मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
सौरभ यादव सप्तरी
Invalid date format १९:४४:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सप्तरी प्राइड लिग : खडक वारियर्स र कञ्चनरूप राइनोज सेमिफाइनलमा

Read Time : > 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
Invalid date format १९:४४:oo

सप्तरीको राजविराजमा जारी सातौँ संस्करणको मेयर कप सप्तरी प्राइड लिग प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ। मंगलबार सम्पन्न दुई वटा खेलमा कन्चनरुप राइनोज समूह ‘ए’को तथा खडक वारियर्स समूह ‘बि’को उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेका हुन्।

राजविराज राजदेवी रोयल समूह ‘ए’ तथा तिरहुट टाइगर्स समुह ‘बि’को विजेताको रुपमा  यसअघि नै सेमीफाइनल प्रवेश गरिसकेका छन्। राजगढ वारियर्स, हनुमाननगर हिरोज, रोयल च्यालेन्जर्स बाह्री वीरपुर र रुपनी राइडर्स पहिलो चरणबाट बाहिरिएका छन्।

भोलि बुधबार प्रतियोगिताको दुवै सेमीफाइनल खेल हुनेछन्। जसमा राजविराज राजदेवी रोयलले खडक वारियार्ससँग तथा तिरहुट टाइगर्सले कन्चनरुप राइनोजसँग प्रतिस्पर्धा गर्नेछन्। उपाधि भिडन्त साउन १ गते बिहिबार हुनेछ। 

पबी स्कुलमा सम्पन्न आजको पहिलो खेलमा  हनुमाननगर हिरोजलाई ४ विकेटले पराजित गर्दै कन्चनरुप राइनोजले सेमीफाइनलमा स्थान पक्का गर्यो। कन्चनरुप राइनोजले ३८ रनको सामान्य लक्ष्य ८.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।

राइनोजको लागि महानन्द यादवले १२ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १४ रन बनाए। राकेश कामतले ८, रौनक सिंहले ६ तथा रिराज साहले ५ रनको योगदान दिए। हिरोजको बलिङमा सन्जन बैठाले सर्वाधिक ३ विकेट लिए पनि जितको लागि पर्याप्त रहेन। २.४ ओभरमा उनले २२ रन खर्चिए। गोमानन्द अमात्यले २ तथा सन्जिब मण्डलले १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको हनुमाननगर हिरोजले १०.३ ओभरमा ३७ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। राइनोजका बलर शम्भु मण्डल र अभिमन्यु सरदारले समान ४ विकेट लिंदै हिरोजको इनिङ धरासायी बनाए। प्लेयर अफ द म्याच घोषित मण्डलले ४ ओभरमा २२ रन खर्चिए भने सरदारले ३ ओभरमा ९ रन मात्र खर्चिए। यस्तै मुकेश सिंहले २ विकेट लिए। 

दोस्रो खेलमा खडक वारीयर्सले रोयल च्यालेन्जर्स बाह्री वीरपुरलाई ८ विकेटले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गर्यो। १२२ रनको लक्ष्य वारियर्सले मात्र २ विकेट गुमाएर १६ ओभरमा पूरा गर्यो।

वारियर्सको जितमा सन्तोष कार्कीले अविजित अर्धशतकीय योगदान गरे। सो क्रममा उनले ४० बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रन बनाए। यस्तै ओपनर फिर्दोश अन्सारीले ३४ बलमा ६ चौका प्रहार गर्दै अविजित ४३ रन बनाए। तेश्रो विकेटको लागि कार्की र अन्सारीले अविजित ९२ रनको साझेदारी गर्दै जितसम्म डोर्याए। वीरपुरको बलिङमा राहुल विकले १ मात्र विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बाह्री वीरपुरले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो। वीरपुरको लागि भीम यादवले सर्वाधिक २५ रन जोडे। तृतराज दासले २२, राहुल विकले १५ तथा अमित यादवले १४ रन बनाए। खडक वारियर्सका बलर फिर्दोश अन्सारी, अभिषेक कार्की र अनिल कुमार यादवले समान २ विकेट लिँदा पप्पु यादव (ए) र पप्पु यादव (बि)ले समान १ विकेट लिए।