मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025
२o८२ असार ३२ बुधबार o९:o९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

२७ रनमै समेटियो वेस्ट इन्डिज

अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा घरेलु टोली वेस्ट टेस्ट इतिहासकै दोस्रो कम योगफलमा समेटियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३२ बुधबार o९:o९:oo

टेस्ट इतिहासमा वेस्ट इन्डिज दोस्रो कम योगफलमा समेटिएको छ । अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको दोस्रो इनिङ्समा वेस्ट इन्डिज २७ रनमै अलआउट भयो । किंग्सस्टोन मैदानमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई एक सय ७६ रनले हराउँदै सिरिजमाथि ३–० ले कब्जा जमायो । टेस्टमा वेस्ट इन्डिजको यो अहिलेसम्मकै खराब प्रदर्शन हो । यसअघि वेस्ट इन्डिजको फितलो ब्याटिङ प्रदर्शन सन् २००४ मा इंग्ल्यान्डविरुद्ध थियो । त्यसवेला वेस्ट इन्डिज इंग्ल्यान्डविरुद्ध ४७ रनमा अलआउट भएको थियो । टेस्ट फर्म्याटमा सबैभन्दा कम योगफल न्युजिल्यान्डले बनाएको छ । सन् १९८५ मा इंग्ल्यान्डसँगको टेस्टमा न्युजिल्यान्ड २६ रनमा आउट भएको थियो । 

किंग्सस्टोन मैदानमा अस्ट्रेलिया र न्युजिल्यान्डबिच लो स्कोरिङ खेल भयो । अस्ट्रेलियाले पहिलो इनिङ्समा दुई सय २५ रन जोड्यो । प्रत्युत्तरमा वेस्ट इन्डिज आफ्नो पहिलो इनिङ्समा एक सय ४३ रनमा धराशायी भयो । अस्ट्रेलियाले दोस्रो इनिङ्समा एक सय २१ रन जोड्दा वेस्ट इन्डिजले जितका लागि दुई सय चार रनको सहज योगफल पाएको थियो । तर, वेस्ट इन्डिजका कुनै पनि ब्याट्सम्यानले अस्ट्रेलियाको धारिलो बलिङको सामना गर्न सकेन । 

वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले खराब ब्याटिङका कारण पराजित भएको प्रतिक्रिया दिएका छन् । ‘हामीले यो टेस्ट जित्नुपर्ने थियो, तर ब्याटिङ अति नै कमजोर भयो,’ उनले भने, ‘कहिलेकाहीँ खेलमा नसोचेको परिणाम आउने गर्छ । तर, यो नतिजाबाट म निराश छु ।’ 

मिचेलको चार सय विकेट पूरा
फास्टबलर मिचेलले टेस्ट करिअरमा चार सय विकेट पूरा गरेका छन् । टेस्ट सिरिजका म्यान अफ दी सिरिजसमेत भएका उनले तीन खेलमा सर्वाधिक १५ विकेट लिए । अस्ट्रेलियाका लागि चार सय विकेट लिने उनी चौथो बलर हुन् । यसअघि सेन वार्न, ग्लेन म्याकग्राथ र नाथन लियोनले टेस्ट फर्म्याटमा चार सय विकेट पूरा गरेका थिए ।

बोलान्डको ह्याट्रिक
लक्ष्य पछ्याएको वेस्ट इन्डिजको सुरुवात निकै दयनीय भएको थियो । मिचेलले आफ्नो पहिलो ओभरमै वेस्ट इन्डिजका तीन ब्याट्सम्यानलाई आउट पारे । उनले इनिङ्सको ०.१ ओभरमा क्याम्पवेल, ०.५ ओभरमा एन्डसन र ०.६ ओभरमा किंगको विकेट लिए । वेस्ट इन्डिजले ५.२ ओभरमा ११ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो । त्यसपछि २६ रनको योगफलमा घरेलु टोलीले चार विकेट गुमायो । यसक्रममा बोलान्डले ह्याट्रिक लिए । उनले इनिङ्सको १३.१ ओभरमा जस्टिन, १३.२ ओभरमा जोसेफ र १३.३ ओभरमा वारिक्यानको विकेट लिँदै ह्याट्रिक गरे । वेस्ट इन्डिजको दोस्रो इनिङ्स केवल १४.३ ओभरसम्म मात्र रह्यो । समग्रमा अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको तेस्रो टेस्ट तेस्रो दिनमै जित्यो ।

सात खेलाडी शून्यमा आउट
वेस्ट इन्डिजलाई टेस्ट फर्म्याटकै दोस्रो कम योगफलमा सीमित बनाउन अस्ट्रेलियाका फास्टबलर मिचेल स्टार्क र स्कट बोलान्डले उत्कृष्ट प्रदर्शन गरेका थिए । मिचेलले ७.३ ओभरमा चार मेडन राखी नौ रन खर्चेर सर्वाधिक ६ विकेट लिए । बोलान्डले दुई ओभरमा दुई रन दिएर तीन विकेट लिए । जोस हेजलउडले पाँच ओभरमा एक विकेट लिँदा १० रन खर्चेका थिए । बेस्ट इन्डिजको ब्याटिङ इनिङ्समा सात खेलाडीले रन नै बनाउन सकेनन् । उनीहरू डकआउट भए । ओपनर जोहन क्याम्पेल, ब्रान्डोन किंग, सामार जोसेफ र जोमेल वारिक्यान गोल्डेन डकआउट हुनपुगे । यी चारै ब्याट्सम्यान सामना गरेको पहिलो बलमै पेभेलियन फर्केका थिए । काल्भोन एन्डसन, कप्तान रोस्टन चेज र सिलेन्सले पनि रननै जोड्न पाएनन् ।