल गरेकी छिन् । उनले समूह ‘बी’मा बेल्जियमविरुद्ध दुई तथा पोर्चुगलविरुद्ध एक गोल गरेकी थिइन् । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएकी एलेक्सिया ‘क्याटलान’की हुन् । उनी स्पेनकै एक अनुभवी खेलाडीमध्येकी हुन् । दुई वर्षअघि अस्ट्रेलियामा पहिलोपटक स्पेनलाई विश्व च्याम्पियन बनाएकी ३१ वर्षीया एलेक्सियाले विश्वकपछि अर्काे ठुलो उपाधि जित्ने योजनामा छिन् । उनले स्पेनबाट एक सय अन्तर्राष्ट्रिय खेल खेलेकी छिन् । व्यावसायिक रूपमा उनले बार्सिलोनाबाट तीन सयभन्दा बढी खेल खेलेकी छिन् । पारिवारिक पृष्ठभूमि बास्केटबल खेलाडी भए पनि उनले फुटबल नै रोजेकी हुन् । सन् २०१५ मा व्यवसाय प्रशासन र व्यवस्थापनमा उनले डिग्री हात पारेकी थिइन् ।
क्लो केली (इंग्ल्यान्ड)
इंग्ल्यान्डलाई लगातार दोस्रोपटक युरो २०२५ को फाइनलमा पुर्याउन केलीले महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । इटालीविरुद्ध सेमिफाइनलमा लगभग हारको नजिक पुगेको इंग्ल्यान्डका लागि उनले प्ले मेकिङ भूमिका निर्वाह गरेकी थिइन् । इटाली सेमिफाइनलबाट बाहिरिनुपछाडि उनको प्रदर्शन पनि महत्वपूर्ण मानिएको थियो । लन्डनकी २७ वर्षीया स्ट्राइकर केलीले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट ५८ अन्तर्राष्ट्रिय खेल खेलेकी छिन् । इंग्ल्यान्डको यू–१५ देखि हरेक उमेर समूहबाट उनले प्रतिस्पर्धा गर्न अवसर पाएकी छिन् । व्यावसायिक रूपमा उनी म्यानचेस्टर सिटी, एभर्टन हुँदै आर्सनल पुगेकी छिन् । यसै सिजनमा उनी आर्सनलमा आबद्ध भएकी हुन् ।
एस्थर गोन्जालेज (स्पेन)
युरो २०२५ मा अब एक खेल मात्र बाँकी छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताका रूपमा गोन्जालेज शीर्ष स्थानमा छिन् । उनले अहिलेसम्म प्रतियोगितामा चार गोल गरेकी छिन् । उनका सहकर्मी एलेक्सियासँगै इटालीकी क्रिस्टियना गिरेली र स्विडेनकी स्टिना ब्याकस्टेनीले समान तीन गोल गरेका छन् । ३२ वर्षीया अनुभवी खेलाडी गोन्जालेज अमेरिकी महिला लिग टोली गोथामबाट खेलिरहेकी छिन् । यसअघि उनी स्पेनको रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडबाट खेलेकी थिइन् । स्पेनिस क्लबपछि उनी सन् २०२३ मा अमेरिका पुगेकी हुन् । अमेरिकन क्लबमा उनले दुई वर्षको सम्झौता गरेकी छिन् । स्पेनबाट उनले ५० अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छिन् ।
हान्ना ह्याम्पटन (इंग्ल्यान्ड)
इंग्ल्यान्डको बलियो पक्ष भनेको डिफेन्स लाइन हो । यसमा पनि गोलपोस्ट अझ बलियो मानिन्छ । ह्याम्पटनले लगातार गोलपोस्टमा उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् । इंग्ल्यान्डले लगातार दोस्रोपटक फाइनलमा स्थान बनाउँदा उनको उत्कृष्ट प्रदर्शन पनि मुख्य मानिएको छ । प्रतियोगितामा पहिलोपटक फाइनल स्थान रक्षा गरेको स्पेनको बलियो पक्ष फिनिसिङ हो । ह्याम्पटनले स्पेनको यसै फिनिसिङ तोड्ने विश्वास गरेकी छिन् । प्रशिक्षक सेरिनाले प्रतियोगिताभर चेल्सीबाट व्यावसायिक फुटबल खेलिरहेकी २४ वर्षीया गोलरक्षक ह्याम्पटनलाई पहिलो रोजाइमा खेलाएकी छिन् । क्वार्टरफाइनलमा इंग्ल्यान्ड एक समय स्विडेनसँग २–० ले पछि थियो । इंंग्ल्यान्डले कमब्याक गर्दै पेनाल्टीमा जित निकाल्दा उनी नै नायक बनिन् । उनले स्विडेनका दुई प्रहार रोकेकी थिइन् । २२ वर्षको उमेरमै एस्टोन भिल्लाबाट चेल्सी पुगेकी ह्याम्पटनले इंग्ल्यान्डबाट दुई दर्जन खेल खेलेकी छिन् ।
उनले पाँच वर्षको उमेरमा स्पेनिस क्लब भिल्ला रियल एकेडेमीबाट फुटबलको प्रशिक्षण लिएकी थिइन् ।
(एजेन्सीको सहयोगमा)