मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १ बिहीबार
  • Thursday, 17 July, 2025
२o८२ श्रावण १ बिहीबार १३:४४:oo
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

साउनमा धार्मिक आस्था र शृंगारको रौनक

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १ बिहीबार १३:४४:oo

धरान उपमहानगरपालिका– १४ की रमा नेपाली बिहीबार बिहानै हरियो चुरा र मेहन्दी लगाएर मन्दिरमा पुगिन् । हरेक वर्ष साउने संक्रान्तिको दिनदेखि नै यसरी नै उनी हरियो शृंगारमा सजिने गर्छिन् । 

उनले भनिन्, ‘साउन सुरु भएपछि हरियो शृंगारमा सजिनु धर्म र संस्कृतिप्रतिको श्रद्धा हो जस्तो लाग्छ । व्रत बसेर हरियो चुरा लगाउँदा आत्मिक सन्तुष्टि मिल्छ ।’

उनका अनुसार साउन महिना जीवनसँग गहिरो रूपमा जोडिएको छ । यो महिना सुरु हुनासाथ महिलामा विशेष उत्साह जाग्ने गर्दछ । हरियो चुरा, मेहन्दी, हरियो र पहेँलो पहिरन केवल सजावट मात्र नभई उनी परम्परा र आस्थाका प्रतीक ठान्छन् । शिवको पूजा गर्दै सोमबार व्रत बस्दा आत्मिक शान्ति मिल्ने उनको अनुभव छ । बाल्यकाल सम्झँदै उनी भन्छिन्, ‘पहिले आमा बिहानै उठेर गाईको दुध, बेलपत्र लिएर पूजा गर्न मन्दिर जाने गर्थिन्। अहिले म आफैँले पनि त्यो परम्परा निर्वाह गरिरहेकी छु ।’

साउन महिनाको व्रतले अनुशासन, संयम र श्रद्धाको भाव सिकाउने बताउँदै उनले हरियो रङलाई जीवनमा आशा र समृद्धिको प्रतीकका रूपमा लिएकी छिन्  । साथीहरूसँग चुरा किन्न बजार जाँदा हुने रमाइलो क्षण अझै विशेष लाग्ने गरेको उनको अनुभव छ । साउन महिनाको आगमनसँगै नेपाली हिन्दु समुदायमा विशेष उमंग र उल्लास छाउने गर्दछ ।


प्रत्येक वर्षझैँ यस वर्ष पनि साउने संक्रान्तिदेखि नै देशका विभिन्न सहरमा हरियाली पोसाक, चुरा र मेहन्दीको रौनक देखिन थालेको छ । धरान, इटहरीलगायतका सहरमा साउन लागेसँगै महिला दिदीबहिनी हरियो, पहेँलो र रातो रङका पहिरन, चुरा तथा मेहन्दीमा सजिएर धार्मिक आस्था प्रकट गरिरहेका छन् ।

धरान उपमहानगरपालिका– ३ की पवित्रा सुवेदी पनि साउनभर हरियो चुरा, पोते र पहिरनमा सजिन मन लाग्ने बताउँछिन्। उनले प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिर गई पूजापाठ गर्ने गरेको बताइन्। शिवको कृपा पाउन पार्वतीले जस्तै हरियो पहिरन र चुरा लगाएर व्रत बसिन्छ भन्ने विश्वासले गर्दा यो परम्परा पछ्याउँदै आएको उनले सुनाइन् । 

धरान उपमहानगरपालिका– २० की सरस्वती राई भन्छिन्, ‘साउनमा बजारको चहलपहल हेर्दा दसैँझैँ लाग्छ । उनले पनि साउनमा लगाउन केही दिनअघि नै बजार आई हरियो चुरा, पोते र कपडा किनेको बताइन्। 

साउनमा विशेषगरी सोमबारका दिन व्रत बसी शिव मन्दिरमा पूजा–आराधना गर्ने परम्परा रहिआएको छ । विशेषगरी विवाहित महिलाका लागि साउन महिना धर्म, संस्कृति र सौभाग्यको प्रतीकका रूपमा लिइन्छ । यस महिनाभर महिलाले व्रत बस्ने, शिव मन्दिर जाने, शाकाहारी भोजन ग्रहण गर्ने तथा हरियो शृंगारका सामग्री प्रयोग गर्ने परम्परा रहेको छ ।

साउन महिनालाई शिवजीको आराधनाको विशेष समयको रूपमा लिने गरिन्छ । यो महिनाभर व्रत बस्ने, मन्दिर जाने, चुरा–मेहन्दी लगाउने चलन पुरानै हो । तर, समयसँगै यसको महत्त्व अझ बढेको छ । अहिले महिलाहरूले यो समयलाई आत्मचिन्तन र आध्यात्मिक उन्नतिको समयका रूपमा पनि लिने गरेका छन् । साडीमा हरियो र पहेँलो रङको मेल, चुरा र मेहन्दीले सजिएको हात यी सबै कुराले हाम्रो संस्कृतिलाई जीवित राखेको छ ।

‘साउनको हरेक सोमबार मन्दिरमा शिव पूजाका लागि जाने हाम्रो परम्परा छ, म यसलाई केवल धार्मिक कर्तव्यको रूपमा होइन, महिलाहरूबिचको एकताको रूपमा पनि हेर्छु,’ इटहरी उपमहानगरपालिका– ७ की रमा बस्नेत भन्छिन्, ‘साउन महिनाभर हामी समूहमा पूजा गर्छौँ, भजन गाउने गर्छौँ, अनि एक–अर्काको घरमा प्रसाद बाँड्छौँ । यस्तो संस्कारले साथीहरूमा सम्बन्ध बलियो बनाउँछ ।’

साउन महिना हामी महिलाका लागि भने साँच्चिकै विशेष लाग्ने गरेको बताउँदै उनले भनिन्, ‘व्रत बस्दा शरीर शुद्ध हुन्छ, हरियो चुरा र पहेँलो कपडा लगाएर साथीहरूसँग मठमन्दिरमा पूजा गर्न जान्छौँ । यसले हाम्रा तन र मन पवित्र भएको अनुभव हुन्छ ।’
    
अहिले साउन महिनाको आगमनसँगै धरानको प्रमुख व्यापारिक क्षेत्र भानुचोक, सब्जीमण्डी, देसीलाइन, पुरानो बजारलगायतका स्थानमा रहेका कस्मेटिक तथा चुरा पसलमा उल्लेखनीय चहलपहल देखिएको छ । शृंगार सामग्री किनमेल गर्ने महिला ग्राहकको आवागमन बाक्लिँदै गएसँगै ती क्षेत्रमा बजार गतिविधि झनै रंगीन बनेको छ ।

व्यापारीहरूका अनुसार साउन महिनामा बिक्री हुने चुरा, मेहन्दी, टीका, क्लिप, बिन्दी, नेलपोलिस, सिन्दूरलगायतका शृंगार सामग्रीमा अन्य महिनाको तुलनामा उल्लेखनीय माग बढ्ने गरेको छ । विशेषगरी विवाहित तथा किशोरी महिला साउन महिनामा हरियो रङको चुरा र मेहन्दीप्रति आकर्षित हुने भएकाले बजारमा ती वस्तुको माग उच्च हुने गरेको गर्दछ ।

‘साउन एक महिनाको बिक्री अरू महिनाभन्दा दोब्बरजस्तै हुन्छ,’ धरान सब्जीमण्डीका व्यापारी सञ्जय महर्जन भन्छन्, ‘साउन सुरु भएपछि  ग्राहकको घुइँचो बिहानैदेखि लाग्ने गर्छ । अघिल्ला महिनामा फाट्टफुट्ट ग्राहक आउने, तर साउन सुरु भएपछि चुरा लगाउने ग्राहक महिलाको संख्याले बिहानैदेखि बेलुकासम्म नै पसलमा भिड हुन्छ ।’

यसरी साउनले बजारमा ल्याउने उत्साह र चहलपहलले स्थानीय साना व्यापारीलाई मात्र होइन, सम्पूर्ण बजारलाई नै जीवन्त बनाउने गरेको देखिन्छ । व्यापारी महर्जनले भने, ‘साउन महिना हामीजस्ता साना व्यापारीका लागि विशेष व्यस्तता र आम्दानीको राम्रो अवसर पनि हो ।’ 

साथै, मेहन्दी लगाउने चलन बढेसँगै धरानका सौन्दर्य सैलुन, ब्युटिपार्लरमा समेत सेवाग्राहीको चाप दोब्बर भएको देखिएको छ । धरानको देसीलाइनमा ब्युटिपार्लर सञ्चालन गर्दै आएकी रमिला खत्री साउन सुरु भएयता मेहन्दी लगाउन आउने महिलाको संख्या दिनहुँ बढ्दै गएको बताउँछिन्।

हरियाली, हरियो चुरा, हरियो मेहन्दी र हरियो पोसाकले साउनले नारी चेतनामा आध्यात्मिक अनुभूति थप्ने गरेको छ । धरानको सडकदेखि मन्दिरपरिसरसम्म र बजारदेखि नारी मनसम्म साउने हरियालीले आत्मालाई हरित भावनासँग जोड्ने गरेको छ । साउनमा विशेषगरी विवाहित हिन्दु महिलाले श्रीमानकाे दीर्घायुको कामना गर्दै व्रत बस्ने, हरियो चुरा र मेहन्दी लगाउने तथा शिव मन्दिरमा पूजाआजा गर्ने परम्परा छ । आज साउने संक्रान्तिको बिहानै धरानका मन्दिरमा पुजारी र दर्शनार्थीको संख्यासमेत उल्लेखनीय बढेको देखिन्छ ।

हिन्दु शास्त्रअनुसार हरियो रङलाई हरियाली, प्रेम र आशाको प्रतीक मानिन्छ भने पहेँलो रङ पवित्रता र रातो रङ सौभाग्यको संकेत हो । यी तीन रङको संयोजनमा शृंगार गरेर महिलाहरू शिव उपासना र व्रतमा सहभागी हुने गर्छन् । 

हिन्दु धर्मशास्त्रमा उल्लेख भएअनुसार साउन महिनाभर देवी पार्वतीले भगवान् शिवलाई प्राप्त गर्न निराहार व्रत बसी, हरियो चुरा, पोते, मेहन्दी र पहिरनमा सजिएर पूजा गरेको वर्णन पाइन्छ । यही धार्मिक प्रसंगलाई आधार मानेर नेपाली हिन्दु नारीहरूले यो महिनालाई सौभाग्य, पति दीर्घायु र पारिवारिक समृद्धिको प्रतीकका रूपमा मनाउने गर्छन् । रासस