
आर्थिक वर्ष ०७४/७५ मा संकलन भई विभिन्न सबडिभिजन र साझेदारी तथा सामुदायिक वनमा थन्केर रहेका साल तथा अन्य कुकाठ लिलाम तथा बिक्री गरिएको छ । वर्षौँदेखि थन्केर काम नै नलाग्ने र राजश्वसमेत गुम्ने अवस्था आएपछि वन कार्यालयले डिभिजन वन कार्यालयको पहलपछि लिलाम तथा बिक्री गरिएको हो । महोत्तरीस्थित बाँके महरा साझेदारी वन, टुटेश्वरनाथ साझेदारी वन, गढन्ता साझेदारी वन, जिल्ला वन पैदावार आपूर्ति समिति, सामुदायिक वन र डिभिजन वन कार्यालय स्वयंले समेत ती काठ लिलाम तथा बिक्री गरेको हो ।
डिभिजन वन कार्यालयका कार्यालय प्रमुख डिएफओ अजय मिश्रले आव ०७४/७५ मा संकलन भई साल र सालबाहेकका अन्य जातका काठ तीनवटै साझेदारी वनबाट ४५ हजार ४०० क्युफिट र आव ०८१/८२ सम्म संकलन भएका सालका काठ १४ हजार ७०० क्युफिट लिलाम बिक्री भएको बताए । उनले सालबाहेकका अन्य काठबाट समूहको खातामा ३३ लाख ५० हजार रुपैयाँ जम्मा भएको तथा सोही रकमको मूल्य अभिवृद्धि कर चार लाख ३५ हजारभन्दा बढी उठेको बताए । सालको काठबाट एक करोड ७५ लाख समूहको खातामा जम्मा भएको तथा मूल्य अभिवृद्धि कर २२ लाख ७५ हजार उठेको उनको भनाइ छ ।
मिश्रले जिल्ला वन पैदावार आपूर्ति समितिबाट जिल्लाभरिका ७३ उपभोक्तालाई ३७६७.०१ क्युफिट काठसमेत बिक्री गरेको बताउँदै सोही काठबाट राजस्व/समितिको शुल्क र मूल्य अभिवृद्धि कर गरी कुल ५४ लाख एक हजार ३२९ रुपैयाँ संकलनसमेत भएको बताए ।
महोत्तरीमा सामुदायिक वनबाट समेत काठ–दाउरा वितरण भएको बताउँदै डिएफओ मिश्रले रातु महिला सामुदायिक वन, सरस्वती सामुदायिक वन र अर्ना भुल्के सामुदायिक वनबाट ४११५ क्युफिट काठ–दाउरा बिक्री वितरण गरी सामुदायिक वन उपभोक्ता समितिको खातामा ४५ लाख २० हजार रुपैयाँ, राजस्व सात लाख ९७ हजार ६५१ र मूल्य अभिवृद्धि कर सात लाख ८८ हजार ५९२ रुपैयाँ उठेको बताए ।
यसका अलावा डिभिजन वन कार्यालयले समेत आव ०७४/७५ मा संकलित पुराना काठ तथा दाउरा बिक्री तथा लिलाम गरेको उनले जानकारी दिए । १२ हजार ९८४ क्युफिट काठ डिभिजन वन कार्यालयबाट लिलाम तथा बिक्री गरी ३८ लाख ९० हजार ३९४ रुपैयाँ राजस्व तथा चार लाख ७३ हजार ९०८ मूल्य अभिवृद्धि कर संकलन गरेको उनको भनाइ छ ।