१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
देवराज चालिसे
२o८२ असार २० शुक्रबार o७:४५:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

डा. कोइरालाको प्रश्न : कांग्रेसभित्रको मौन विस्फोट

संविधानका छिद्रहरू खोजेर कार्यकाल लम्ब्याउने प्रयास गरियो भने त्यो कांग्रेसको नैतिक अन्त्यको संकेत हुनेछ

Read Time : > 5 मिनेट
देवराज चालिसे
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार o७:४५:oo

कुनै पनि पुरानो आदर्शवादी पार्टीको खल्तीमा यति धेरै मौन विस्फोट थुप्रिएका हुन्छन् कि जब तिनको आवाज बाहिर आउँछ, त्यो घनघोर मौनताको वज्रपातजस्तै लाग्छ– एकैपटक चेतना झस्काउने, अन्तरात्मा हल्लाउने र संगठनको आत्मा खोज्न विवश बनाउने । कांग्रेस केन्द्रीय समिति बैठकमा डा. शेखर कोइरालाद्वारा उठाइएका प्रश्न पनि यस्तै विस्फोट हुन्– शब्दमा शालीन, तर चेतनामा क्रान्तिकारी ।

कोइरालाका प्रश्नले कांग्रेसको वर्तमान संकट केवल सत्ता–संघर्षको विषय होइन, यो विचारको संकट हो भन्ने देखाएको छ । विचारहीनता र सिद्धान्तहीनता पार्टीभित्र यति गहिरो छ कि त्यो केवल नेतृत्व बदल्नमा मात्र सीमित छैन, यो अब संस्था पुन: निर्माणको प्रश्न बनिसकेको छ ।

फेरि प्रसंग आउँछ संविधानको, किनकि दलहरू यसैद्वारा चल्छन् । यसका गुण र दोष आफ्नै ठाउँमा छन्, तर तिनको छाया दलको आचरणसम्म पुगेको छ । कतिपय विषयले सुधारको मार्ग खोजेको छ र संशोधनको अनिवार्यतामा पुगेको छ । राजनीतिक अस्थिरताको स्रोत निर्वाचन प्रणाली हो भनिएको छ, तर अर्को कारण नेतृत्वको आचरण पनि हो । यो कुरा नेतृत्व सुन्न तयार छैन, यही फ्युजन हो ‘गठबन्धन संस्कृति’ । 

देशको राजनीतिमा ‘गठबन्धन’ भन्ने शब्दले अब सिद्धान्तभन्दा सत्तालाई बुझाउँछ, विचारभन्दा अवसरलाई । ०७९ को निर्वाचनमा कांग्रेस माओवादीसँग काँधमा काँध मिलाएर उभियो, त्यसलाई धेरैले ‘लोकतान्त्रिक गणतन्त्रको रक्षा’ भन्न खोजे । तर, यही पार्टीले केही महिनापछि एमालेसँग सत्ता साझेदारी गर्दा त्यही लोकतान्त्रिक आत्मा कुन कुनामा गुम्सिएर बस्यो, त्यसको उत्तर कसैले खोजेन । संसद्का प्रतिस्पर्धी दुई ठुला दलले सामान्य दैनन्दिन प्रशासन सञ्चालनका लागि गठबन्धन गर्नुपर्ने औचित्य स्वीकार्य मान्न सकिँदैन । त्यसबाहेकका गहन विषयमा सरकार आफैँ अग्रसर छैन । सायद कांग्रेसको नेतृत्वमा सरकार बनेको भए संविधान संशोधनको विषयमा सर्वपक्षीय सहमति बन्न सक्थ्यो होला । सम्भवत: यही बुझाइमा पछिल्लो गठबन्धनप्रति कोइरालाको प्रश्न थियो । यो केवल दलीय नीतिको व्याख्या थिएन, त्यो नेतृत्वको नांगो उत्तरदायित्वमाथिको सीधा आघात थियो– यो प्रश्नको उत्तर न पंक्तिमा बस्ने पदाधिकारीसँग रहेको छ, न मौनतामै रणनीति खोज्ने अन्य नेतृत्वसँग ।

त्यसैले, संशोधनको नाममा गरिएको पछिल्लो गठबन्धन, जहाँ सातबुँदे सहमति लेखिएको थियो, त्यो सहमति कुन गल्लीमा हरायो ? सहमति लेखिएको कागज थन्किएको सन्दुक कुन कुनामा पुरियो ? सबैको बुझाइ यही नै हो र शेखरले यसलाई प्रकट मात्र गरेका हुन् । नेताहरूलाई आफ्नै शब्दको स्मरण छैन भने जनतालाई सम्झन बाध्य बनाउनु अनैतिक हुनेछ ।

आजको कांग्रेस बिपी प्रशिक्षित कांग्रेस रहेन । कम्युनिस्टप्रति बिपीको बुझाइ अहिलेका कांग्रेसीको सत्तारोहणका लागि बाधक ठानिन्छ । आज बिपीको सालिकप्रति अनास्था प्रदर्शन गर्ने कांग्रेस मात्र होइन, स्वयं बिपीको विचारधारालाई चुनौती दिने कांग्रेस नै केन्द्रीय समितिमा विराजमान छन् । कांग्रेसभित्र कांग्रेसको शुद्धता खोज्नुपर्ने विवशतामा स्वयं कांग्रेसीजन छन् । शेखर कोइरालाले उठाएको प्रसंग थियो, बिपी कोइरालाको सालिक अनावरणसम्बन्धी । यो विषय धेरैका लागि ‘सांकेतिक’ जस्तो लागे पनि त्यो कांग्रेस आत्माको जाँचको घडी थियो । बिपीलाई सम्झनेहरू रोकिए, बहिष्कार गराइयो । पार्टीको अमुक नेताप्रति असहमति हुन सक्छ, तर आदर्शमाथि असहमति प्रकट गर्ने साहस कसरी आयो ? पार्टीको मूल विचार र संस्थापक नेताको सम्मानमाथि अनास्था र राजनीतिक आक्रमण हुनु भनेको वैचारिक भ्रष्टाचार नभए के हो ?

कांग्रेसको नेतृत्व संरचना यति जटिल बन्दै गएको छ कि न कसैले समय दिन सक्छ, न जवाफ । एक व्यक्तिले अनेक पद सम्हाल्नु सामान्य भएको छ । पदहरू काम र जिम्मेवारीमा होइन, आसन र भाषणमा व्यस्त छन् । कोही कार्यकर्ता बन्न तयार छैनन्, सबै नेता बन्न आतुर छन् । सामाजिक सञ्जाल लोकप्रियता मापन गर्ने थलो बनेको छ । पार्टीका नाममा अदृश्य कोठाबाट खोलिएका अनधिकृत फेसबुक पेज मन नपरेका नेताको हुर्मत लिने काममा प्रयोग भएका छन् ।

भ्रातृ संस्थालाई स्वतन्त्र, गतिशील र लोकतान्त्रिक बनाउनुको सट्टा शीर्ष नेताले आफूअनुकूल कार्यकर्ता उत्पादन गर्ने मेसिन बनाएका छन् । नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ– यी सबै संगठन अहिले कांग्रेसको गहना होइन, बोझ बन्न थालेका छन् । अनशनरत तरुण दल, प्रदर्शनरत नेविसंघ, अस्तित्वमै संकटमा परेका महिला संघ र दलित संघको जिल्ला विघटन– यी सबैले एकै सन्देश दिन्छन्, ‘हामी केवल नाममा संस्था हौँ ।’ न अधिवेशन, न गतिशीलता, मात्र विधानविपरीत जम्बो कमिटी । यसरी नै संस्था चलेका छन् । शुभेच्छुक संस्थाहरूको हालत पनि त्यस्तै छ ।

गम्भीर प्रश्न अनुशासन समितिको संरचना र प्रयोगको पनि हो । पार्टीभित्र अनुशासन भनेको केवल टाउको काट्ने तरबार होइन, त्यो समान न्यायको तराजु हो । तर, आज त्यो तराजु कुन गुटको वजन हेरेर झुकेको छ– प्रश्न यहीँ छ । एउटै प्रकृतिको विषयमा कसैलाई सचेत गराइन्छ भने कसैलाई निलम्बन । यो अनुशासन हो कि आड र पक्षको व्यवस्थापन ? पार्टीभित्रको अनुशासन जब गुटमा मापन हुन्छ, तब संगठन कमजोर हुन्छ, नेतृत्व अराजक बन्छ र कार्यकर्ता झुन्डझैँ प्रयोग हुन्छन् । पर्सामा गठबन्धनका नाममा लोसपालाई टिकट दिइयो, महोत्तरीमा दिइएको टिकट खोसियो, कास्की, बागलुङ जताततै तोकी–तोकी विरोधीलाई पन्छाउन अन्य पार्टीले माग्दै नमागेको सिट गठबन्धनका नाममा थमाइयो । यी सबै राजनीतिक निर्णयका पछाडि रणनीति थियो कि केवल गुटगत साटासाट ?

किन कांग्रेसले आफ्नै भित्री मूल्य–मान्यताको विघटन गरिरहेको छ ? यो कस्तो विचारवाद हो ? कस्तो राजनीतिक आचरण हो ? के अब कांग्रेस केही व्यक्तिको सत्ताको स्वार्थमा अरू पार्टीको प्रचार संयन्त्र बन्न पुगेको हो ? गम्भीर प्रश्न यहीँ रोकिँदैनन् । १० वर्षको क्रियाशील अवधि नपुगेका व्यक्ति मात्र होइन, क्षेत्रीय अध्यक्ष वा तल्लो निकायमा पराजित भएकासमेत केन्द्रमा उक्लिए । ती प्रश्न केवल व्यक्तिगत पीडा होइनन्, ती त संस्थागत विफलताको नांगो दस्ताबेज हुन् । जब कुनै व्यक्तिले संस्थामा समर्पण गर्छ, त्यहाँको प्रक्रिया, न्याय, उत्तरदायित्वप्रति विश्वास गर्छ, त्यही व्यक्ति जब बारम्बार उपेक्षित हुन्छ, त्यहाँ विद्रोह होइन, आत्मा चिच्याउँछ ।

कांग्रेस आज क्रान्तिकारी चेतनाको खोजीमा होइन, गुटगत सन्तुलनको जालमा बाँधिएको छ । नेतृत्व संयमित देखिन्छ, तर त्यो संयम चुपचाप कुहिने वृक्षजस्तो लाग्छ । न यसमा नयाँ पालुवा पलाउँछन्, न पुराना पात झर्छन्, सिर्जनात्मक सडन भनेको यही हो ।

कोइरालाको त्यो सम्बोधन एउटा अन्तिम चेतावनी पनि हो । त्यो सम्बोधन सभालाई होइन, समयलाई सम्बोधन गरिएको दस्ताबेज हो । त्यहाँ उठाइएका प्रश्नको उत्तर मौनताले होइन, कार्यक्रम, विचार र संस्थाले दिनुपर्छ । यी प्रश्न अनुत्तरित रहेमा ०८२ मंसिर कटेपछि हुने महाधिवेशन केवल मतदानको प्रक्रिया हुनेछ, अनि विचारको शोकसभा पनि । कोइरालाका प्रश्नको मूल्य त्यतिवेला झन् बढ्छ, जब उत्तर दिनुपर्नेहरू मौन बस्छन् र यो आश्चर्यजनक हुनेछैन ।

०८२ मंसिरभित्र सम्पन्न हुनुपर्ने महाधिवेशन किन गर्न खोजिएको छैन ? यसको अन्तर्यमा सभापतिको चिरप्रतीक्षित प्रधानमन्त्रीको कुर्सी र समय लम्ब्याउने मनसाय मात्र कारण हुन सक्दैन । यसमा पदाधिकारीको मौनता पनि सहयोगी बनेका छन् । नयाँ अधिवेशनको परिणामले को पदाधिकारी रहला वा नरहला, तर यो हैसियत प्राप्त हुने कुनै ग्यारेन्टी छैन ।

क्रियाशील सदस्यता नवीकरण अधिवेशनको प्रारम्भिक कार्य हो । यसमा देखिएको ढिलाइलाई प्राविधिक मात्र मान्न सकिँदैन । यसैबिच देशभर भ्रमण र भाषण, सभा र समारोह चलेकै छन् । वक्तृत्वकला चलेकै छ, तर पार्टी चलायमान छैन । कार्यक्रमको ब्यानर फेरिए पनि, वक्ता र श्रोता दोहोरिएका छन् । समस्या पार्टीको आन्तरिक जीवनलाई कसरी व्यवस्थित गर्ने भन्नेमा रहेको हो, तर विषय उठाइन्छ शासकीय स्वरूपको । कुन विषय कहाँ उठ्नुपर्ने हो, कसले उठाउने हो, र कहिले उठ्ने हो, यसको कुनै लेखाजोखा छैन ।

समग्रमा पार्टीभित्र संस्थागत रूपमा समस्याको गहिराइमा पुग्ने न चिन्तन हुन्छ, न प्रयास । केही वर्षअघिको ‘डिजिटाइज्ड कांग्रेस’ बनाउने उद्घोष कहाँ हरायो, अत्तोपत्तो छैन । आमकार्यकर्ताका दृष्टिमा महाधिवेशन केवल नेतृत्व बदल्ने चुनावी प्रक्रिया मात्र होइन, यो आत्मपरीक्षण, नीति संशोधन र सांगठनिक पुन: नवीकरणको अवसर पनि हो । महाधिवेशन पार्टी जीवनको पुनरावलोकन गर्ने समय हो । यदि नेतृत्वले यसलाई ढिलाइ गर्ने हो भने कांग्रेसले समयमै संस्थागत शुद्धीकरणको अवसर गुमाउनेछ र सत्ताभोगी संयन्त्रको बन्दी बन्नेछ । विशेषगरी, अझ संविधानका छिद्र खोजेर कार्यकाल लम्ब्याउने प्रयास भए भने त्यो कांग्रेसको नैतिक अन्त्यको संकेत हुनेछ । त्यसैले, १५औँ महाधिवेशन तोकिएको समयमै सम्पन्न हुनुपर्ने प्रश्न सन्देह होइन– पार्टीको संरचना, सिद्धान्त र ऐतिहासिक मूल्यप्रति चिन्ताको स्वर हो । यसमा भिन्न मत राख्नुपर्ने कारण छैन ।

यो सत्ता र नेतृत्वको जवाफदेहितामाथिको प्रश्न हो । पार्टीको अधिवेशन शेखरका निम्ति मात्र आवश्यक होइन, यथार्थमा कांग्रेसको वर्तमान संकटले अधिवेशनमार्फत पुनर्जागरणको वैचारिक मार्ग खोजेको छ र यसको नेतृत्व गर्ने साहस मात्र डा. कोइरालाले गरेका हुन् ।

कांग्रेसका पछिल्ला बैठकमा अब विचारको सुगन्धभन्दा प्रभाव र पहुँचको गन्ध बढी महसुस हुन थालेको छ । पार्टीको नेतृत्व तहमा व्यापारिक पृष्ठभूमिबाट आएका केही व्यक्ति, जसको राजनीतिक प्रतिबद्धताभन्दा बढी व्यक्तिगत प्रभाव र अवसरवादमा भरोसा छ, तिनीहरू आज पार्टीकै वैचारिक मेरुदण्ड मानिने नेतालाई आलोचनाको निसानामा पारिरहेका छन् । यो प्रवृत्ति केवल राजनीतिक भूल होइन, यो कांग्रेसको ऐतिहासिक संस्कार, आदर्श र मूल्यको खुला अपमान हो ।

डा. कोइराला केवल बिपीका वंशज होइनन्, उनी बिपी विचारधाराका संवाहक पनि हुन् । एक यस्तो नेता, जसले मौनताले ढाकिएको पार्टीको आत्मालाई झक्झक्याउने साहस गरेका छन्, पार्टीको चेतनालाई ब्युँताउने अभिव्यक्ति दिएका छन् । त्यस्ता नेतामाथि पार्टीभित्रै गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिबाट आलोचना, अपमान र धम्की आइरहनु केवल व्यक्तिगत अनैतिकता होइन, यो संस्था र विचार दुवैप्रति गरिएको गम्भीर उपेक्षा हो । यो प्रवृत्तिले के देखाउँछ भने कांग्रेसभित्र आज विचारको होइन, पैसा र पहुँचको वर्चस्व बढेको छ । यस्तो वातावरणमा बिपीका आदर्श मात्र ओझेलमा पर्दैनन्, ती आदर्शको जगेर्ना गर्नेहरू नै हेला र हमलाको सिकार हुन्छन् । के यही हो कांग्रेसको ऐतिहासिक शालीनता र लोकतान्त्रिक संस्कार ?

जब पार्टीका वैचारिक पहरेदारलाई विचारशून्य धनकुबेरहरूले प्रहार गर्छन्, त्यो कांग्रेसको आत्मामाथिको चोट हो । के अब कांग्रेसभित्र नेतृत्वको मूल्य आँट, निष्ठा र वैचारिक स्पष्टताले नापिनेछैन ? के त्यसको ठाउँ अहिले पहुँच, पैसाको बल र चाकरी संस्कृतिले लिने हो ?

यी प्रश्न केवल भावनात्मक प्रतिक्रिया होइनन्, यी चेतावनी हुन् । कांग्रेसको मूल आत्मालाई बाँच्न दिने कि मर्न दिने भन्ने प्रश्न आज पार्टीभित्र उठेको छ । यस्तो अवस्थामा सत्य बोल्नेलाई एक्लो बनाइन्छ भने त्यो पार्टीको पतनको मार्ग हो, पुनर्जागरणको होइन ।

त्यसैले, कांग्रेसभित्र सत्यको रक्षा गर्नु, विचारको संरक्षण गर्नु र वैचारिक नेतालाई सम्मान गर्नु केवल राजनीतिक मर्यादा होइन, संस्थागत अस्तित्वको सर्त हो । कांग्रेस विचारबाट टाढिएको अर्थमा शक्तिमा पुग्छ भने त्यो सफलता होइन, आत्मघात हुनेछ ।

(चालिसे कांग्रेस महासमिति सदस्य हुन्)