मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
रामचन्द्र शर्मा
Invalid date format १o:३८:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

धर्मको उद्धार कसरी गर्ने ?

Read Time : > 3 मिनेट
रामचन्द्र शर्मा
नयाँ पत्रिका
Invalid date format १o:३८:oo

राजतन्त्रदेखि बहुदलीय संसदीय प्रजातन्त्र हुँदै अहिलेको गणतान्त्रिक व्यवस्थामा सत्तामा पुग्नेहरू धर्माचरणमा नबसिदिँदा अधिकांश कर्मचारी र सर्वसाधारणसमेतले धर्म पालना गर्न छाडिरहेका छन् । धर्मले कर्ता सुधार्छ होस, बोध र ज्ञान दिएर । वेदको अर्थ नै ज्ञान हो । सुध्रेको कर्ताले सतकर्म गर्छ । सतकर्म भनेको जीवनको सत्य जानेर गरिने व्यवहार हो ।

जीवनको कुरा सुरु गर्दा जीवन बितिरहेको बोध र ज्ञानको उपयोग गरेर मौकाको अधिकतम सदुपयोग गर्न सुझाएका छन् ऋषिहरूले । बोध नै जीवन हो, होसले बोधलाई सघाउँछ । होसको सम्बन्ध उठ्ने, बस्ने, खाने, पिउने, हाँस्ने बोल्ने, अनुभव गर्नेसँग छ ।

जीवन बहुआयामिक छ । छोराछोरी, पतिपत्नी, आमाबाबु, कर्मचारीदेखि प्रधानमन्त्री, छिमेकी साथीभाइ, नातागोता सबै एकै मानिसका अनेक जीवन हुन् । हरेक जीवनले महाभारतको सामना गर्नुपर्छ । महाभारत भनेको वृत्ति हुन् । वृत्तिले विचार पठाउने र क्षण–क्षणमा विचार बदल्ने काम गर्छ । वृत्तिको स्वभाव आलसको हुने हुँदा विचार कार्यान्वयनमा लान दिँदैन । बोधले सीधै वृत्तिमा आक्रमण गरेर विचार कार्यान्वयनमा लान्छ । बोधले म र मेरो भन्ने अहं र दुनियाँबिचको सम्बन्ध र गतिविधि नियाल्दै अनुभव र अनुभोक्ता एकसाथ हेर्ने हुँदा विचारको सीमा जान्दछ । विचारको उच्शृंखलता रोक्दछ । बोधको नियन्त्रणमा पर्छ अहं । अपूर्णताको बेचैनी मेटाउन शरीर, मस्तिष्क र संसारको सहारा लिँदै विचारको उच्शृंखलता मच्चाएर अस्तित्वमान रहेको अहं बोधको नियन्त्रणमा परेपछि गति रोकिन्छ । अहंको गति मन हो । मन स्थिर भएपछि मनको बहकाउमा आएको अहंलाई झट्का लाग्छ, झट्काले होस खुल्छ, होसले आफू स्वयं आत्मामा अवस्थित भएको बोध गर्छ । अहंलाई आफू स्वयं आत्मा भएको ज्ञान हुनु नैं आत्मज्ञान हो ।

ज्ञानको विरासत नभएको अवस्थामा लामो तप, ध्यानको साधना गरेर ऋषिहरूले रचना गरेको वेदको सुरुमा इन्द्रादि देवता, सयौँ मन्त्र र प्रकृति पूजाको कर्मकाण्ड वर्णन गरिएको छ, उतिवेलाको कृषिमा आधारित जनजीवनको आवश्यकता सम्बोधन गर्न । पछि वेदमा आधारित अनुसन्धान गर्दै वेदको महत्वपूर्ण कुरा समेटेर उपनिषद्, वेदान्त र गीता रचना गरिए । उतिवेलाको जनमानसको बौद्धिक स्तर र उपलब्ध साधनस्रोतको विचार गरी सबैलाई सरल रूपमा धर्म बुझाउन सकियोस् भनेर कथा शैलीमा विभिन्न पुराण रचना भए । वेदान्तलाई धर्म र अन्य सबै शास्त्रको ताला खोल्ने साँचो अर्थात् मूल संविधान भनियो । वेदान्तको सरोकार सत्यसँग मात्र राखियो । आस्तिक र नास्तिक छुट्याउने आधार ईश्वरलाई नबनाएर सत्यलाई बनाइयो । मनमा संसार जगत् जे–जस्तो प्रतीत हुन्छ, त्योभन्दा पर सत्य छ भन्नेमा विश्वास गर्ने आस्तिक र मनमा जे चलेको छ, त्यसैलाई सत्य मान्ने नास्तिक हो भनिदिए ऋषिहरूले ।

सिद्धार्थ गौतमको पालासम्म आइपुग्दा धर्मका नाममा नि:सार कर्मकाण्ड र पशुबलि प्रथा चलाएर वेदान्त र उपनिषद् तिरस्कार गरिएको थियो । जन्म, मृत्यु, व्याधि र वृद्धको दु:ख देखेर दु:ख निवारणको उपाय खोजीमा युवराज सिद्धार्थ गौतमले दरबार छाडे । वेदान्तको गहिरो अध्ययन र तपध्यानबाट बुद्धत्व प्राप्त गरी उनले चार आर्य सत्य दु:ख छ, दु:खको कारण छ, कारणको निवारण र निवारणको आष्टांगिक मार्ग सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वाक्, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि जनसमक्ष ल्याए ।

जुन ध्यानको अभ्यासले बुद्धत्व प्राप्त गरे सिद्धार्थ गौतमले अरूलाई पनि त्यही अभ्यास गराएर धर्म फलको स्वाद चखाए । फलको स्वाद चखाउने धर्मका तीन सिँढी शील, समाधि र प्रज्ञा हुन् । प्राणी हत्या नगर्नू, चोरी नगर्नू, झुटो नबोल्नू, व्यभिचार नगर्नू र नशा नगर्नू जस्ता पाँच शीलले सदाचारमा राख्छ । ६ इन्द्रिय आँखा, कान, नाक, जिब्रो, छाला र मन आ–आफ्नो विषय रूप, शब्द, गन्ध, रस, स्पर्श र विचारसँग ठोक्किँदा चित्त र शरीरमा हुने जीव– रासायनिक प्रतिक्रिया र प्रपञ्च समाधिले निरीक्षण गर्छ । निरीक्षण गर्दा शरीरमा सुखद र दु:खद संवेदना आफैँ उत्पत्ति र विलय हुने, ती संवेदनाप्रति समता र साक्षी भावले हेर्दा राग, द्वेष, मोह जाग्न नपाउने सच्चाइ प्रत्यक्ष स्वअनुभूतिमा आई भावनामय प्रज्ञा जगाउँछ । जागेको प्रज्ञाले चित्त राग, द्वेष र मोहरहित बनाई शुद्ध र निर्मल राखेर तत्क्षण आनन्द दिलाएसँगै अरू सारा प्राणी र वनस्पतिप्रति दया र करुणा उत्पन्न गराउँछ । आफूमा अरू र अरूमा आफू देख्न सक्ने हुन्छ मानिस । विषय–वासनाप्रति अनासक्त भई तृष्णा जाग्नै रोकिन्छ । राग, द्वेष, आलस्य, बेचैनी र सन्देहजस्ता मुख्य शत्रुको नाश गर्छ । श्रद्धा, पराक्रम, जागरुकता, समाधि र प्रज्ञासँग मित्रता गाँस्छ । अनात्म अर्थात् अहंकारी अहंभाव निकाल्दै, दार्शनिक मान्यताको विवादबाट जोगाउँदै, हीन र अहं भावनाको बिचबाट मध्यमार्ग तय गर्दै आनन्द र शान्तिको जीवनरूपी गन्तव्यमा पुर्‍याउँछ बुद्धको विपस्यना ध्यान विधिले ।

ईशावाश्य उपनिषद्को ११औँ श्लोकमा भनिएको छ– 
विध्याचांविध्याचं यास्तद्वेदोभयं सह ।
अविध्या मृत्युं तीत्र्वा विघयामृतमश्नुते ।

अर्थात्, जो व्यक्ति विद्या (आत्मज्ञान) र अविद्या (सांसारिक ज्ञान) दुवै एकसाथ जान्दछ, उसले अविद्याको माध्यमबाट मृत्यु (अज्ञानता वा संसारको भय) पार गर्न सक्छ र विद्याद्वारा अमरत्व (मुक्ति) प्राप्त गर्छ ।

निष्काम कर्म र स्वधर्ममा जोड दिएको भागवत गीताको १५औँ अध्यायको १०औँ श्लोकले उत्क्रामन्तं स्थितं वापि भुंजानं वा गुणान्वितम् । विमूढा नानुपश्यन्ति पश्यन्ति ज्ञानचक्षुष:। अर्थात् ज्ञानीहरूले ज्ञानचक्षुद्वारा हृदयमा बसेको आत्मतत्व देखेर प्रकाशित (रागद्वेष मोहरहित) हुन्छन् । अज्ञानी विमूढले ज्ञानचक्षु नखुलाई बाहिरी आँखाले देखेका अनगिन्ती विषयप्रति आसक्त भएर राग, द्वेष, मोहमा जेलिन्छ भनेको छ ।

अष्टावक्र गीताको पन्ध्रौँ प्रकरण पाचौँ श्लोकमा’ रागद्वेषौ मनोधर्मा न मनस्ते कदाचन । निर्विकल्पोसि बोधात्मा निर्विकार: सुखं चर ।।५।। अर्थात् रागद्वेष मनका धर्म हुन्, तिम्रा होइनन् । मन कहिल्यै पनि तिम्रो होइन । तिमी निर्विकल्प निर्विकारबोध स्वरूप आत्मा हौ । यसकारण सुखपूर्वक घुमफिर गर भनेर राजा जनकलाई अष्टावक्र ऋषिले बताएका छन् ।

अहिलेका अधिकांश धर्मगुरुहरूले विज्ञान प्रविधिले युक्त, हरकुराको आधार प्रमाण खोज्ने तीक्ष्ण सांसारिक ज्ञान भएको आधुनिक पुस्तालाई सिद्धार्थ गौतमको पालाका धर्मगुरुहरूले झैँ पुराणका कथाको वाचन गर्दै नि:सार कर्मकाण्ड गराई वेदान्त र उपनिषद् तिरस्कार गरिदिएकाले अधर्मी सांसारिक मायाको जालो नासिएन, झनै फैलियो ।

वेदान्त, उपनिषद्, गीता र बुद्ध शिक्षाको ज्ञान बाँड्न भारतमा आचार्य प्रशान्तले फाउन्डेसन नै खोलेर वर्षौंदेखि प्रशिक्षण दिँदै आएका र भारतीय टेलिभिजनमा धर्म लोपको एजेन्डाले कभरेज पाएको छ । धर्मले सिंगो मानवजातिलाई जोड्छ । सांसारिक मायाले अरू सबैको शोषण गरी आफ्नो अहंलाई पोषण दिन फुटाउँछ । आफू तनाव जिउँछ अहं, अरूलाई पनि तनावै दिन्छ । अत: हामी सबै मिलेर ऋषि पतञ्जली र बुद्धले चित्त वृत्ति निरोध गर्न दिएको ज्ञान र विधि यम, नियम तथा शील पालन गर्दै धानस्थ भएर आत्मज्ञानको प्रज्ञा जगाई मनका विकार हटाएर परमानन्दमा स्थित होऔँ । स्थितप्रज्ञमा रहौँ ।