मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

समयमा काम नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२३:oo

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जना लगाइएको छ। तोकिएको मितिमा पनि काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत् सम्झौताअनुसार जरिवाना गराइएको हो।

सम्झौताअनुसार आयोजनाको कुल रकमको ०.०५ प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ। दैनिक रु. दुई लाखभन्दा बढी क्षतिपूर्तिबापत रकम दिनुपर्ने सहरी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले मैदानको प्यारापिट बनाउन बिकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चर कम्पनी र फ्लडलाइट जडानका लागि विसन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालयमातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेको जानकारी दिए। ‘प्यारापिट बनाउन रु. ४९ करोड २५ लाख र फ्लडलाइट जडानका लागि रु. ४७ करोड ३७ लाखमा सम्झौता भएको थियो,’ उनले भने।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कन्ठले यही असार ३० गते ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जना लाग्ने जानकारी गराइसकिएको बताए।

‘असार ३० गते निर्माण कम्पनीलाई पूर्वनिर्धारित क्षतिपूर्तिबारे जानकारी गराइसकेका छौँ। मंगलबारदेखि उहाँहरूले दैनिक हर्जना तिरेर काम गरिरहनुभएको छ। काम नसक्दासम्म दैनिक हर्जना लाग्नेछ,’ उनले भने, ‘यसरी हर्जना तिरेर बढीमा २०० दिनसम्म अर्थात् आयोजनाको कुल रकमको १० प्रतिशत हर्जना हुने अवधिसम्म काम गर्न पाइने कानुनी व्यवस्था छ। सो अवधिमा पनि काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने व्यवस्था छ।’

निर्माण कम्पनीले एक महिनामा काम सक्ने प्रतिबद्धता जनाएको कन्ठले जानकारी दिए। उनका अनुसार चार हजार कुर्सी जडान भइसकेका छन् भने ६ वटा फ्लडलाइटमध्ये तीनवटा पोल आइसकेका छन्। प्यारापिटतर्फ वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ। फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तीय र ४५ प्रतिशत भौतिक प्रगति भएको कन्ठले जानकारी दिए। रासस