
नेपाली राष्ट्रिय टोलीका युवा मिडफिल्डर लाकेन लिम्बू कम्बोडियाको शीर्ष डिभिजन क्लब किरिभोङ सोक सेन चे एफसीमा अनुबन्ध भएका छन् । सोके र लाकेनबिच एक वर्षको सम्झौता भएको क्लबले जनाएको छ । उनी आबद्ध क्लब गत सिजन १० क्लबमध्ये नवौँ भएको थियो । पछि पुछारका पाँच क्लबको प्लेअफमा तेस्रो भएको थियो ।
नेपाली राष्ट्रिय टोलीका उदीयमान मिडफिल्डर लाकेनले यसअघि भारतको आई लिग क्लब दिल्ली एफसी खेलेका थिए । उनी नेपाल सुपर लिग फ्रेन्चाइज क्लब झापा एफसीका मार्की खेलाडी हुन् ।
कम्बोडियाको क्लबमा आबद्ध भएपछि लाकेनले लामो प्रतीक्षापछि कम्बोडियन क्लबसँग सम्झौता भएको बताएका छन् । ‘कम्बोडियन क्लबमा आबद्ध हुन व्यग्र प्रतीक्षा गरेको थिएँ,’ उनले सोसल मिडियामा भनेका छन्, ‘त्यहाँको माथिल्लो डिभिजन क्लबबाट प्रतिस्पर्धा गर्न पाउँदा ज्यादै खुसी लागेको छ ।’
लाकेन लगातार चार वर्षदेखि नेपालमै खेलिरहेका छन् । सिंगापुरमा हुर्केका लाकेनसँग नेपाल र भारतका क्लबबाट खेलेर अनुभव छ । उनले आफ्नो अनुभव नयाँ टोलीका लागि सहयोगी हुने बताए । ‘मेरो अनुभव नयाँ क्लबमा प्रयोग हुनेछ, त्यहाँ सेन्ट्रल मिडफिल्डको भूमिकामा खेल्नेछु,’ उनले भने, ‘क्लबको सफलतामा योगदान दिने र नयाँ सहकर्मी भेट्न उत्सुक छु ।’
सिंगापुरमा हुर्केका लाकेन
२२ वर्षीय लिम्बू सिंगापुरमा हुर्किएका हुन् । उनले युवा अवस्थामै सिंगापुरमै फुटबल खेले । त्यसपछि उनी नेपाल फर्किएर व्यावसायिक फुटबल यात्रा सुरु गरे । उनले छोटो समयमै नेपाल राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । पछिल्लो दुई वर्षदेखि निरन्तर अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका छन् । राष्ट्रिय टोलीबाट एएफसी छनोट खेलमा एक गोल गरेका छन् । उनले ‘इमर्जिङ प्लेयर अफ दी सिजन’को उपाधि पनि जितेका छन् । लाकेनले थ्री स्टार, मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइजबाट ‘ए’ डिभिजन लिग खेलेका छन् । उनले भारतको आई–लिग क्लब दिल्लीमा एक सिजन बिताएका थिए ।
‘किरिभोङको प्रतिनिधित्व गर्नु मेरा लागि ठुलो सम्मानको कुरा हो । म नेपाल र भारतमा चार वर्षदेखि व्यावसायिक फुटबल खेलिसकेको छु,’ उनले भने । उनले राष्ट्रिय टोलीबाट अहिलेसम्म १६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले सन् २०२३ मा फिलिपिन्सविरुद्ध डेब्यु गरेका थिए । थ्री स्टारमा रहँदा उनले ३४ खेलमा तीन गोल गरेका थिए । यसैगरी, दिल्ली एफसीबाट १२ खेल खेले । नेपाल सुपर लिगमा झापाका लागि ६ खेलमा उनले एक गोल गरेका थिए ।