
गत आर्थिक वर्ष ०८१/८२ मा नेपालको वैदेशिक व्यापार नयाँ उचाइमा पुगेको छ । भन्सार विभागका अनुसार आयात र निर्यात दुवै तथ्यांक हालसम्मकै उच्च छन् । गत आवमा नेपालले गरेको कुल निर्यातको आधा हिस्सा भने आयातित कच्चा भटमास तेल (क्रुड सोयाबिन आयल) र कच्चा सूर्यमुखी तेल (क्रुड सनफ्लावर आयल) रहेको देखिएको छ ।
भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०८१/८२ मा नेपालले कुल रु. २० खर्ब ८१ अर्ब १५ करोड २९ लाखबराबरको वैदेशिक व्यापार गरेको छ । गत आवमा रु. १८ खर्ब चार अर्ब १२ करोड २७ लाखबराबरको वस्तु आयात हुँदा रु. दुई खर्ब ७७ अर्ब तीन करोडबराबरको निर्यात भएको छ । त्यसबाट नेपालले रु. १५ खर्ब २७ अर्ब नौ करोड २५ लाखबराबरको व्यापार घाटा व्यहोरेको छ । विभागका निर्देशक किशोर बर्तौलाका अनुसार गत आवको आयात र निर्यात दुवै हालसम्मकै उच्च हो ।
अघिल्लो आर्थिक वर्ष ०८०/८१ को तुलनामा गत आवमा आयात १३.२५ र निर्यात ८१.८० प्रतिशतले बढेको विभागको तथ्यांकबाट देखिएको छ । समग्र वैदेशिक व्यापार १९.२४ प्रतिशतले बढ्दा व्यापार घाटा ६ प्रतिशतले बढेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.६९ र निर्यातको हिस्सा १३.३१ प्रतिशत रहेको छ ।
नेपालले सबैभन्दा धेरै वैदेशिक व्यापार गर्ने मुलुक भारतसँग गत आवमा रु. १० खर्ब ७१ अर्ब २० करोडबराबरको आयात र रु. दुई खर्ब २४ अर्ब ६८ करोड ४३ लाखबराबरको निर्यात गरेको छ । त्यसबाट भारतसँग मात्र रु. आठ खर्ब ४६ अर्ब ५१ करोड ४५ लाखबराबर नेपालले व्यापार घाटा व्यहोरेको छ ।
त्यस्तै, चीनबाट रु. तीन खर्ब ४१ अर्ब १० करोड ४५ लाखबराबरको वस्तु आयात हुँदा रु. २६ अर्ब ३० करोडबराबरको मात्रै निर्यात भएको छ । अर्जेन्टिना, युक्रेन, युनाइटेड अरब इमिरेट्सलगायत मुलुकहरूसँग नेपालले बढी व्यापार घाटा व्यहाेरेको छ ।
नेपालले सबैभन्दा धेरै व्यापार नाफा गरेका मुलुकमा अफगानिस्तान, डेनमार्क, रसियन फेडेरेसन, रोमानिया, अस्ट्रिया, लाओसलगायत मुलुक छन् । सबैभन्दा धेरै अफगानिस्तानसँग रु. ६८ करोड ६१ लाख १७ हजार र डेनमार्कसँग रु. ३३ करोड ८९ लाख १३ हजार व्यापार नाफा गरेको विभागको तथ्यांकबाट देखिन्छ ।
बढी आयात भएको वस्तुको पहिलो स्थानमा पेट्रोलियम पदार्थ देखिएको छ । गत आवमा रु. एक खर्ब २८ अर्ब ७६ करोड १६ लाखबराबरको डिजेल, रू. ६४ अर्ब १२ करोड ७४ लाखबराबरको पेट्रोल र रु. ६२ अर्ब ५८ लाख ७२ हजारबराबरको खाना पकाउने ग्यास आयात भएको छ । यस्तै, रु. ३५ अर्ब ५४ करोड ७३ लाखबराबरको स्मार्टफोन, रु. १८ अर्ब ६२ करोडबराबरको विद्युतीय कार आयात भएको छ ।
विभागको तथ्यांकअनुसार गत आवमा रु. एक खर्ब आठ अर्ब ९५ करोड ३३ लाखबराबरको कच्चा भटमास तेल र रु. २९ अर्ब दुई करोड १९ लाखबराबरको कच्चा सूर्यमुखी तेल आयात भएको छ । नेपालले बढी निर्यात गर्ने वस्तुमा पनि भटमास तेल र सूर्यमुखी तेल शीर्ष स्थानमा छन् ।
सबैभन्दा बढी निर्यात भएका वस्तुमा सोयाबिन तेल रु. एक खर्ब ६ अर्ब ७९ करोड १२ लाखबराबरको निर्यात भएको छ । त्यस्तै, सूर्यमुखी तेल रु. १२ अर्ब ३२ करोड ६५ लाखबराबरको निर्यात भएको छ । कार्पेट रु. १० अर्ब ७७ करोड ६८ लाख, अलैँची रु. सात अर्ब ६८ करोड ३७ लाख, छुर्पी रु. चार अर्ब ५१ करोड र चिया रु. चार अर्ब २१ करोडबराबरको निर्यात भएको छ ।
विभागका निर्देशक बर्तौलाका अनुसार गत आवमा यी वस्तुको नेपालले निर्यात गरेकोभन्दा बढी आयात छ । त्यस्तै, मूल्य अभिवृद्धि पनि न्यून रहेको उनको भनाइ छ । ‘आयातित भटमास र सूर्यमुखी तेल नै बढी निर्यात भएको देखिन्छ, यस क्षेत्रले रोजगार सिर्जना र मूल्य अभिवृद्धिमा खासै ठुलो योगदान गरेको देखिँदैन,’ उनले भने ।
दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) को सुविधाका रूपमा नेपालका व्यवसायीले खानेतेलमा एक तहको प्रशोधन र मूल्य अभिवृद्धि गरी लाभ पाएका छन् । साफ्टा सुविधाअन्तर्गत भारतले नेपाललाई भन्सार छुट सुविधा उपलब्ध गराइरहेका कारण त्यसलाई नेपाली व्यवसायीले अवसरका रूपमा लिएको देखिएको छ ।
विगतमा नेपालबाट पाम तेलको निर्यात सबैभन्दा बढी हुने गरेको भए पनि ०७७ पुसमा नेपालबाट हुने पाम तेल निर्यातमा भारतले कडाइ गरेको थियो । त्यसयता भटमासको तेलको निर्यात बढ्दै गएको देखिएको छ । रासस