
साढे चार वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक निकायहरूमा गरेको नियुक्तिविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतबाट आएको पछिल्लो फैसलापछि पूर्वन्यायाधीश र वरिष्ठ कानुनविद्हरूले दर्जनौँ प्रश्न उठाएका छन् । फैसलाले कार्यपालिकालाई मनपरी गर्ने ढोका खोलेको, विधिको शासनको प्रत्याभूति गर्न नसकेको र लोकतान्त्रिक प्रणालीमाथि गम्भीर असर पार्न सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
प्रधानन्यायाधीशको नेतृत्वमा वरिष्ठतम न्यायाधीशहरू सम्मिलित संवैधानिक इजलासको फैसलाप्रति असन्तुष्टि जनाउँदै कानुनका जानकारहरूले यस्तो निर्णयले थुप्रै प्रश्न उठाउने ठाउँ दिएको र खास गरेर न्यायालयप्रतिको भरोसामा चोट पुगेको टिप्पणी गरेका छन् । फैसलाले संविधानको मर्म, विधिको शासन र शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर बनाउने सम्भावना रहेको भन्दै उनीहरूले यसको दीर्घकालीन प्रभावबारे गम्भीर बहस आवश्यक भएको धारणा राखेका छन् ।
पूर्वन्यायाधीश बलराम केसीले संवैधानिक इजलासले संविधानको व्याख्या गर्ने अपेक्षा पूरा गर्न नसकेको टिप्पणी गरे । ‘रिट खारेज वा जारी गर्ने निर्णय न्यायाधीशको इच्छाजस्तो देखियो,’ उनले भने, ‘सरकारलाई मनलाग्दी अध्यादेश ल्याएर काम गर्न, संसद् विघटन वा स्थगन गरेर पनि अध्यादेश जारी गर्न सक्ने बाटो खुलाइएको छ । सपना प्रधान मल्लले रिट खारेजको पक्षमा रहे पनि संसदीय सुनुवाइ गर भनेर जुन भन्नुभएको छ, त्यसले संवैधानिक त होइन, तर नैतिक प्रश्न भने नियुक्त भएकाहरूमाथि उठेको छ ।’
अधिवक्ता भीमार्जुन आचार्यले यो फैसलालाई नेपालकै न्यायिक इतिहासमा दुर्बलतममध्ये एक मानेका छन् । ‘नेपालको न्यायिक इतिहास हेर्दा जुन गाम्भीर्य र महत्व बोकेको मुद्दा थियो, त्यसअनुसार यति कमजोर फैसला सायद भएको थिएन । एपेक्स कोर्टबाट भएको फैसलाको शब्द–शब्दको पनि ठुलो अर्थ रहन्छ । यसको फैसला न्यायसंगत, तर्कसंगत, उचित र संवैधानिक व्याख्यासहितको हुनुपर्छ । आममानिसले पढ्दा कन्भिन्स हुनेखालको हुनुपर्छ । फैसला लेखनको शिल्पका हिसाबले यो कमजोर र सतही छ । म दु:खी छु,’ उनले भने ।
उनका अनुसार फैसलाबाट कार्यपालिकाको स्वेच्छाचारिता बढ्न सक्छ र न्यायालयप्रति जनविश्वास कमजोर हुने खतरा छ । ‘यसले न्यायालयको क्षमतामाथि प्रश्न उठाउँछ । दोस्रो भनेको, संविधानवाद र विधिको शासन प्रत्याभूत गराउन यो फैसला चुकेको छ । यसबाट अध्यादेशमार्फत संविधान र संसद्ले बनाएको कानुनलाई प्रभाव पार्न सक्ने खतरा देखियो । शक्तिसन्तुलनमा असर गरेको छ । कार्यपालिकीय अराजकता र स्वेच्छाचारिता बढ्न सक्ने देखिन्छ । अर्को यसको असरचाहिँ न्यायिक कार्यसम्पादनमाथिको आस्था खलबलिने ठाउँ दियो । अन्य निकायभन्दा सर्वोच्च अदालत भिन्न हो भन्ने फैसला र न्यायसम्पादनबाट देखिनुपथ्र्यो । तर, अहिले प्रश्न गर्ने ठाउँ दियो,’ उनले भने ।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले यो फैसलाले लोकतान्त्रिक प्रणालीभन्दा निरंकुश सरकारको सम्भावना बढाएको बताए । ‘अध्यादेश ल्याएर काम गर, पछि खारेज गरिदेऊ भन्नेलाई कार्यपालिकीय ‘बुद्धिमत्ता’ ठानिएको छ,’ उनले भने, ‘यसले संसद्को बाध्यात्मक भूमिका कमजोर बनाउँछ र न्यायिक परीक्षणको अधिकारलाई समेत सीमित पार्छ ।’ उनका अनुसार फैसलाले कार्यपालिकाले ल्याएको अध्यादेशको न्यायिक परीक्षण गर्न सकिँदैन, र व्यवस्थापिकाको अधिकार कुण्ठित भए पनि त्यसको संरक्षण गर्न सकिँदैन भन्ने सन्देश दिएको छ । ‘अर्को भनेको कार्यपालिकाले अध्यादेश ल्याएर जे गरे पनि भयो, त्यसको न्यायिक परीक्षण हामी गर्न सक्दैनौँ, व्यवस्थापिकाको अधिकार केही भयो भने हामी रक्षा गर्न सक्दैनौँ भनेको हो,’ उनले भने ।
बारकी पूर्वउपाध्यक्ष रक्षा बस्यालले फैसलाले लोकतान्त्रिक मूल्य–मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तमा नै प्रश्न उठाएको बताइन् । ‘जुन फैसला आएको छ, यसबाट लोकतान्त्रिक मूल्य–मान्यतामाथि पनि प्रश्न उठेको छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका शक्ति पृथकीकरणका सिद्धान्तमा आधारित छन् । चेक एन्ड ब्यालेन्स गर्नुपर्नेमा अदालतले ब्यालेन्स गर्न सकेन । व्यवस्थापिका र कार्यपालिकाबाट भएका गलत काम सच्याउने न्यायपालिकाले हो । तर, त्यसो भएको देखिँदैन,’ उनले भनिन् ।
उनका अनुसार यसवेला सर्वसाधारणमा दल, नेता, प्रणाली, ब्युरोक्रेसीप्रति एउटा वितृष्णा देखिन्छ । उनले भनिन्, ‘यस्तो वेलामा नागरिकको मन जित्ने फैसला गर्नुभन्दा पनि न्यायालय मेरो, न्यायाधीश मेरो हुनुपर्छ अनि जस्तो पनि फैसला हुनेरहेछ भन्ने सोचाइ आमनागरिकमा बढेको छ । विश्वासमा कमी ल्याएजस्तो देखिन्छ । अर्को भनेको मान्छेले अब अख्तियार, निर्वाचन आयोग, लोकसेवाजस्ता महत्वपूर्ण संस्थाहरूमा राम्राभन्दा पनि हाम्रा मान्छे पुग्दारहेछन्, दलनिकट हुनु जरुरी नै छ जस्तो सोच्ने भए । प्रश्न उठेपछि जुन जवाफ सर्वोच्चले दिनुपथ्र्यो त्यो दिएन । व्यवस्थालाई सुदृढ बनाउनुपर्नेमा अन्तत: लोकतन्त्रमाथि मार परेको छ ।’
संविधानविद् डा. रुद्र शर्माका अनुसार यो फैसला दीर्घकालीन असर पार्ने खालको कानुनी नजिर बन्न असफल भएको छ । उनका अनुसार कानुनको शासनमा दीर्घकालीन प्रभाव पार्ने दृष्टिले यो फैसला अपेक्षाकृत कमजोर देखिएको छ । ‘विवाद समाधान हुनु एउटा पक्ष हो, जहाँ हारजित स्वाभाविक रूपमा हुन्छ । तर, संवैधानिक इजलाससँग अपेक्षा के हुन्छ भने त्यहाँबाट दीर्घकालीन प्रभाव पार्ने कुनै सिद्धान्त वा नजिर स्थापित होस् । तर, हालैको यस फैसलाले कानुनी शासन सुदृढ गर्न सहयोग पुर्याउने खालको नजिर स्थापित गर्यो त भन्ने गम्भीर प्रश्न उठ्छ,’ उनले भने, ‘कानुनको शासनमा दीर्घकालीन प्रभाव पार्ने दृष्टिले हेर्दा यो फैसला अपेक्षाकृत कमजोर देखिएको छ । यस्तो प्रकारको फैसला त कालजयी हुनुपर्ने, जुन भविष्यमा बारम्बार उद्धृत गरियोस् भन्ने अपेक्षा हुन्छ । तर, यो फैसलाको व्यावहारिक प्रयोग र सन्दर्भिकता त्यस्तो हुनेछ त भन्ने शंका रहन्छ । त्यसकारण यो फैसला दीर्घकालीन सन्दर्भमा कमजोर साबित हुने भयो भन्ने लाग्छ ।’
वरिष्ठ अधिवक्ता बाबुराम दाहालले फैसलामा संवैधानिक इजलास चुकेको प्रतिक्रिया दिए । ‘न्यायाधीशहरूले यसरी छरपस्ट रूपमा राय बझाउन हुँदैन थियो । रिट खारेज हुने अवस्था आइसकेपछि अल्पमतवाला न्यायाधीशहरूले भविष्यका लागि परमादेशको बाटो रोजेको भए अदालतप्रति आमनागरिकको विश्वास वृद्धि हुन्थ्यो । संवैधानिक इजलासमा उच्च निष्ठावान् र वरिष्ठतम न्यायाधीश रहने भएकाले जे गर्दा एकमतको फैसला आउँथ्यो त्यही गर्नुपर्थ्यो । यसमा संवैधानिक इजलास चुकेको छ,’ उनले भने ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले ६ सदस्य रहने संवैधानिक परिषद्को संरचनामा फेरबदल गरी गणपूरक संख्यासम्बन्धी व्यवस्था संशोधन गरे । सदनमार्फत कानुन निर्माण तथा संशोधन हुने भए पनि उनले ०७७ पुस र ०७८ जेठमा गरी दुईपटक प्रतिनिधिसभा विघटन गरेका थिए । यसकारण उनले अध्यादेशमार्फत नै गणपूरक संख्या तीनजना मात्र भए पनि पुग्ने व्यवस्था गरे ।
उपसभामुखको पद रिक्त रहेको तथा प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित रहेको बैठकबाट विभिन्न संवैधानिक पदमा नियुक्ति सिफारिस गरियो । बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना तथा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहभागी थिए ।
३० मंसिर ०७७ र २६ वैशाख ०७८ मा क्रमश: ३८ र २० जनाको नाम सिफारिस गरिएको थियो । यस्तोमा अध्यादेशको वैधानिकता र नियुक्तिको खारेजी माग गर्दै सर्वोच्चमा १५ वटा रिट दर्ता भएका थिए । यी नियुक्ति सिफारिसका वेला सदन विघटित अवस्थामा रहेका कारण संसदीय सुनुवाइविना नै सिफारिस भएका पदाधिकारीले नियुक्ति बुझेर काम थालेका थिए ।
यिनै मुद्दामा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा रहेको संवैधानिक इजलासले गत माघदेखि सुनुवाइ थालेको थियो । इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीसमेत रहेकोमा तीनजनाको बहुमतले सबै नियुक्ति सदर गर्ने फैसला गर्यो भने प्रधानन्यायाधीशसमेत दुईले पछिल्लो नियुक्ति सदर र पहिलेको नियुक्ति सिफारिस निर्णय बदरको फैसला गरेका थिए ।
संवैधानिक पदाधिकारीहरूको कार्यकाल ६ वर्षको रहने गरेकोमा चौथो वर्षमा बल्ल यी मुद्दाको सुनुवाइ सुरु भएको थियो । गत २८ जेठमा निर्णय सुनाउने मिति तोकिए पनि सारेर १८ असारका लागि पुर्याइएको थियो । यसमा पनि मध्यरातपछि मात्र तीनथरी न्यायाधीशले पाँचथरी राय व्यक्त गरेर फैसला गरेका थिए ।
न्यायाधीशहरू कुमार चुडाल र मनोजकुमार शर्माले ५८ वटै नियुक्ति सिफारिस सदर हुनुपर्ने तथा रिट खारेज हुनुपर्ने फैसला गरेको हदसम्म न्यायाधीश सपना प्रधान मल्लले पनि सहमतीय राय दिएकी छिन् । अर्कातिर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र नहकुल सुवेदीको राय केही फरक छ ।
न्यायाधीश मल्लले भने अध्यादेशका बलमा नियुक्त भएकालाई फैसला भएको मितिले ४५ दिनभित्र संसदीय सुनुवाइ प्रक्रियामा लैजान र सुनुवाइ समितिले योग्य देखे साबिकमा नियुक्त मितिबाटै पदावधि गणना हुने व्यवस्था मिलाउन परमादेश जारी गरेकी थिइन् । साथै, भावी संवैधानिक नियुक्ति प्रक्रिया स्वतन्त्र, सक्षम र व्यावसायिक बनाउन तथा पारदर्शी तथा प्रतिस्पर्धात्मक बनाउनसमेत परमादेशको आदेश जारी हुने उनको राय छ ।
अर्कोतिर प्रधानन्यायाधीश राउत र न्यायाधीश सुवेदीले भने पहिलोपटक ३० मंसिर ०७७ मा भएका नियुक्ति बदर हुनुपर्ने राय व्यक्त गरेका छन् भने दोस्रोपटकको नियुक्ति सदर नै हुने फैसला गरेका छन् । पहिलोपटक कार्यविधि पालना गरी सभामुखलाई सूचना नदिइएको ठहर दुवै न्यायाधीशको छ भने दोस्रोपटकमा कार्यविधि पूरा गरी बैठकको सूचना सभामुखलाई दिइएकाले त्यस बैठकबाट भएका निर्णय बदर गरिरहनु नपर्ने फैसलामा छ ।
संवैधानिक इजलासको संरचनामाथि प्रश्न, छुट्टै संवैधानिक अदालतको माग
सर्वोच्च अदालतको संवैधानिक इजलासबाट आएको पछिल्लो विवादास्पद फैसलाले इजलासको संरचना र कार्यसम्पादनमाथि पनि गम्भीर बहस सुरु गराएको छ । संवैधानिक रूपमा अत्यन्त महत्वपूर्ण मानिएको इजलासबाट अपेक्षाअनुरूपको स्पष्ट र सशक्त फैसला नआएको भन्दै यसको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ ।
नेपालको संविधानको धारा १३७ अनुसार संवैधानिक इजलासको व्यवस्था गरिएको छ । उक्त इजलासले तीन तहका सरकारबिचको अधिकार क्षेत्रसम्बन्धी विवाद, संघीय वा प्रदेश सभा सदस्यको योग्यतासम्बन्धी प्रश्न र अन्य गम्भीर संवैधानिक व्याख्या आवश्यक हुने मुद्दामा निर्णय गर्ने जिम्मेवारी पाएको छ । तर, प्रमुख रूपमा प्रधानन्यायाधीश र भावी प्रधानन्यायाधीशसमेत रहने व्यवस्थाका कारण इजलासले कार्यपालिकाविरुद्ध निष्पक्षता कायम गर्न नसकेको टिप्पणी आएका आएका छन् ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले पछिल्लो फैसलापछि इजलासको संरचना र यसको निर्णय प्रक्रियामाथि गहिरो छलफल आवश्यक भएको देखिएको बताए । ‘बरु हप्ताको एकै दिन मात्रै बसोस्, तर अमेरिकामा जस्तै सबै न्यायाधीश सम्मिलित संवैधानिक इजलास होस् र संवैधानिक मुद्दामा फैसला र व्याख्या गरोस् । कि त भने संवैधानिक इजलासको मुद्दामा पनि पुनरावलोकन हुनुपर्ने व्यवस्था गर्नुपर्ने देखियो,’ उनले भने ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलासले संविधानको मर्म र रक्षा गर्ने जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाए । ‘संवैधानिक इजलासको एक्सपेरिमेन्ट फेल भयो । अब छुट्टै संवैधानिक अदालत हुनुपर्ने हो कि भन्ने अनुभूति हुन थालेको छ । ऐन र संविधानको व्याख्या फरक हुन्छ,’ उनले भने । उनका अनुसार संवैधानिक व्याख्या र कानुनी व्याख्या फरक हुने भएकाले संविधानको रक्षा र विकासका लागि विशेषीकृत संवैधानिक अदालत आवश्यक छ ।
संवैधानिक इजलासबाट व्याख्या होइन, ‘संविधानकै संशोधन’
अध्यादेशमार्फत सरकारले जे गरे पनि हुन्छ भन्ने छुट
संवैधानिक इजलासको फैसलाले कार्यपालिकालाई स्वेच्छाचारी बन्न प्रोत्साहित गरेको कानुनविद्हरूको निष्कर्ष छ । संविधानको धारा ११४ मा संसद् अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न अत्यावश्यक परेमा अध्यादेश ल्याउन मन्त्रिपरिषद्लाई सुविधा दिइएको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गरी अध्यादेश ल्याएका थिए । तत्काल केही आवश्यक नभई आफ्ना निकटस्थहरूलाई संवैधानिक आयोगहरूमा नियुक्तिको ‘कुत्सित उद्देश्य’ले उनले अध्यादेश ल्याएका थिए । जसलाई संवैधानिक इजलासले अनुमोदन गरेपछि संविधानको उक्त व्यवस्था नै ‘संशोधन’को अर्थ लाग्ने संविधानविद्हरूको टिप्पणी छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली फैसलाले कार्यपालिकालाई अध्यादेशबाट शासन गर्न हौस्याएको बताए । ‘अध्यादेश ल्याएर काम गर, पछि खारेज गरिदेऊ त्यो तिम्रो कार्यपालिकीय बुद्धिमत्ता हो । अध्यादेश संसद्मा पेस गरिरहनुपर्दैन भन्ने आशय फैसलामा व्यक्त भएको छ । यसबाट अध्यादेशको शासन हुने र निरंकुश सरकारको जन्म हुने सम्भावना हुन्छ,’ उनले भने ।
संसद्को अधिकार कटौती, संसदीय सुनुवाइको ‘औचित्य समाप्त’
फैसलाले अब न्यायाधीश तथा राजदूतहरूको संसदीय सुनुवाइको औचित्य समाप्त भएको छ । नियुक्ति मात्र होइन, संसदीय सुनुवाइ पनि आवश्यक नहुने गरी नियुक्तिलाई अनुमोदन गरिदिएको छ । यद्यपि, रिट खारेजको पक्षमा राय लेख्ने न्यायाधीश सपना प्रधान मल्लले भने अहिलेको संसद्बाट भए पनि संसदीय सुनुवाइ गर्नुपर्ने राय राखेकी छिन् । उनको एकल रायको कुनै अर्थ छैन । ‘संवैधानिक इजलासले नै संसदीय सुनुवाइको औचित्य नदेखेपछि अब कुनै प्रधानमन्त्रीले चुनावको घोषणा गरेर संवैधानिक निकायहरूमा नियुक्ति गरे पनि त्यसले वैधता पाउने अवस्था आयो,’ एक वरिष्ठ अधिवक्ताले भने ।
संवैधानिक इजलासबाट व्याख्या होइन, ‘संविधान नै संशोधन’
सरकारले ‘कुत्सित मनसाय’बाट ल्याएको अध्यादेशमार्फत गरिएका संवैधानिक नियुक्तिलाई अनुमोदन गर्नु र संसदीय सुनुवाइको महत्वपूर्ण विषयलाई उपेक्षा गर्नुले यससम्बन्धी संवैधानिक प्रावधानमाथि प्रश्न उठेको छ । संवैधानिक इजलासको फैसलाले संविधानको व्याख्या नभई संविधान नै संशोधन गरेको टिप्पणी कानुनविद्हरूको छ । फैसलाले संविधानको धारा ११४ को ‘संसद् अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न अत्यावश्यक परेमा मन्त्रिपरिषद्ले अध्यादेश ल्याउन सक्ने’ व्यवस्थालाई नै संशोधन गरिदिएको उनीहरूको बुझाइ छ ।
न्यायपालिकाकै अधिकार पनि कटौती, बनाइयो कमजोर
फैसलाले न्यायपालिकाकै अधिकार पनि कटौती गरेको न्यायक्षेत्रमा टिप्पणी छ । कार्यपालिकाको स्वेच्छाचारितामा न्यायपालिकाले लगाम लगाउनुपर्नेमा अनुमोदन गरेपछि भावी दिनमा यही नजिरका आधारमा न्यायपालिका कमजोर हुन सक्ने उनीहरूको चिन्ता छ । कतिपयले त संवैधानिक इजलासकै संरचनामाथि समेत प्रश्न गरेका छन् । सर्वाेच्चका सबैभन्दा सिनियर न्यायाधीशहरू सबैभन्दा क्षमतावान् र निष्ठावान् हुने विश्वासका आधारमा संवैधानिक विवादका मुद्दाहरू संवैधानिक इजलासमा सुनुवाइ गर्ने परिकल्पना गरिएको हो । ‘संवैधानिक इजलासमा उच्च निष्ठावान् र वरिष्ठतम् न्यायाधीश रहने भएकाले एकमतको फैसला जे गर्दा आउँथ्यो त्यही गर्नुपर्थ्यो । यसमा संवैधानिक इजलास चुकेको छ,’ वरिष्ठ अधिवक्ता बाबुराम दाहालले भने ।
सर्वाेच्च अदालतकै फैसला/नजिर पनि गर्यो खण्डित
संवैधानिक इजलासको फैसलाले सर्वाेच्चकै पुराना नजिरहरू खण्डित पनि गरेको छ । यसअघि पनि तत्कालीन केपी ओली सरकारले नै ल्याएका कतिपय अध्यादेशहरूमा रोक लगाउँदै सर्वाेच्चले अध्यादेशको विषयमा व्याख्या गरेको छ । ८ जेठ ०७८ मा ओली सरकारले नै ल्याएको नागरिकतासम्बन्धी अध्यादेशमा रोक लगाउँदै सर्वाेच्चले संवेदनशील विषयमा संसद्मा कानुन बनाएर मात्र कार्यान्वयन गर्नुपर्ने भन्दै रोक लगाएको थियो । २७ जेठ ०७८ मा सर्वाेच्चको संवैधानिक इजलासले यससम्बन्धी फैसला दिएको थियो । तर, चार वर्षपछि संवैधानिक इजलासले नै संवैधानिक आयोगजस्ता संवेदनशील निकायमा अध्यादेशमार्फत गरिएको नियुक्तिलाई अनुमोदन गरेको छ । त्यस्तै, तत्कालीन प्रधानमन्त्री केपी ओलीले ५ पुस ०७७ र ८ जेठ ०७८ मा गरेको संसद् विघटनलाई संवैधानिक इजलासले नै असंवैधानिक भन्दै पुनर्स्थापना गरेको थियो । तर, संसद् विघटन गरेर सरकारले अध्यादेशमार्फत गरेको नियुक्तिलाई भने सदर गरेको छ ।
शक्ति सन्तुलनमा खलबली, लोकतन्त्रको भविष्यका लागि प्रतिकूल
फैसलाले संवैधानिक सर्वाेच्चतामाथि प्रश्न उठ्नुका साथै राज्यको शक्ति सन्तुलनमै खलबली ल्याउन सक्ने पनि धेरैको चिन्ता छ । जुन लोकतन्त्रकै लागि हानिकारक हुन सक्ने देखिन्छ । ‘व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका शक्ति पृथकीकरणका सिद्धान्तमा आधारित छन् । चेक एन्ड ब्यालेन्स गर्नुपर्नेमा अदालतले ब्यालेन्स गर्न सकेन । व्यवस्थापिका र कार्यपालिकाबाट भएका गलत काम सच्याउने न्यायपालिकाले हो । तर, त्यसो भएको देखिँदैन,’ फैसलाले लोकतान्त्रिक मूल्य–मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तमा नै प्रश्न उठाएको भन्दै नेपाल बारकी पूर्वउपाध्यक्ष रक्षा बस्यालले टिप्पणी गरिन् ।