मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ३० सोमबार o९:३६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मौद्रिक नीतिलाई निजी क्षेत्रको स्वागत अर्थतन्त्र चलायमान हुने विश्वास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३० सोमबार o९:३६:oo

निजी क्षेत्रका विभिन्न संगठनहरूले आगामी आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीति स्वागतयोग्य भएको बताएका छन् । नेपाल राष्ट्र बैंकले गत शुक्रबार आगामी आवको मौद्रिक नीति सार्वजनिक गरेको थियो । त्यसपछि नेपाल उद्योग परिसंघ (सिएनआई), बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन), नेपाल समुद्रपार निकासी–पैठारी संघ, नेपाल चेम्बर अफ कमर्स र उद्योग संगठन मोरङले आइतबार विज्ञप्ति जारी गर्दै सकारात्मक प्रतिक्रिया दिएका छन् । पछिल्लो समय सुस्त जस्तै रहेको अर्थतन्त्र चलायमान हुने विश्वास उनीहरूको छ । 

सिएनआईले मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने बताएको छ । चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई उद्योग–व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रका आधारमा परिमार्जन गर्ने घोषणा सकारात्मक भएको सिएनआइको भनाइ छ ।

यस्तै, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक नीतिले स्पष्ट मार्गचित्र कोरेको बताएको छ । बैंक तथा वित्तीय संस्थाहरूले पुँजी कोषमा दबाब झेलिरहनुपरेको विद्यमान अवस्थामा कर्जा लगानी क्षमता बढाउने, कर्जा व्यवस्थापनलाई सहज बनाउने र पुँजी कोष सुदृढ बनाई वित्तीय स्थायित्व कायम गर्ने कार्यलाई प्राथमिकता राख्नु र बैंकदर तथा नीतिगत दर घटाइनुले कर्जा विस्तारमा सहजता ल्याउने सिबिफिनको भनाइ छ । 

यस्तै, नेपाल समुद्रपार निकासी–पैठारी संघले ब्याजदर घटाउने, कर्जा प्रवाह बढाउने र खराब कर्जाका कारण तनावमा रहेका बैंकहरूलाई राहत दिने उद्देश्यले मौद्रिक नीतिमा राखिएका लचिला प्रावधानले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताएको छ । 

नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने गरी आएको बताएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले आर्थिक पुनर्उत्थान एवं सहज कर्जा प्रवाहमार्फत वित्तीय क्षेत्र चलायमान हुने चेम्बरले उल्लेख गरेको छ । आगामी वर्षका लागि निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशत विस्तार गर्न सकिए हालको अधिक तरलता समस्या समाधान हुन सक्ने चेम्बरको भनाइ छ । 

यस्तै, उद्योग संगठन मोरङले बजार चलायमान हुन नसकिरहेको वर्तमान अवस्थामा समयमै मौद्रिक नीति सार्वजनिक गर्नु र त्यसमा बजेटसँग मौद्रिक नीतिसँग तादात्म्यता देखिनु सकारात्मक पक्ष भएको बताएको छ । संगठनका अध्यक्ष नन्दकिशोर राठीले अर्थतन्त्रमा शिथिलता छाएको अवस्थामा बजारलाई तत्काल चलायमान बनाउने उद्देश्यका साथ रियल इस्टेट र सेयर कर्जामा अपनाएको लचिलोपनाले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा लिएको बताए । घर निर्माण र खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा बढाउनु, जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित फर्म–कम्पनीलाई प्रवाहित कर्जाका लागि पुनर्संरचना र पुनर्तालिकीकरण गर्ने व्यवस्था सकारात्मक भएको उनले बताए ।