मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १० शनिबार
  • Sunday, 27 July, 2025
आनन्द कोचुकुडी
२o८२ श्रावण १० शनिबार o९:२o:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बिहारका ‘अजातशत्रु’को सत्तायात्रामा लाग्न सक्छ ब्रेक

Read Time : > 3 मिनेट
आनन्द कोचुकुडी
नयाँ पत्रिका
२o८२ श्रावण १० शनिबार o९:२o:oo

गत वर्षको अगस्टमा एक पुस्तक विमोचन कार्यक्रममा बिहारका तत्कालीन राज्यपाल राजेन्द्र अर्लेकरले मुख्यमन्त्री नितीश कुमारलाई अनौँठो तरिकाले वर्णन गरेका थिए– ‘अजातशत्रु’, जसको अर्थ हो शत्रु नभएको व्यक्ति । बिहारको राजनीतिका मूल मियो नितीश साँच्चै नै विपक्षीसँग पनि सौहार्द्धपूर्ण सम्बन्ध राख्छन् । ‘उनले सकभर विपक्षीलाई आँच आउने शब्द प्रयोग गर्दैनन्’, अर्लेकरले त्यतिवेला भनेका थिए, ‘नितीश कसैको विरुद्धमा कुनै शत्रुता राख्दैनन् ।’

आज फर्केर हेर्दा यो कुरा दुई दशकदेखि बिहारमा सत्ताको चाबी बोकेका (नौ महिनाको छोटो अवधिबाहेक) व्यक्तिको हकमा अहिले पनि यो सत्यसाबित हुन सक्छ । र, यसै वर्षको अन्त्यमा हुने विधान सभा चुनावपछि पनि शक्तिमा रहने अनुमान गरिएको छ । उमेरले कुनै बाधा बन्ने वाला छैन । ७४ वसन्त पार गरे पनि उनी बिहारमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)का किङमेकर हुन् ।

त्यसो त नितीशले विगत दुई दशकमा थुप्रै उतारचढाव सामना गर्नुपर्‍यो । पाँच वर्षअघि नितीशले ठुलो धक्का खानुपरेको थियो । एउटा आश्चर्यजनक झट्कामा उनको जनता दल (युनाइटेड) २४३ सिट भएको बिहार विधान सभामा ४३ सिटमा खुम्चियोे । तर, त्यही सिट उनलाई सम्पूर्ण कार्यकालका लागि मुख्यमन्त्री पदमा रहन काफी बन्यो । पहिले भारतीय जनता पार्टी (भाजपा), त्यसपछि राष्ट्रिय जनता दल र फेरि भाजपाकै सहयोगमा उनी मुख्यमन्त्री बन्न सफल भए । नितीशले बिहारको राजनीतिमा सधैँ युटर्न मारेका छन् । उनी दुनियाँलाई चक्मा दिँदै कित्ता बदलिरहन्छन् । पटक–पटक गठबन्धन परिवर्तन गरेर मुख्यमन्त्री बन्न सफल नितीशलाई धेरैले ‘पल्टुराम’ भनेर खिसीट्युरी गर्छन् । पदमा बसिरहनुपर्ने उनको स्वभावका कारण विरोधीले उनलाई ‘कुर्सीकुमार’ पनि भन्छन् । तर, जसले जे भने पनि उनी आफ्नो स्वभावअनुसार अगाडि बढिरहन्छन् ।

एनडिएमा उनको दबदबासँगै लोकसभामा जनता दल (युनाइटेड)का १२ सांसद भाजपाको २४० सिटका लागि महत्वपूर्ण बनेका छन् । उनको पद त्यतिवेलासम्म सुरक्षित हुन्छ जबसम्म विपक्षीहरूको मोर्चा भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (आइएनडिआइए)ले सबै बाधा छिचोलेर जित हासिल गर्न सक्दैन ।

एनडिएमा बढ्दो माहोल
पछिल्लो समय बिहारमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)मा माहोल बढ्दो छ । परिस्थिति हेर्दा अपरेसन सिन्दुर (पाकिस्तानविरुद्ध भारतीय हमला) र केन्द्र सरकारले जातीय जनगणनाको घोषणापछि भाजपा नेतृत्वको एनडिएको भविष्य उज्ज्वल छ । बिहारमा क्षेत्रीय दलहरूसहितको महागठबन्धनको चर्चा पनि छ । तर, समस्या यो हो कि समाजवादी पार्टी, बहुजन समाज पार्टीलगायतका क्षेत्रीय राजनीतिक दल मिलेर बनेको ‘महागठबन्धन’ नाम मात्रको हो । यसलाई मुस्लिम क्षेत्रबाहिर आफ्नो आधार विस्तार गर्न हम्मेहम्मे परेको छ । 

अपरेसन सिन्दुरपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मे २९ मा पटनामा एक विशाल सडक प्रदर्शन आयोजना गरे । यो विगत पाँच महिनामा मोदीको तेस्रो भ्रमण थियो । कंग्रेस नेता राहुल गान्धी पनि पछिल्लो समयमा बिहारमा अलि बढी सक्रिय हुन थालेका छन् । उनका नजिकका सहयोगी कृष्ण अल्लावरुलाई कांग्रेसको महासचिवको रूपमा नियुक्त गरेपछि र दलित नेता राजेश कुमारलाई नयाँ राज्य प्रमुखको रूपमा मनोनीत गरेसँगै उनको चुरिफुरी हेर्नलायक देखिन्छ । कन्हैया कुमारको नेतृत्वमा ‘पलायन रोको, नौकरी दो’ पदयात्राको पछाडि अल्लावरुको दिमागले काम गरेको छ । 

नितीशका लागि खतराको घण्टी
नितीशका लागि खतराको घन्टी बजिसकेको छ । संघीय मन्त्री चिराग पासवानले विधानसभा चुनाव लड्ने आशय व्यक्त गरेका छन् । आफ्नो तन केन्द्रमा रहे पनि मन बिहारको राजनीतिमा डुलेको लोक जनशक्ति पार्टी (रामविलास)का नेता पासवानको भनाइ छ । पूर्वअभिनेता पासवान पछिल्लो समय युवाका ढुकढुकी हुन् । युवा अनुहारसँग प्रतिस्पर्धा गर्न एनडिए पंक्तिभित्रबाट आउने प्रस्तावप्रति निश्चय पनि नितीश खुसी हुनेछैनन् । जे भए पनि उनले तेजस्वी यादव, प्रशान्त किशोर र कन्हैया कुमारजस्ता युवासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । स्मरणीय छ सन् २०२० मा जेडियू (युनाइटेड)को ४३ सिटको निराशाजनक परिणामका लागि चिराग पासवानको लोजपा (रामविलास) मुख्य रूपमा जिम्मेवार थियो, जसले २८ वटा निर्वाचन क्षेत्रमा एक्लैले पराजित गर्‍यो । 

लोजपाले भाजपाको आशीर्वादमा सो चुनाव लडिरहेको हल्ला चलेको थियो । उक्त पार्टीले १४३ निर्वाचन क्षेत्रका लागि प्रतिस्पर्धा गरेको थियो । चिरागको गुटले अन्तत: उनका काका पशुपति कुमार पारसको नेतृत्वमा रहेको राष्ट्रिय लोक जनशक्ति पार्टी (आरएलजेपी)लाई एनडिएमा प्रतिस्थापन गर्ने सुनिश्चित गरेको थियो । सन् २०२० मा एनडिएको सिट बाँडफाँड व्यवस्थामा आरएलजेपीलाई समावेश गरिएन । तर, आज आरएलजेपी चुनावको पूर्वसन्ध्यामा महागठबन्धनमा सामेल छ । यद्यपि, चुनावी मैदानमा भने यो परीक्षण नभएको पार्टी हो ।

भाजपामा पनि छैनन् म्याग्नेटिक नेता
हिन्दीभाषी राज्य बिहारमा भाजपाको मुख्य समस्या भनेको उसले स्वतन्त्र रूपमा सरकारको नेतृत्व गर्न असफल हुनु हो । भाजपामा हरेक प्रमुख जात समूहका नेता छन् । उपमुख्यमन्त्री सम्राट चौधरी (कोएरी समुदाय) विजयकुमार सिन्हा र गिरिराज सिंह (दुवै भूमिहार ) मंगल पाण्डे र राजीव प्रताप रुडी ( ब्राह्मण) र यादव समूहबाट नन्दकिशोर यादव छन् । त्यस्तै, दलित वर्गको प्रतिनिधित्व गर्ने सञ्जय पासवान र जनक राम र कायस्थबाट रविशंकर प्रसाद छन् । यद्यपि, तिनीहरूमध्ये कसैको पनि बिहारमा लोकप्रियता छैन । गत वर्ष निधन भएका नितीशका पूर्वउपप्रमुख सुशील कुमार मोदी राज्यमा भाजपाको सबैभन्दा परिचित अनुहार थिए । उनी वैश्य जातिका थिए ।

बिहारमा नितीश सबैभन्दा लोकप्रिय कुर्मी नेताको रूपमा स्थापित भए पनि भाजपाले बिहारमा आफ्नै कुर्मी नेता तयार गर्न असफल भएको छ । सम्राट चौधरीको कोएरी समुदायमा केही प्रभाव छ, तर एनडिएभित्र उनका लागि चुनौती छन् । 

नितीशको विगत
म्याम्पस अफ इन्डियाका अनुसार नितीश एक समाजवादी राजनीतिक नेता हुन् । राममनोहर लोहिया, जयप्रकाश नारायण, जर्ज फर्नान्डिस, विश्वनाथ प्रताप सिंह र एसएन सिन्हाजस्ता सामाजिक न्याय र पिछडिएका वर्ग–समुदायको मुद्दा उठाउने नेताबाट उनी प्रभावित भए । राजनीतिमा आउनुअघि उनी बिहारको विद्युत् बोर्डमा काम गर्थे । पेसाले उनी इलेक्ट्रिकल इन्जिनियर थिए । पछि जागिरै छाडेर समाजवादी राजनीतिमा होमिए ।

उनी जयप्रकाश नारायणले सन् १९७४ मा चलाएको आन्दोलनमा सहभागी भए । सोही समयदेखि नै उनले विद्यार्थी राजनीतिबाट उदाएका लालु यादवसँग सहयात्रा गरे । उनको चुनावीयात्रा पहिलोपटक सन् १९८५ मा विधायकको रूपमा निर्वाचित भएपछि सफल भयो । उनले स्वतन्त्र रूपमा चुनाव जिते । नितीश भारतीय लोक दलको युवा शाखा युवा लोक दलको अध्यक्षको रूपमा मनोनीत भए । त्यसपछि, उनी राज्यमा जनता दलको महासचिवको रूपमा चुनिए । नितीश सन् १९८९ मा नवौँ लोकसभामा प्रवेश गरे । सोही वर्ष उनले बिपी सिंह सरकारमा केन्द्रीय कृषि राज्यमन्त्री बने । उनले १९९१ मा फेरि संसदीय चुनाव जिते । नितीशले माथिल्लो सदनमा जनता दलको उपनेता पद पाए ।

लालु र नितीश दुवैले बिहारमा पिछडिएका जातीय उत्थानका लागि राजनीति गरे । लालुले यादव समुदायको प्रतिनिधित्व गर्दै गर्दा नितीशले यादवपछिको सबभन्दा ठुलो पिछडा वर्ग कुर्मीको प्रतिनिधित्व गरे । सन् १९९२ को अन्त्यसम्ममा कुमार र यादवको सम्बन्धमा दरार आएको थियो ।

जनता दल विभाजन गरेर राष्ट्रिय जनता दल (आरजेडी) गठन गरेका लालुले सन् २००० को विधान सभा चुनावमा बिहारमा बहुमत पुर्‍याएनन् । त्यसपछि नितीश मुख्यमन्त्री बने । तर, बहुमत जुटाउन नसकेपछि उनको सरकार एक सातामै ढल्यो । सन् २००५ मा सम्पन्न बिहारको विधान सभा चुनाव भाजपाको गठबन्धन विजयी भयो । नितीशले कुमारको जनता दल (युनाइटेड) सबभन्दा ठुलो दल बन्यो र उनी दोस्रोपटक मुख्यमन्त्री बने । त्यसपछि उनी पटक–पटक गरेर नौपटक मुख्यमन्त्री बनेका छन् ।

(एनडिटिभीका लागि आनन्द कोचुकुडीको आलेखको सुभाष शर्माले गरेको भावानुवाद)