मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ९ शुक्रबार
  • Saturday, 26 July, 2025
बैंकक
२o८२ श्रावण ९ शुक्रबार o९:३o:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

थाइल्यान्ड–कम्बोडिया सिमानामा झडप, कम्तीमा १२ जनाको मृत्यु

Read Time : > 1 मिनेट
बैंकक
नयाँ पत्रिका
२o८२ श्रावण ९ शुक्रबार o९:३o:oo

थाइल्यान्ड–कम्बोडिया सीमाक्षेत्रमा लामो समयदेखिको तनाव बिहीबारदेखि सैन्य झडपमा बदलिएको छ । झडपमा हालसम्म कम्तीमा १२ जनाको मृत्यु भएको र १४ जना घाइते भएको बिबिसीले जनाएको छ । थाइल्यान्डका स्वास्थ्यमन्त्रीले झडपमा एकजना सैनिक र ११ जना सर्वसाधारणको मृत्यु भएको जनाएका छन् । दुवै पक्षले अर्को पक्षले पछिल्लो झडप सुरु गरेको आरोप लगाएका छन् ।

झडपको अघिल्लो दिन, अर्थात् बुधबार सीमा क्षेत्रमा भएको बारुदी सुरुङ विस्फोटमा एक थाई सैनिक घाइते भएका थिए । त्यसपछि थाइल्यान्डले कम्बोडियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको थियो । दुवै देशका सैनिकले बिहीबार बिहानदेखि सीमाक्षेत्रमा गोलीबारी गरिरहे । थाइल्यान्डले कम्बोडियाको सैन्य अड्डामा हवाई बमबारीसमेत गरेको बताएको छ । बैंककले कम्बोडियामाथि सीमानजिकका थाई गाउँ तथा अस्पतालमा रकेट प्रहार गरेको आरोप लगाएको छ । बिहीबार थाइल्यान्डले केही कम्बोडियाली सैन्य अड्डामा हवाई बमबारी गरेको बताएको छ ।

कम्बोडियाले थाइल्यान्डसँगको कूटनीतिक सम्बन्धलाई ‘डाउनग्रेड’ गरेको छ । उसले थाइल्यान्डमाथि अत्यधिक बल प्रयोग गरेको आरोप लगाउँदै संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपत्कालीन बैठकको माग गरेको छ । चीनले दुवै देशलाई वार्ताबाट विवाद समाधान गर्न आग्रह गरेको छ ।

थाइल्यान्ड–कम्बोडिया सीमा तनावको इतिहास
पछिल्लो सीमा विवादको जरा कम्तीमा सय वर्षअघि फ्रान्सले कोरिदिएको कम्बोडियाको सीमारेखासम्म पुग्छ । त्यति वेला कम्बोडिया फ्रान्सेली उपनिवेश थियो । सन् २००८ मा कम्बोडियाले विवादित क्षेत्रमा अवस्थित ११औँ शताब्दीको मन्दिरलाई युनेस्को विश्व सम्पदा स्थलको रूपमा दर्ता गर्ने प्रयास गरेपछि थाइल्यान्डले विरोध जनाएको थियो । दुई देशबिच धेरै झडप भएका थिए, जसमा सैनिक र नागरिकहरूको मृत्यु भएको थियो । त्यसयता दुई देशबिच निरन्तर तनावपूर्ण सम्बन्ध कायम छ ।

पछिल्लो विवाद भने मे महिनामा सीमाक्षेत्रमा भएको झडपमा एक कम्बोडियन सैनिकको मृत्युपछि सुरु भएको थियो । दुई देशबिचको सम्बन्ध पछिल्लो दशककै सबैभन्दा न्यूनस्तरमा झरेको छ । पछिल्ला दुई महिनामा, दुवै देशले एक–अर्कामाथि सीमा प्रतिबन्ध लगाएका छन् । कम्बोडियाले थाइल्यान्डबाट फलफूल र तरकारीजस्ता चिजको आयातमा प्रतिबन्ध लगाएको छ । न्होम पेनले यसअघि थाइल्यान्डबाट निर्यात हुने बिजुली र इन्टरनेट सेवासमेत लिन बन्द गरेको छ । पछिल्ला केही हप्ता, दुवै देशले सीमामा सेनाको तैनाथी पनि बढाउदै लगेकाले कुनै दुर्घटनाको आशंका बढ्दै गएको थियो ।