
ज्योति विकास बैंकले स्थापनाको १७औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। ०६५ साउन ९ गते स्थापना भएको बैंक आज शुक्रबार १७ वर्षको सफल यात्रा पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको हो।
प्रधान कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरेका थिए। खड्काले पानसमा दीप प्रज्वलन गरी औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरेका थिए।
बैंकले वार्षिकोत्सवको दिन उपलब्ध एआई च्याटबट ‘ज्योति’ सार्वजनिक गरेको छ, जसले सरल इन्टरफेस र भाषिक विकल्पमार्फत ग्राहकहरुलाई बैंकिङ जानकारीमा सहज पहुँच र तुरुन्तै जानकारी प्राप्त गर्ने सुविधा प्रदान गर्ने बताइएको छ।
त्यस्तै, बैंकले इन्टरबैंक टेलर क्युआर सेवा सुरु गरेको छ। यस सेवामार्फत खाता नभएका व्यक्तिहरूले पनि आफ्नो बैंकको मोबाइल बैंकिङ एप वा खल्ती वालेट प्रयोग गरी ज्योति विकास बैंकका शाखाबाट सहज रूपमा नगद झिक्न सक्नेछन्।
वार्षिकोत्सवको अवसरमा, बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत विविध गौरवपूर्ण सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको घोषणा तथा सम्झौता गरेको छ। तिलगंगा इन्स्टिच्युट अफ अफथ्याल्मोलोजीसँगको सहकार्यमा सप्तरीको कञ्चनरूपमा आँखा जाँच तथा मोतिया विन्दुको निःशुल्क शल्यक्रिया सञ्चालन हुने बताइएको छ। यसैगरी राष्ट्रिय आविष्कार केन्द्रसँगको साझेदारीमा १० वटा ‘न्यानो नानी’ बेबी वार्मर दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा जडान गरिनेछ।
यस्तै, ई–नेबल नेपालसँग मिलेर १७ जना शारीरिक तवरले फरक बालबालिकालाई थ्रिडी प्रविधिबाट निर्मित कृत्रिम हात प्रदान गरिनेछ। साथै, हरियाली प्रवर्द्धनका लागि लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा सातै प्रदेशमा एक हजार सात सय वृक्षरोपण गरिने घोषणा गरिएको छ।
वार्षिकोत्सवको अवसरमा बैंकले ‘ज्योतिज् गट ट्यालेन्ट’को दोस्रो संस्करण आयोजना गर्दै कर्मचारी तथा उनीहरूका बालबालिकाको प्रतिभालाई प्रोत्साहन गरेको थियो। विविध सिर्जनात्मक तथा कलात्मक प्रस्तुतिमार्फत सम्पन्न प्रतियोगिताका उत्कृष्ट सहभागीहरूलाई बैंकका अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ट्रफी तथा प्रमाणपत्र प्रदान गरे।
यसै अवसरमा बैंकले आफ्नो कर्पोरेट एन्थम पनि सार्वजनिक गरेको छ। बैंकको मूल उद्देश्य, ध्येय र मान्यताको दर्पणको रूपमा सिर्जनात्मक र रचनात्मक ढंगले सम्पूर्ण सरोकारवालाहरूलाई सन्देश दिने हेतुले कर्पोरेट एन्थम सिर्जना गरिएको हो।
वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालयपरिसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ, जसमा करिब ५५ जना कर्मचारी, ग्राहक र अन्य सर्वसाधारणले रक्तदान गरेका छन्। साथै बैंकले वार्षिकोत्सवको अवसरमै निःशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविर पनि आयोजना गरेको छ।
कार्यक्रममा बैंकमा विगत १० वर्ष तथा १५ वर्षदेखि अनवरत रूपमा कार्यरत रही योगदान दिएका कर्मचारीहरूलाई सम्मान गरिएको थियाे।