
अघिल्लो वर्षभन्दा एक खर्बले बढ्यो निक्षेप तथ्यांकअनुसार गत आवमा वाणिज्य बैंकहरूमा रहेको निक्षेप सात खर्ब ७६ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो आव ०८०/८१ मा भने ६ खर्ब ६८ अर्ब ८२ करोड रुपैयाँले निक्षेप बढेको थियो ।
असार ०८१ सम्म वाणिज्य बैंकहरूमा ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप थियो । असार ०८२ सम्म आउँदा ६५ खर्ब ३० अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । असारमा मात्रै दुई खर्ब ७२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप बढेको संघले जनाएको छ । मुख्यत: असारमा उच्च सरकारी खर्च भएकाले वर्षान्तमा निक्षेप उच्च भएको हो । यो वर्ष रेमिट्यान्ससमेत उच्च मात्रामा भित्रिएकाले निक्षेप बढेको हो ।
गत आवको पहिलो महिना साउनमा ३९ अर्ब रुपैयाँले निक्षेप घटेको थियो । तर, भदौमा ७३ अर्ब र असोजमा एक खर्ब ३३ अर्बले निक्षेप बढेको थियो । कात्तिकमा पुन: १९ अर्ब रुपैयाँले निक्षेप घट्यो । त्यसयता भने निरन्तर निक्षेप बढ्दै आएको छ ।
तथ्यांकअनुसार मंसिरमा ३३ अर्ब, पुसमा ५१ अर्ब, माघमा नौ अर्ब, फागुनमा ४० अर्ब र चैतमा ८३ अर्ब निक्षेप थपिएको थियो । वैशाखमा २३ अर्ब, जेठमा एक खर्ब १५ अर्ब र असारमा दुई खर्ब ७३ अर्ब निक्षेप बढेको संघले जनाएको छ ।
गत आर्थिक वर्ष ०८१/८२ मा वाणिज्य बैंकहरूको कर्जा प्रवाह चार खर्ब तीन अर्ब ६४ करोड रुपैयाँ वृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार असार ०८१ सम्म कुल कर्जा प्रवाह ४५ खर्ब ७० अर्ब ९१ करोड रहेकोमा असार ०८२ मा ४९ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ पुगेको हो ।
आर्थिक शिथिलताका कारण अघिल्लो आव ०८०/८१ सम्म कर्जा प्रवाह सुस्त थियो । सो वर्ष दुई खर्ब ५२ अर्ब ९६ करोड कर्जा प्रवाह भए पनि त्यसको तुलनामा गत आवमा केही सुधार भएको छ । तर, बढ्दो तरलता व्यवस्थापन गर्न राष्ट्र बैंक र २० वाणिज्य बैंकलाई सकस भइरहेको छ । राष्ट्र बैंकले गत आवमा साढे १२ प्रतिशतले कर्जा प्रवाह बढाउने लक्ष्य लिएको थियो । तर, ८.८३ प्रतिशतले मात्रै कर्जा वृद्धि हुँदा तरलता व्यवस्थापन हुन नसकेको हो । ऋण लिने व्यक्ति तथा संस्थाहरूमा ‘कन्फिडेन्स’ बढ्न नसक्दा कर्जाको माग बढ्न नसकेको विज्ञहरू बताउँछन् ।
गत आवमा आयात र सेयर खरिदमा मात्रै कर्जाको माग बढेको बैंकर्स संघको तथ्यांक छ । ब्याजदर ज्यादै न्यून विन्दुमा आएका वेलासमेत कर्जाको माग नबढ्दा थप चिन्तित तुल्याएको संघको भनाइ छ ।
तथ्यांकअनुसार गत आवमा साउनमा दुई अर्ब, भदौमा ५३ अर्ब र असोजमा ५६ अर्ब कर्जा प्रवाह भएको थियो । कात्तिकमा दुई अर्ब मात्रै कर्जा प्रवाह हुँदा मंसिरमा ४२ अर्ब, पुसमा ९४ अर्ब, माघमा १२ अर्ब, फागुनमा २३ अर्ब र चैतमा ६५ अर्ब कर्जा प्रवाह भएको संघको तथ्यांक छ । त्यस्तै, वैशाखमा चार अर्ब, जेठमा ३६ अर्ब र असारमा २७ अर्ब रुपैयाँ कर्जा दिएको संघले जनाएको छ ।