१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २२ आइतबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
२o८२ असार २२ आइतबार ११:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवरुद्ध नाला–भक्तपुर सडकखण्ड ह्युमपाइप राखेर खुलाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८२ असार २२ आइतबार ११:४५:oo

अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ । काभ्रेको बनेपा नगरपालिका– ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि सो सडकमा यातायात अवरुद्ध भएको थियो ।

भाँचिएको पुल अस्थायी रूपमा सञ्चालनमा ल्याइएपछि यातायात सञ्चालन भएका हुन् । गएराति ६ वटा ठुल्ठुला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरेपछि आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार बनेपा नगरपालिका कार्यालय तथा सडक विभागको समन्वयमा रातभरमा अस्थायी रूपमा पुल सञ्चालनमा ल्याइएको हो ।

यहाँको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक राजधानी काठमाडौँको पूर्वीनाका आवतजावत गर्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो । उक्त पुल २३७ सालमा निर्माण भएको जनाइएको छ । स्थानीयका अनुसार शनिबार राति मालवाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्मित उक्त पुल भाँचिएको थियो । पुल भाँचिएपछि अवरुद्ध उक्त वैकल्पिक सडकखण्डमा राजधानी जाने र राधजानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको थियो । हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोक धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका हुन् ।