
जीवन बिमा कम्पनी र लघु जीवन बिमा कम्पनीले नवीकरण र म्यादी जीवन बिमाशुल्कलाई पनि व्यावसायिक लक्ष्यमा अनिवार्य रूपमा समावेश गर्नुपर्ने भएको छ । हाल कम्पनीहरूले मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक लक्ष्य निर्धारण गर्दा प्रथम बिमाशुल्क अनिवार्य छ । अब नवीकरण बिमाशुल्क तथा म्यादी जीवन बिमाशुल्क संकलनलाई पनि व्यावसायिक लक्ष्यमा राख्नुपर्ने भन्दै नेपाल बिमा प्राधिकरणले सोमबार निर्देशन दिएको हो ।
‘कम्पनीहरू सावधिक र एकल बिमाशुल्क भुक्तानी हुने बिमालेखलाई मात्र प्राथमिकता दिने गरेका गुनासा आउने गरेको, बिमकहरू ठुलो रकमको बिमाशुल्क संकलनमा केन्द्रित हुँदा बिमाको पहुँच न्यून आय भएका वर्गसम्म पुग्न नसकेको, बिमा अवधि नपुग्दै बिमालेख व्यतीत तथा समर्पण हुनेलगायतका समस्या देखापरेको र त्यसबाट गुणस्तरीय एवं भरपर्दो बिमा सेवा प्रवाहमा चुनौती थपिएकाले यस्तो निर्देशन दिएको हो,’ निर्देशनमा भनिएको छ ।