
‘ग्लोबल आइएमई समुन्नत योजना–२’को इकाइ आइतबारदेखि बिक्रीमा आउँदै छ । ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस योजनाको कोष प्रवर्द्धकमा ग्लोबल आइएमई बैंक र योजना व्यवस्थापक तथा डिपोजिटरीमा ग्लोबल आइएमई क्यापिटल रहेका छन् ।
यस योजनाको आकार एक अर्ब २० करोड रुपैयाँ छ । जसअनुसार प्रतिइकाइ १० अंकित दरमा १२ करोड इकाइ निष्कासन हुनेछ । यसमध्ये १८ लाख इकाइ योजना व्यवस्थापकलाई र एक करोड ६२ लाख इकाइ कोष प्रवर्द्धक ग्लोबल आइएमई क्यापिटललाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री गरिने बताइएको छ । यसमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम एक करोड २० लाख इकाइसम्म आवेदन दिन पाउनेछन् ।
योजनाको निष्कासन छिटोमा असार २५ र ढिलोमा साउन ४ गते बन्द हुनेछ । बन्दमुखी यस योजनाको कुल निष्कासनमध्ये बिक्री अवधिभर न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री हुनुपर्नेछ । बिक्री हुन नसकेमा योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गरिनेछ ।