
एक दिन १० र १२ वर्ष उमेरका दाजुभाइ नदीकिनारमा घुम्दै थिए । हिँड्दाहिँड्दै भूलवश भाइले दाजुको खुट्टामा कुल्चियो । दाजुलाई निकै दुख्यो । पीडाले रन्थनिएको दाजुले भाइलाई ‘राम्ररी हिँड्न जान्दैनस्’ भनेर गालामा एक थप्पड लगायो । भाइ गाला सुमसुम्याउँदै अघि बढ्यो । ऊ केही बोलेन । केही पर पुगेपछि उसले बालुवामा लेख्यो– आज दाजुको खुट्टामा झुक्किएर कुल्चिँदा उहाँले एक थप्पड हिर्काउनुभयो । मलाई धेरै दुख्यो ।
भोलिपल्ट दाजुभाइ खोलामा पौडी खेल्न गए । पौडी खेल्दाखेल्दै अचानक भाइलाई खोलाले बगायो । दाजुले हत्तपत्त हात समातेर उसलाई बचायो । पानीबाट बाहिर निस्किएपछि उसले एकछिन आराम गर्यो र ढुंगामा लेख्यो– आज पौडी खेल्दा नदीले मलाई बगायो । दाजुले हत्तपत्त हात समातेर बचाउनुभयो । दाजु महान् हुनुहुन्छ ।
भाइको अघिल्लो दिनको र आजको लेखाइ देखेको दाजुले सोध्यो– भाइ, हिजो तिमीले बालुवामा लेख्यौ, आजचाहिँ ढुंगामा लेखिरहेका छौ । यसको कारण मैले बुझ्न सकिनँ । यस्तो किन गर्यौ तिमीले ? भाइले नम्र स्वरमा भन्यो– दाजु, आमाले भनेको बिर्सिनुभयो हजुरले ? उहाँले नराम्रो कुरा जहिले पनि बालुवामा लेख्नुपर्छ र राम्रो कुराचाहिँ ढुंगामा लेख्नुपर्छ भन्नुभएको होइन ? भाइको कुरा सुनेर दाजुचाहिँ ट्वाल्ल परेर भाइलाई हेर्न थाल्यो ।