
राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको छानबिन गर्न माग गरेको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपा सांसद सुमना श्रेष्ठले मन्त्रिपरिषदमा रहेका केही मन्त्रीहरूको सेटिङ बाहिर आएको भन्दै त्यसको छानबिन गर्न माग गरिन् ।
कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे सेटिङ, जिल्लाको भूमि आयोगको अध्यक्ष नियुक्तिमा सेटिङ र भूमि विधेयक फास्ट ट्रयाकबाट पास गर्न खोजेको विषय बाहिरिएको भन्दै छानबिन हुनुपर्ने उनले बताइन् ।
त्यस्तै, श्रेष्ठले भिजिट भिसा प्रकरणमा सदनमा निरन्तर आन्दोलन हुँदा पनि भिजिट भिसामा मानवतस्करी गर्ने काम नरोकिएको भन्दै आक्रोश व्यक्त गरिन् । आफूहरूले उठाउँदै आएको भिजिट भिसाको प्रकरणको औचित्य प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रमबाट थप पुष्टि भएको उनले बताइन् ।
श्रेष्ठले भिजिट भिसाको प्रकरणमा यसअघिको कार्यदलको रिपोर्ट दराजमा थन्किएर बसेको भन्दै अहिले बनाएको कार्यदलको पनि कुनै औचित्य नभएको उल्लेख गरिन् । उनले भिजिट भिसाको प्रकरणमा संसदीय समिति नबनेसम्म आन्दोलन जारी रहने स्पष्ट पारिन् ।