
उद्योग विभागले नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रेडमार्क नेपाल क्रिकेट संघ (क्यान)ले प्रयोग गर्न पाउने फैसला गरिसकेको छ । यसअघि जोरा स्पोर्टस् इन्टरटेनमेन्ट प्रालिले एनपिएल ट्रेडमार्क आफ्नो स्वामित्वमा रहेको भन्दै उद्योग विभागमा मुद्दा दर्ता गरेको थियो । तर, विभागले जोरा स्पोर्टस्को दाबीमा प्रमाण नपुगेको भन्दै मुद्दा किनारा लगाएको थियो ।
यस निर्णयपछि एक वर्षदेखिको एनपिएल ट्रेडमार्कसम्बन्धी विवाद समाप्त भएको थियो । तर, उक्त फैसला चित्त नबुझेको भन्दै जोरा स्पोर्टस्का सञ्चालक आमिर अख्तर उच्च अदालत जाने भएका छन् । अख्तरले आफूलाई अन्याय भएको र न्यायका लागि उच्च अदालत जाने बताएका छन् । ‘क्यानलाई दिएको एनपिएलको ट्रेडमार्कको सम्बन्धमा उद्योग विभाग गएको थिएँ, उहाँहरूले लोगो र ट्रेडमार्क क्यानसँगै रहने भन्नुभयो,’ अख्तरले भने, ‘न्यायका लागि उच्च अदालत जान्छु । एनपिएलको लोगो र ट्रेडमार्क हाम्रै हो ।’
उनका अनुसार जोरा स्पोर्टस् प्रालिकै नाममा कम्पनी दर्तादेखि बैंक अकाउन्ट छ । ‘कम्पनी दर्ता, पान नम्बर र बैंक अकाउन्ट हेर्नुभयो भने हाम्रै कम्पनीको नाम छ,’ उनले भने, ‘अझ मैले नै ट्रेडमार्कको कर तिर्दै आएको छु । यति हुँदाहुँदै क्यानले कसरी प्रयोग गर्न पाउँछ ?’ ०७१ मा जोराले धनगढीको फाप्ला मैदानमा पहिलो संस्करणको एनपिएल आयोजना गरेको थियो । क्यानले सम्झौताविपरीत काम गरेको उनको दाबी छ ।
भावना लुम्बिनीकी सिइओ नियुक्त
दोस्रो सिजनको एनपिएलका लागि लुम्बिनी लायन्सले क्यानकी पूर्वसिइओ भावना घिमिरेलाई सिइओका रूपमा नियुक्त गरेको छ । घिमिरेले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत क्रिकेटसम्बन्धी कार्यमा महत्वपूर्ण भूमिका निभाएकी छिन् । लुम्बिनीका अध्यक्ष ईश्वर जिसीले अन्तर्राष्ट्रियस्तरमै अनुभव प्राप्त व्यक्तित्वलाई भित्र्याएको बताए । ‘उनको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समर्पणले लुम्बिनीलाई नयाँ उचाइमा पुर्याउनेछ,’ जिसीले भने ।
धनगढी र एसपिएबिच तीन वर्षको सम्झौता
साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको एनपिएलका लागि धनगढीस्थित एसपिए कलेजसँगको साझेदारी गरेको छ । एसपिएले सुदूरपश्चिमसँग थप दुई वर्षको सम्झौता गरेको जनाएको छ ।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार विकास समितिका अध्यक्षसमेत रहेका एसपिए कलेजका प्रबन्ध निर्देशक सुभाष शाहीले सुदूरपश्चिम रोयल्ससँग थप सम्झौता गर्न पाउँदा खुसी लागेको बताए । ‘खेलकुदले युवालाई प्रेरणा दिने ठुलो क्षमता राख्छ । सुदूरपश्चिम रोयल्ससँगको सहकार्यले कक्षाकोठाबाहिर पनि विद्यार्थीलाई सहयोग गर्न सक्ने अवसर दिएको छ,’ उनले भने । एसपिए कलेजले एसिसी यू–१६ इस्ट जोन कप विजेता टोलीमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गरेका दुई युवा खेलाडी सचिन भट्ट र सुशील रावललाई जनही २५ हजार रुपैयाँ प्रदान गरेको उनले बताए । सुशील रावल पहिलो संस्करणमा ट्यालेन्ट हन्टमार्फत छनोटका खेलाडी हुन् । उनले सुदूरपश्चिमबाट पहिलो संस्करणमा आफ्नो प्रतिभा देखाउन अवसर पाए । सुदूरपश्चिमका सिइओ प्रकाश खड्काले टोलीलाई एक फ्रेन्चाइजका रूपमा स्थापित गर्न कोसिस भइरहेको बताए । उनले आगामी वर्षमा साझेदारीलाई निरन्तरता दिने बताए ।