मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ७ बुधबार १९:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पशुपतिमा ‘दिव्य पशुपतिनाथ अभियान’को सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ७ बुधबार १९:१२:oo

विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिरपरिसरमा ‘दिव्य पशुपतिनाथ अभियान’को सुरुवात भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वृक्षारोपण गरेर अभियानको सुरुवात गरेका हुन्।

अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल (क्रिएसन)को नेतृत्वमा सञ्चालित ‘क्लाइमेट स्मार्ट सिटिज’ परियोजनालाई मैनादेवी फाउन्डेसनले कार्यान्वयन गरिरहेको छ। दिव्य पशुपतिनाथ अभियानले पशुपतिनाथ मन्दिरपरिसरमा बढ्दो प्लास्टिक फोहोर व्यवस्थापनको समस्यालाई सम्बोधन गर्दै वातावरणीय संरक्षण र हरियाली प्रवर्द्धनमा केन्द्रित विविध कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

अभियानअन्तर्गत सरसफाइ अभियान, वृक्षारोपण कार्यक्रम, फ्रन्टलाइन कर्मचारीहरूका लागि व्यावसायिक सुरक्षासम्बन्धी तालिम तथा सामाजिक सञ्जालमार्फत जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिने बताइएको छ। अभियानले युवा, स्थानीय समुदाय तथा सरोकारवाला पक्षहरूलाई मन्दिरको पवित्रता र पर्यावरणीय स्वास्थ्यको संरक्षणमा सक्रिय र सामूहिक रूपमा सहभागी गराउने लक्ष्य लिएको बताइएको छ।

‘दिव्य पशुपतिनाथ अभियान’ वर्षभरि सञ्चालन हुनेछ। जसमा फोहोर व्यवस्थापन, प्लास्टिकको प्रयोग न्यूनीकरण, पुनः प्रयोग र पुनः चक्रणलाई प्रवर्द्धन गर्नेलगायतका वातावरणमैत्री गतिविधिहरू समावेश छन्।