मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १ बिहीबार
  • Thursday, 17 July, 2025
पवन तिमिल्सिना काठमाडाैं
२o८२ श्रावण १ बिहीबार o६:३९:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हिमालयन बैंकको दुई करोड ८० लाख कित्ता सेयर सस्तोमा हत्याउन ‘सेटिङ’

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १ बिहीबार o६:३९:oo
  • पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो सेयर बिक्री गर्दै छ, संस्थापक सेयरधनीका हिसाबले कर्मचारी सञ्चय कोषले सेयर किन्ने पहिलो हक राख्छ, तर कोषदेखि राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्सेसम्म सेटिङ गरेर सस्तोमा सेयर हत्याउन २५ चरणको कार्यतालिका नै बनाएर चलखेल गर्दै हिमालयन रिइन्स्योरेन्सका मुख्य सञ्चालक 

हिमालयन रिइन्स्योरेन्स कम्पनीको सञ्चालक समूहले हिमालयन बैंकको दुई करोड ८० लाख कित्ता सेयर सस्तो मूल्यमा हत्याउन नियामक निकायसँग नै मिलेर ‘सेटिङ’ गरेको खुलासा भएको छ । सेयर बिक्री गर्दा सबै प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने भए पनि यो समूहले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँग मिलेमतो गर्दै कार्यतालिका बनाएर कार्यान्वयनमा लगेको छ । जसअनुसार यो समूह आफूले तयार पारेको तालिकाको २५ मध्ये आठवटा चरण पूरा गर्न सफल भइसकेको देखिन्छ । 

गत ३० जेठमा हिमालयन बैंकले पाकिस्तानको हबिब बैंकको स्वामित्वमा रहेको दुई करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखेको थियो । नेपाल राष्ट्र बैंकले पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था गरेको छ । प्रतिकित्ता ११२ रुपैयाँ आठ पैसा मूल्य तोकी बिक्रीमा राखिएको यस्तो सेयरमा संस्थापन सेयरधनीले आवेदन दिने समय २ साउनसम्म छ । 

म्यादसम्म संस्थापक सेयरधनीले आवेदन नदिएमा अन्य व्यक्ति वा संस्थालाई सेयर बेच्न पाउने व्यवस्था छ । सबै संस्थापकलाई सेयर किन्नबाट रोकेर हिमालयन रिइन्स्योरेन्समा लगानी गर्ने मुख्य समूहले सो सेयर हत्याउने तयारी गरिरहेको छ । यसको नेतृत्व विवादास्पद व्यापारी दीपक भट्ट तथा शंकर समूहका सञ्चालकले गरिरहेका छन् । 

बैंकको संस्थापक सेयरधनीमध्येको एक कर्मचारी सञ्चय कोष व्यवस्थापनले हबिबको सेयर किन्ने इच्छा देखाए पनि कोषको अध्यक्षको रूपमा रहने राजस्वसचिव दिनेश घिमिरेकै दबाबमा निर्णय हुन नसकेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन् । 

स्रोतका अनुसार केही सञ्चालकले सस्तो मूल्यमा बिक्री हुन लागेकाले हिमालयन बैंकको संस्थापक सेयर किन्नुपर्ने राय राखेका छन् । तर, सचिव घिमिरे किन्न नहुने अडानमा छन् । ‘उहाँ कतैबाट प्रभावित हुनुहुन्छ जस्तो देखिन्छ,’ कोषका एक अधिकारीले भने । कोषले खरिद नगर्दा सिधै हिमालयन रिइन्स्योरेन्सले खरिद गर्न पाउने भएकाले पनि खरिदबाट रोक्ने खेल भइरहेको छ । 

यसअघि पनि हबिबले हिमालयन बैंकमा रहेको आफ्नो संस्थापक सेयर बिक्री गर्ने प्रयास गरेको थियो । तर, तीव्र चलखेलका कारण सफल हुन सकेको थिएन । सिभिल बैंकसँग मर्ज हुनुअघि ०७६ साल जेठताका हिमालयन बैंकको सेयर लन्डनको कमनवेल्थ डेभलपमेन्ट कर्पाेरेसन (सिडिसी)ले खरिद गर्ने इच्छा देखाएको थियो । यद्यपि, बैंकका सञ्चालकहरूबिच विवाद हुँदा सेयर बिक्री प्रयास असफल भएको थियो । सिडिसीका प्रतिनिधिले तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडा र तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपाललाई पनि भेटेका थिए । 

केन्द्रीय बैंकका तत्कालीन डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी (हाल केन्द्रीय बैंकका सञ्चालक)ले सकेसम्म हिमालयन बैंकमा असल अभ्यास भएका रणनीतिक साझेदार भिœयाउनु उपयुक्त हुने बताए । ‘बैंकिङ क्षेत्रको अनुभव नभएका व्यक्ति वा संस्थाको हातमा हिमालयन बैंकको सेयर नजाओस् भन्ने प्रयत्न रहनुपर्छ,’ उनले भने । यस्ता विषय केन्द्रीय बैंकको सञ्चालक समितिमा छलफलमा नआउने भएकाले आफू हालको गतिविधिबारे जानकार नरहेको उनको भनाइ छ ।

१९ साउन ०८० (४ अगस्ट, सन् २०२३) मा हबिब बैंक, पाकिस्तानले हिमालयन बैंकमा रहेको संस्थापक सेयर हिमालयन रिइन्स्योरेन्सलाई बिक्री गर्न सेयर खरिद–बिक्री सम्झौता नै गरेको थियो । हिमालयन रिइन्स्योरेन्सले प्रतिकित्ता १३० रुपैयाँमा किन्न सम्झौता गरेको थियो । जसअनुसार १४ मंसिरमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले सेयर खरिद–बिक्री स्वीकृत गराउन राष्ट्र बैंकको नियमन विभागलाई निवेदन दिएका थिए । यद्यपि, राष्ट्र बैंकले यसमा कुनै प्रक्रिया अगाडि बढाएको थिएन । 

अहिले प्रतिकित्ता सेयरको मूल्य ११२ रुपैयाँ ८० पैसा तोकेर बिक्री प्रक्रिया अघि बढाइएको छ । सेटिङमा प्रतिकित्ता १७ रुपैयाँ २० पैसा घटाएर बिक्री अघि बढाउनु शंकास्पद देखिएको राष्ट्र बैंक स्रोत बताउँछ । यसबाट करोडौँ पुँजीगत लाभकरसमेत छलीको जोखिम छ । हिमालयन बैंकमा हाल २१ अर्ब ६५ करोड रुपैयाँको चुक्ता पुँजी छ । जसमा हबिब बैंकको १२.९६ प्रतिशत सेयर छ । 

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हिमालयन बैंकले सेयर खरिद गर्ने सम्भावित इच्छुक खरिदकर्ताको पहिचान गरेपछि मात्रै केन्द्रीय बैंकले स्वीकृतिका लागि प्रक्रिया अघि बढाउने बताए । ‘अहिले हिमालयन बैंकको संस्थागत सेयरधनी हबिब बैंकले सेयर बिक्रीका लागि प्रस्ताव आह्वान गरेको भन्ने बुझिएको छ । सुरुवातमा संस्थागत सेयरधनीहरूलाई नै बिक्री गर्नुपर्ने प्रावधान छ । संस्थागत सेयरधनीहरूका तर्फबाट कसैले इच्छा देखाएनन् भने अरू व्यक्ति वा संस्थालाई बिक्री गर्न सक्छ,’ उनले भने, ‘तोकिएको बिक्री मूल्यमा सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्था पहिचान भएपछि प्रक्रियागत कागजातसहित राष्ट्र बैंकमा स्वीकृतिका लागि निवेदन दिनुपर्छ । इच्छुक लगानीकर्ता उक्त सेयर खरिदका लागि योग्य छ कि छैन भनेर हेर्न राष्ट्र बैंकले ‘फिट एन्ड प्रपर टेस्ट’ गर्छ । त्यसपछि मात्रै राष्ट्र बैंकले खरिद–बिक्रीका लागि अनुमति दिने हो ।’

यद्यपि, खरिद–बिक्रीका लागि निर्धारण गरिएको मूल्य उपयुक्त हो वा होइन भनेर राष्ट्र बैंकले नहेर्ने कार्यकारी निर्देशक पौडेलको भनाइ छ । उनले भने, ‘विदेशी मुद्रा बाहिरिने विषय भएकाले मूल्यमा चासो देखाउन सकिन्छ । तर, यसबाट पुँजीगत लाभकर छली गर्न खोजिएको हो कि होइन वा मूल्य वास्तविक हो कि होइन भनेर राष्ट्र बैंकले हेर्न मिल्ने विषय होइन ।’

पूर्वगभर्नर चिरञ्जीवी नेपालले कुनै पनि बैंकको संस्थागत सेयर खरिद गर्ने पहिलो अधिकार संस्थागत सेयरधनीको हुने भएकाले उनीहरूलाई अवसर दिएर मात्रै अरूका लागि बिक्री खुला गर्नुपर्ने बताए । ‘सेयर बिक्री गर्दा सबै प्रक्रिया पूरा गर्नुपर्छ । म हुँदा पनि हबिबको सेयर खरिद गर्ने विषय आएको  थियो । तर, सञ्चालकहरूकै विवादले अघि बढ्न सकेन । त्यहाँको बोर्डमा नै समस्या छ,’ उनले भने । 

कर्मचारी सञ्चय कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले भने हबिबको सेयर खरिद गर्ने वा नगर्ने विषयमा आन्तरिक छलफल भइरहेको बताए । ‘सेयर किन्दा के हुन्छ, नकिन्दा के हुन्छ भन्नेबारे छलफल भइरहेको छ । समय अझै बाँकी छ, निष्कर्षमा पुग्नै लागेका छौँ ।’ 

हबिबको सेयर हात पार्न हिमालयन रिइन्स्योरेन्स समूहले बनाएको यस्तो छ २५ बुँदे तालिका
हिमालयन रिइन्स्योरेन्स समूहले हबिब बैंकको हिमालयन बैंकमा रहेको सेयरलाई हत्याउन समयसीमा नै तोकेर २५ चरणको विस्तृत कार्यतालिका नै तयार पारेको नयाँ पत्रिकाले फेला पारेको छ । यो समूहले सेटिङमा बनाएको तालिकाअनुसार सुरुमा बिक्रेता बैंक खाता, डिम्याट खाता र ब्रोकर्स नियुक्ति तथा टिएमएस खाता खोल्ने काम पूरा भइसकेको छ । त्यसपछि, संशोधित मूल्यसहित प्रि–अफर दिने उल्लेख गरिएको छ । योजनाअनुसार अफर मूल्य ११२.८ रुपैयाँ तोक्ने उल्लेख छ । 

बोर्डबाट अनुमोदनपछि बैंकमा संशोधित मूल्यसहित आवेदन दिइनेछ र आरओएफआर (राइट फर फस्र्ट रिफ्युजल) प्रक्रिया तथा अन्य कानुनी कार्य अगाडि बढाइने तालिकामा उल्लेख छ । यसपछि हिमालयन बैंकले ३५ दिनको आरओएफआर सूचना र त्यसपछि १५ दिनको बिक्री सूचना राष्ट्रिय दैनिकमा प्रकाशित गर्ने भनिएको छ ।

खरिदकर्ताले प्रस्ताव पेस गरेपछि सम्झौता स्वीकृति गराइने र सेयर खरिद सम्झौता आगामी ३१ जुलाई २०२५ मा कार्यान्वयन गरिने तयारी छ । बिमा प्राधिकरणबाट अन्तिम स्वीकृति लिएर राष्ट्र बैंकमा आवेदन दिइनेछ । राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि कारोबार तीन महिनाभित्र सम्पन्न गर्नुपर्ने तालिकामा भनिएको छ ।

कारोबारको स्वीकृति प्राप्त भएपछि नेप्से र सेबोनमा सेयर कारोबारसम्बन्धी जानकारी दिइनेछ । नेप्से र सिडिएससीमा बल्क सेयर अफलोडिङ प्रक्रिया सुरु हुनेछ । त्यसपछि, बिक्रेताले डेलिभरी इन्स्ट्रक्सन स्लिपसहित बिक्री आदेश जारी गर्ने र सेयर तथा रकम स्थानान्तरण गर्ने कार्य सम्पन्न हुने तालिकामा भनिएको छ ।

हिमालयन रिइन्स्योरेन्स  समूहको कार्यतालिकामा भनिएको छ, ‘रकम स्थानान्तरणपछि हिमालयन बैंकले राष्ट्र बैंकलाई १५ दिनभित्र जानकारी दिनेछ । त्यसपछि कर प्रमाणपत्रसहित लगानी फिर्ताको स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन गरिनेछ । आवश्यक कागजात तयार गर्न १५ देखि ४५ दिनसम्म समय लाग्न सक्ने अनुमान छ । अन्तिम चरणमा राष्ट्र बैंकको स्वीकृति पाएपछि हबिब बैंकले रकम विदेश पठाउने र सम्पूर्ण प्रक्रिया समाप्त हुनेछ ।’