मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २९ आइतबार
  • Sunday, 13 July, 2025
२o८२ असार २९ आइतबार o९:१८:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

त्रासमा बाँच्न विवश इरानबाट फर्काइएका अफगान महिला

तालिबानले नीतिगत रूपमै एकल महिलालाई जग्गा प्राप्त गर्न, एक्लै यात्रा गर्न र रोजगारीमा निषेध गरेको छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ असार २९ आइतबार o९:१८:oo

इरानले आफ्नो भूमिमा वर्षौंदेखि बसोवास गर्दै आएका झन्डै ४० लाख अफगानी नागरिकको देशनिकाला प्रक्रिया तीव्र बनाएको छ । दशकौँदेखि बस्दै आएको कर्मभूमि इरानबाट मातृभूमि अफगानिस्तान फर्काइन लागेकोमा कैयौँ अफगान नागरिक चिन्तित छन । चिन्तित हुनेमा धेरै महिला छन । देश फर्किएपछि तालिबानको कठोर धार्मिक शासनमा दमनमा बाँच्नुपर्ने सम्भावनाले उनीहरू त्रसित भएका हुन् । 

संयुक्त राष्ट्र संघको आप्रवासन एजेन्सीका अनुसार जुन महिनामा मात्र हजारौँ एकल महिलासहित दुई लाख ५० हजारभन्दा बढी अफगान नागरिक इरानबाट अफगानिस्तान फर्किएका छन । इरानले कागजात नभएका अफगानीलाई जुलाई ६ भित्र देश छोडन समयसीमा तोकेको थियो । समयसीमा नजिकिँदै गर्दा देशनिकाला हुनेको संख्यामा उलेख्य वृद्धि देखिएको थियो । 

दुई दशकपछि सन २०२१ मा सत्तामा फर्किएका तालिबानमाथि अफगानिस्तानमा लैंगिक विभेदकारी प्रणाली लागू गरेको आरोप लागिरहेको छ । यस्तोमा अफगानिस्तान फर्कने महिलाले दमनकारी कानुनको सामना गर्नुपर्नेछ । त्यहाँ महिलाले अनुहार देखाउन, बोल्न मात्र होइन, कतिपय सार्वजनिक स्थानमा देखा पर्नसमेत प्रतिबन्ध लागू छ । विगत दुई दशक लामो पश्चिम समर्थित उदारवादी शासनमा जागिर र शिक्षामा संलग्न भएकालाई अहिले ती क्षेत्रमा प्रतिबन्ध लागेको छ । यी नियम तोडेको पाइएमा सार्वजनिक भेला गरेर कोर्रा हानिन्छ ।

अफगानिस्तानको सीमा नाकामा भेटिएकी ४० वर्षीय साहर पाँच बालबच्चासहित यात्रा गरिरहेकी थिइन । ‘द गार्जियन’ र अफगान समाचार एजेन्सी ‘जान टाइम्स’को संयुक्त टोलीसँग कुरा गर्ने क्रममा उनले अफगानिस्तान फर्किएपछि कहाँ बस्ने टुंगो नभएको बताइन । उत्तरी अफगानिस्तानको बाघलान सहरकी विधवा साहर एक दशकभन्दा लामो समयदेखि इरानमा बस्दै आएकी थिइन । त्यहाँ उनले एउटा सानो सिलाइ कार्यशाला चलाउने गर्थिन । तर, जुनको अन्तिमतिर उनलाई एक्कासि दक्षिण सहर सिराजनजिकको शरणार्थी शिविरबाट उनका बालबच्चासहित हिरासतमा लिइयो । लगत्तै उनलाई इरानबाट देशनिकाला गरिएको थियो । ‘मलाई कपडा प्याक गर्न पनि दिइएन । सुरक्षाकर्मी मध्यरातमा आएका थिए । मैले उनीहरूसँग मेरो सामान संकलन गर्न दुई दिन समय दिन बिन्तीभाउ बिसाए । उनीहरूले मेरो कुरा सुन्दै सुनेनन, हामीलाई फोहोरजसरी फ्याँकिदिए,’ साहरले भनिन । 

विगतमा इरानले महिलालाई बिरलै देश फिर्ता पठाउँथ्यो । फिर्ता गरिनेमा प्राय: कागजात नभएका पुरुष श्रमिक हुन्थे । उनीहरू गिरफ्तारी परेर देश फर्काइने सम्भावना उच्च रहने गथ्र्यो । तर, पछिल्लो समय महिला फिर्तीको दर बढन लागेको अफगान सीमा अधिकारीले बताए । यस वर्ष मार्च र मे महिनाको बिचमा देशको दक्षिणमा अवस्थित निम्रोज प्रान्तको एउटा सीमा नाकाबाट मात्रै कम्तीमा सयजना एकल महिलालाई अफगान फर्काइएको तथ्यांक छ । पुरुष अभिभावकविना अफगानिस्तान फर्किएका महिलामाथि देश पस्नासाथ तालिबान कानुन लाग्छ । तालिबानले महिलालाई पुरुष आफन्त नलिई सार्वजनिक रूपमा एक्लै यात्रा गर्न निषेध गरेको छ । 

उच्च तापक्रमका कारण पनि अफगानिस्तान फिर्ती निकै कस्टकर हुने गरेको छ । अफगान सीमा अधिकारीले विगत दुई हप्तामा कम्तीमा १३ वटा शव इरानबाट आइपुगेको बताए । मृत्यु हुनेहरू गर्मी र तिर्खाले प्रताडित थिए वा इरानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणको क्रममा ज्यान गएको थियो भन्ने स्पष्ट नभएको उनले बताए । दक्षिणी अफगानिस्तानको सीमा नाकासम्म आइपुगेका धेरै अफगानीहरू आफूहरू तिर्खाएको, भोकाएको र थकित भएको बताउँछन । घन्टौँ घाममा हिँडेर आएका धेरैजसोसँग न कुनै सामान देखिन्छ, न कागजात । उनीहरू देश फर्किएपछि कहाँ बस्ने भन्नेबारे पनि अनभिज्ञ देखिन्छन । 

‘सिराजदेखि (अफगान सीमानजिकको) जाहेदानसम्म आइपुग्दा सीमा अधिकारीहरूले  हामीबाट सबै कुरा खोसे । मेरो बैंक कार्डमा एक करोड ५० लाख तोमान थियो । उनीहरूले पानीको बोतलको लागि ५० हजार तोमान र चिसो स्यान्डविचका लागि एक लाख तोमान लिए,’ साहरले भनिन । तालिबानले महरम (यात्रामा साथ दिन सक्ने वयस्क पुरुष) विनानिर्वासित महिलालाई छोटो अवधिको आश्रय र यातायात सहायता प्रदान गर्छ । तर, फर्किएका धेरैले यस्तो सहयोग नपाएको बताए । तालिबानले नीतिगत रूपमै एकल महिलालाई जग्गा प्राप्त गर्न, एक्लै यात्रा गर्न र रोजगारीमा निषेध गरेको छ ।

अफगानिस्तानमा फर्किएपछि के गर्ने भन्नेमा साहर विकल्पहीन छिन । बाघलानमा उनकी वृद्ध आमा बस्छिन । तर, घर छैन । पति नभएकाले तालिबान नियमअन्तर्गत उनी एक्लै यात्रा गर्न वा कानुनी रूपमा काम गर्न सक्दिनन । ‘मैले तालिबानहरूसँग जग्गा मागेँ । तर, उनीहरूले अस्वीकार गरे ।’ भर्खरै जन्मिएको शिशु लिएर फर्किएकी एक महिलाले आफूलाई खाना र आश्रयसमेत अस्वीकार गरिएको बताइन । 

संयुक्त राष्ट्र संघीय एजेन्सी अन्तर्राष्ट्रिय आप्रवासन संगठन र अन्य समूहहरूले सीमा नाकामा अस्थायी सहायता प्रदान गर्छन । तर, उनीहरूसँग दीर्घकालीन सहयोगका लागि जनादेश वा स्रोत छैनन । अफगानिस्तान फर्काइएकाहरूलाई हिरासतबाट अफगान सिमानासम्म बोक्ने बसमा आफूहरूमाथि मौखिक दुव्र्यवहार, आधारभूत सेवाका लागि घुस मागिएको र अत्यधिक गर्मीका बाबजुद वातानुकूलित नभएको महिलाहरूले गुनासो गरे । ‘तिनले यस्ता कुरा हामी अफगानीलाई नचाहिने बताए । मेरो बच्चा गर्मीले रोइरहँदासमेत चालकले हाँसेर हाम्रो खिल्ली उडाए,’ जाहरा (नाम परिवर्तन)ले भनिन । 

–द गार्जियनका लागि हमासा हकिकतयार र राद रादानको रिपोर्ट